• महासचिब, नेपाल तरुण दल
    नेपाल तरुण दलले आउँदो माघ ८ गते देखि आन्दोलन गर्नुको कारण के हो ?
    माघ ८ गतेदेखि सातै वटा प्रदेशका राजधानीहरुमा नेपाल तरुण दलले बर्तमान सरकारका अधिनायकवादका विरुद्ध संघर्षका कार्यक्रम तय गरेको छ । नेपाली कांग्रेस प्रतिपक्षीको भूमिकामा शशक्त रुपमा आउन सकेन भनेर गुनासो आइरहेको अवस्था छ । र, सरकारले बारम्बार जनभावना विपरित काम गरिरहेको अवस्थामा तरुण दलले दुवै कुरालाई उठाउन संघर्षको घोषणा गरेको हो ।

    डेढ वर्षसम्म प्रतिपक्षमा रहँदा चूँ नबोल्ने कांग्रेस एकाएक सडक संघर्षमा आउँनुमा कतै सरकारलाई असफल बनाउने योजना त हैन ?
    डेढवर्ष सम्म सरकारका विरुद्धमा नबोलेकै हो । निर्वाचित भएर आएको सरकारलाई केहि समय काम गर्न दिनुपर्छ भनेर आवाज त उठायौंं तर, शशक्त रुपमा उठाएनौं ।
    सरकार नालायक र असफल देखियो । यो सरकार खाली उखान टुक्का भरेर गफ चुटेर मात्र बस्ने, हल्ला मात्र गर्ने भयो । कतिपय सरकारका निर्णयहरुले सरकार अधिनायवाद तर्फ अग्रसर भएको पाइएकोले त्यसलाई खबरदारी गर्न तरुण दलले आन्दोलनको घोषणा गरेको हो ।

    संसदमा सरकार यतिसम्म निरंकूश भएर प्रस्तुत भएको छ की प्रधानमन्त्रीलाई समेत प्रश्न गर्न दिइएको छैन । सांसदहरुको मुखमा सरकारले ताल्चा लगाउने कार्य गर्यो ।

    सरकारलाई दवाव संसदबाट दिने हो नी, संसदमा कांग्रेस सुतेर बसेको छ, सडक आन्दोलन गरेर जनतालाई सास्ती दिने ?
    डेमोक्रेसीमा प्रतिपक्षीले संसदबाटै सरकारलाई खबरदारी गर्नुपर्छ । नेपाली कांग्रेसका सांसदहरुले संसदमा कति आवाज उठाइरहनु भएको छ त्यो घाम जत्तिकै छर्लङग छ । संसदमा सरकार यतिसम्म निरंकूश भएर प्रस्तुत भएको छ की प्रधानमन्त्रीलाई समेत प्रश्न गर्न दिइएको छैन । सांसदहरुको मुखमा सरकारले ताल्चा लगाउने कार्य गर्यो । प्रतिपक्षलाई संसदमा बोल्न नदिँदा सडकबाट त बोल्नु पर्यो नी । तरुण दल सडकबाट जनताका आवाज र भावना बोल्न खोज्दैछ । यसमा जनतालाई दुखः दिएर आन्दोलन गर्ने हैन की देशभरका तरुणलाई चलायमान गराउन र सरकारलाई तरुण दल सडकमा प्रतिपक्षीको भूमिकामा छ है भनेर देखाउन पनि विरोध प्रर्दशन गर्न लागिएको हो ।

    संसदमा कांग्रेसको भूमिका कमजोर हुनुको कारण के हो ?
    तरुण दल नेपाली कांग्रेसको भातृ संगठन भएकोले निर्देशन दिन मिल्दैन । यो विषयमा पार्टीले बोल्नुपर्छ । हुन सक्छ कतिपय सवालमा पार्टीले संसदमा आवाज उठाउन सकेन । तर, भूमिकै नभएको भन्ने हैन । राष्ट्रियताका सवालमा होस् वा जनताका जनजिविकाका सवालमा या भ्रष्टाचार र शुशासनका सवालमा कांग्रेसले संसदमा आवाज उठाएको छ ।

