• काठमाडौं। जापानमा रोजगारीकालागि कामदार पठाउने भन्दै बिचौलियाले बार्गेनिङ गर्न थालेका छन्। सरकारी स्तरबाटै नेपाली कामदार जापान पठाउने सार्वजनिक भएसँगै बिचौलियाले बार्गेनिङ थालेका हुन्। यसैबेला जापानी भाषा अध्ययन गर्न कन्सलटेन्सी धाउने युवायुवतीको संख्या निकै बढ्न थालेको छ। जापानीज भाषा अध्ययनकै लागि जाँदा पनि बिचौलियाले बार्गेनिङ गरेर आफूहरुलाई दिक्क बनाएको भाषा सिक्न आउने युवाहरुको भनाइ छ।

    जापानले विदेशी कामदार लैजाने देशमा नेपाललाई समेत सूचिकृत गरेपछि जापानीज भाषा पढ्ने युवा युवतीको संख्या ह्वात्तै बढेको छ। जापानी भाषा पढ्न भन्दै बर्दियाकी निकिता गौतम काठमाडौं आइन्।

    उनी काठमाडौंकै एउटा कन्सल्टेन्सीमा अध्ययनरत छिन्। ‘बागबजार तिर हिड्ँदा बाटोमा जापान रोजगारीमा अब सस्तोमा जान पाइन्छ हाम्रोमा भाषा पढ्न आउनुस् भन्दै बाटै भरी दिक्क लगाउने कन्सलटेन्सीले हैरान बनाइसके,’ निकिताले भनिन्। सरकारले कामदारका रुपमा जापान सरकारी स्तरबाट नै लैजाने भएपछि आफूलाई निकै खुसी लागेको उनले बताइन्।

    उनले भनिन्, ‘विभिन्न व्यक्तिले कन्सलटेन्सीको नाम लिएर सुरुमा जापान जान १२ लाख देखि १५ लाखसम्म लाग्ने लागत ६ देखि ७ लाखमै मिलाइ दिन्छु भन्दै आउँछन्।’जापान सरकारले नेपालबाट पनि कामदार लैजाने निर्णय गरेसँगै नेपालमा बिचौलियाको चलखेलबाट कामदार नठगिने गरी सतर्कता अपनाइएको सरकारले बताउँदै आएको छ।

    पोखराका प्रदिप खड्का पनि जापान जान पाउने भएपछि निकै खुसीका साथ जापानीज भाषा अध्ययनका लागि कन्सल्टेन्सी धाउन थालेका छन्।
    उनी भृकुटी मण्डप नजिकैको एउटा जापानीज भाषा प्रशिक्षण संस्थामा अध्ययनरत छन्।

    जापानमा कठिन काम हुने भएपनि कमाइ राम्रो हुने सुनेपछि उनी जापान रोजगारीका लागि जान पहिले देखि नै उत्साहित थिए। प्रदिपले भने, ‘नेपाल सरकारले जापानसँग नेपाली कामदार जापान पठाउने बारे श्रम सम्झौता गर्न लागेको निकै खुसीको कुरा हो।’

    नेपाल सरकारले जापानसँग श्रम सम्झौता गरेर नेपाली कामदार सरल तरिकाबाट पठाउने कुरा आइरहेको बेला बिचौलियाले सोझा युवा युवतीलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने भएका कारण सरकारले यस विषयमा थप चासो दिनुपर्ने उनको भनाइ छ।

    उनले भने, ‘युवाहरु पनि आफैँ सचेत हुनुपर्ने देखिन्छ। नत्र भने जापानी भाषा पढ्न लागेको भनेपछि विभिन्न बहाना लिएर बिचौलिया आउँछन् र युवाहरु ठगिने क्रम बढ्छ।’

    प्रदिप सरकारले जापान रोजगारी खुलाएपछि नयाँ प्रकृयाबाट मात्रै आफू जापान जाने बताउँछन्। सरकारी तवरबाट जापानमा रोजगारीका लागि जान कम पैसा लाग्ने भएकाले आफूजस्ता मध्यम वर्गीय युवाहरुलाई थप सहज हुने प्रदिपले बताए। जापान रोजगारको बारेमा अनावश्यक हल्ला फैलाएर युवाहरुलाई ठग्ने बिचौलियाको चलखेल बढ्न सक्ने भन्दै सचेत हुन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ।

    वैदेशिक रोजार विभागका निर्देशक भोलानाथ गुरागाईँले जापानको रोजगारीका नाममा युवा ठग्ने चलखेल यस्तै हल्लाको समयमा बढी हुने गरेको बताए। निर्देशक गुरागाईँले जापानमा रोजगारी खुलेपछि सरकारबाट आधिकारीक सूचना आउने भएकाले हल्लाको पछि नलाग्न समेत युवालाई अनुरोध गरेका छन्।

    जापानमा ५ वर्षमा ३ लाख ४५ हजार नेपाली कामदार वर्किङ भिसामा पठाउने सरकारको योजना छ। वार्षिक सरदर ४० हजार कामदार नेपालबाट जापान पठाउने गरी जापान सरकारसँग अनुरोध गर्ने नेपाल सरकारले बताउँदै आएको छ।

    जापानमा नेपाली कामदार सामाजिक सुरक्षाको ग्यारेन्टी सहित अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्ड अनुसारनै कामदार पठाउने बारे पहल गरिरहेको जनाएको छ।

    यस मापदण्ड अनुसार कामदार जापान पठाएमा नेपाली कामदार पनि शून्य लागतमा जापान रोजगारीमा जान पाउने छन्। यस अघि पनि पटकपटक जापान सरकारले नेपाली कामदार लैजान नेपाल सरकारसँग प्रस्ताव राख्दै आएको थियो।

    यस विषयमा नेपाली कामदारलाई कठिन काममा मात्रै भन्दा पनि व्यवसाीिक काममा समेत पठाउन पहल गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अडान राख्दै आएको बताएको थियो। जापान सरकार र नेपाल सरकारबाट उच्च प्राविधिक टोली गठन गरी जापान र नेपालबीच श्रम सम्झौताका बुँदाहरु तय गरिने सरकारी भनाइ छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…