• काठमाडौ,२ माघ । सांगठनिक एकताको खाका तयार गर्न बनेको नेकपाको ९ सदस्सीय कार्यदलले एकताको खाका तयार गर्न नसक्दा माघमा पनि सांगठनिक एकताको काम नसकिने निश्चित भएको छ । कार्यदलमा सदस्यहरुबीच पोलिट्ब्युरो गठन,प्रदेश कमिटी हेरफेर लगायतका विषयमा विवाद भएपछि अन्य सांगठनिक एकताका विषयमा प्रवेश नै गर्न सकेको छैन् । पुस २४ गतेदेखि कार्यदलको बैठक समेत बस्न सकेको छैन् ।

    तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते भएको पार्टी एकता घोषणामा नै नेकपाले तीन महिनाभित्र सबै तहको एकता गरिसक्ने बताएको थिए । तर अहिलेसम्म टुंग्याइएको छैन । पछिल्लो पटक पुस मसान्तसम्म एकता गर्ने नेकपाले बताए पनि माघमा पनि मुस्किल देखिएको सांगठनिक कार्यदलका एक सदस्यले बताएका छन् ।

    एकता प्रस्ताव तयार पार्न गठित कार्यदलले अहिलेसम्म मोडालिटी बनाउन सकेको छैन । कार्यदललाई पुस २६ भित्र प्रतिवेदन तयार पार्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले निर्देशन दिएका थिए । तर उसले अझै प्रतिवेदन तयार गर्न बढीमा दुई साता लगाउने स्रोत बताउँछ ।
    यसैबीच पार्टीका दुवै अध्यक्षको विदेश यात्रा पनि छ । अध्यक्ष ओली स्विट्जरल्यान्ड र अर्का अध्यक्ष दाहाल पत्नी सीताको फलोअपका लागि विदेश जाने तयारीमा रहेका कारण लगत्तै पार्टी स्थायी समिति बैठक बस्ने सम्भावना समाप्त भएको छ ।

    यसैबीच, संगठनात्मक कार्यदलले पार्टी प्रदेश कमिटीको आकार बढाउन पार्टी सचिवालयलाई विधान संशोधनको सिफारिस गर्ने तयारी गरेको छ । पार्टीको संगठनात्मक एकीकरण र केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलभित्र प्रदेश कमिटी चयनको मापदण्डमै फेरि विवाद बल्झेपछि मध्यमार्गी प्रस्तावका रूपमा कमिटीको आकार बढाउन सिफारिस गर्ने तयारी कार्यदलले गरेको हो ।

    कार्यदलका एक नेताका अनुसार खासगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले एक व्यक्ति एक कार्यकारी जिम्मेवारीको मापदण्ड प्रदेश कमिटीमा पनि अनिवार्य लागू हुनुपर्ने अडान नछाडेकाले कमिटी संख्या बढाउने तयारीमा कार्यदल पुगेको हो । कार्यदलले संगठनात्मक एकताका लागि निश्चित मापदण्ड तय गरी विगतमा बनेका अन्य ३ कार्यदलले पार्टी नेतृत्वलाई बुझाएको प्रतिवेदनलाई आधार बनाएर एकताको प्रस्ताव बनाउने तयारी गरेको थियो ।

    तर प्रदेश कमिटीमा आफ्नो पक्ष निषेध गरेको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । उसले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी प्रदेश कमिटीको पनि इन्चार्ज बनाएर दोहोरो कार्यकारी जिम्मेवारी दिएकोमा पार्टीमा फरक मत राखिरहेको छ ।

    पुस १३ गतेको स्थायी समिति बैठकले सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल, रघुवीर महासेठ, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र वेदुराम भुषाल रहेको कार्यदल बनाएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…