    कांग्रेस भित्रको कलहले पनि संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकिएको हो ?
    महासमिति बैंठक भन्दा अगाडी कांग्रेस पार्टीभित्रको विवादमा अल्झिएको सत्य हो । गुट उपगुट र कलह थिए । त्यसलाई महासमिति बैठकले हटाएको छ । बैठकको समापनसम्म आइपुग्दा पार्टी सभापति र बरिष्ठ नेता रामचन्द्र पौडेल अन्तरविरोधलाई चिरेर एकै ठाउँमा आइपुग्नु भयो । यसले पार्टीमा नयाँ रक्त सञ्चार भएको छ । र, अहिलेको समय कम्युनिष्ट अधिनायक विरुद्ध, सरकारका गलत कृयाकलापका विरुद्ध एक भएर जानुपर्छ भन्ने भएको छ । आज समस्या छैन ।

    संसदमा कांग्रेसको आवाज बन्द गर्ने कूचेष्टा सरकारले गरेपछि तरुण दलले सडक मार्फत यीनै मुद्दाहरुलाई उठाउन खोजेको हो ।

    महासमिति बैठकमा पार्टी भित्रको आन्तरिक द्वन्द्व हल गर्ने भन्ने थियो, तर, सरकारलाई मात्र गाली गरियो नी ?
    पार्टी भित्र देखिएका आन्तरिक द्वन्द्व भन्दा राष्ट्रियता र जनताका पक्षमा सरकारले गरेका निर्णयहरु गलत भएकोले घोषणापत्रमा सरकारलाई गाली गर्नु प्रतिपक्षीको हिसाबले स्वभाविक हो । सरकारका पछिल्ला निर्णयहरु स्वभाविक रुपमा गाली गर्न लायक छन् । तपाई निर्मला पन्त हत्या काण्ड हेर्नुहोस, वाइडबडी काण्ड, महंगी नियन्त्रण गर्ने सवाल, होलीवाइन काण्ड हेर्नुहोस । सरकारले कहिँ कतै राम्रो काम गर्न सकेको छैन ।

    वाइडबडी, निर्मला हत्या काण्डमा तपाईहरुले संसदमा जसरी आवाज उठाउनु पर्दथ्यो त्यो नसक्नु भएकै हो ?
    निर्मला हत्या काण्ड देखि होली वाइन र वाइडबडी काण्डमा कांग्रेसले संसदमा आवाज नउठाएको भए अहिले देशभर यी मुद्दाहरु घनिभूत भएर जान सक्ने थिएनन् । हुन सक्छ कतिपय सवालमा पार्टी कमजोर भयो ।

    संसदमा कांग्रेसको आवाज बन्द गर्ने कूचेष्टा सरकारले गरेपछि तरुण दलले सडक मार्फत यीनै मुद्दाहरुलाई उठाउन खोजेको हो । यसमा नेपालका केहि मेन स्ट्रिमिङका मिडियाले प्रतिपक्षीका आवाजलाई बाहिर नल्याइदिँदा पनि कांग्रेस ओझेलमा परेको हो । सरकारका समाचार प्रथम पृष्ठमा आउँदा अभिनायकवादका विरुद्ध हाम्रा समाचार आइदिएन । मेरो भन्नुको मतलव मिडियाले प्रतिपक्षीले सरकारलाई कसरी खबरदारी गरेको छ भन्ने कुरालाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने हो ।

    सरकारलाई दोष दिइरहँदा विगतमा कांग्रेसले गरेका गलत कामको जिम्मेवारी लिनु पर्दैन ?
    युवाहरु आफैंमा विवेकशील हुन्छन, तरुण दलले कांग्रेसले गलत गर्दा चुप लागेर बसेको छैन । मेरो ब्यक्तिगत कूरा गर्दा म कुनै नेता र ब्यक्ति हेरेर भन्दा पनि उसको विचार, दृष्टिकोण हेरेर समर्थन र आलोचना गर्ने गर्दछु ।

    नेपाली कांग्रेस पनि दुधले नुहाएको, सुनपानी छर्किएको हामीले कहाँ भनेका छौं त ! हिजोको दिन सत्ता सञ्चालनमा कांग्रेसले पनि कमजोरी गर्यो । जनताका भावना माथि खेलवाड गर्यो । कार्यकर्ताको मुल्यांकन गर्न सकेन । युवाहरुलाई भूमिका दिन सकेन । हामीसँग पनि समस्याहरु छन् । आज कम्युनिष्टले गलत गर्यो भनेर कांग्रेसले विरोध गरिरहँदा हिजो उसले पनि गलत गरेको थियो भन्ने आँट तरुण दलले राखेको छ ।

    सरकारका कस्ता कृयाकलापले उ अधिनायकवाद र तानाशाही उन्मुख भयो त ?
    प्रधानमन्त्री केपी ओलीको सोच, उखान टुक्का सहितको अभिब्यक्ति, काम गर्ने तरीकाले सरकार अधिनायकवाद तर्फ उन्मुख भयो भन्ने प्रष्ट छ । राष्ट्रपतिको कदमलाई लिन सक्छौं । कांग्रेसको सरकारले गरेका निर्णयलाई अबैधानिक भन्नुहुन्छ । अनी त्यहि निर्णय उल्ट्याएर ओली सरकारले गरेको निणर्यलाई बैधानिक भन्नुहुन्छ । संस्कृत विश्वविद्यालयको उपकुलपतिलाई एयरपोर्ट बाटै अपहरण शैलीमा बालुवाटार ल्याएर थुनिन्छ । वीर अस्पतालको चिकित्सकलाई थुनिन्छ, त्यो अधिनायकवाद होकी हैन ? जुम्लामा अनसन बसेका डा. गोविन्द केसीका समर्थक माथि अस्पताल भित्रै गोली चलाइनु अधिनायकवाद हैन ? प्रेस माथिको हस्तक्षेप अधिनायकवाद हैन ? निर्मला पन्तको हत्यारा जोगाउन लागि परेको छ, वाइडबडी भ्रष्टाचारीलाई जोगाउनु अभिनायकवाद हैन ? अदालतमा त कम्युनिष्ट सरकारको छायाँ सरकार नै छ । देश ओलीमय, प्रचण्डमय हुनुपर्छ भन्ने सोच अधिनायकवाद हो । यो सरकार लोकतन्त्रको बाटोमा छैन ।

    गाउँमा आमा दिदी बहिनीको शरीरमा लूगा छैन, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिन्छ । दुर्गम जिल्लामा एम्बुलेन्स नपाएर सुत्केरी महिलाको मृत्यू हुँदा सरकार राष्ट्रपतिलाई अर्बौको हेलिकप्टर किन्न अग्रसर हुन्छ । यो खालको प्रवृत्तिले चैं जनतामा गणतन्त्र प्रति रुष्टता देखिएको छ ।

    सरकारलाई अधिनायक बन्नबाट रोक्ने त प्रतिपक्ष हाे नी, तपाइहरू नै सुत्नु भएकाे छ ?
    केपी ओली र कम्युनिष्ट सरकारलाई हिटलर मुसोलिनी र राजा बन्ने रहर मात्र हो, यो धेरै समय टिक्दैन । संसारमा यस्ता निरंकुशताहरु धेरै टिकेका छैनन् । ओली सरकारको केहि दिनको भ्रम मात्र हो । लोकतन्त्रको विकल्प अधिनायकवाद हुन सक्दैन । उहाँहरु चाडै सच्चिएर जानु भएन भने यो सरकार धेरै टिक्दैन । दुई तिहाईको बलमा देश र जनतामा अधिनायकवाद लाद्ने कार्य हुन्छ भने, त्यसको विरुद्ध तरुण दल जस्तोसुकै संघर्ष गर्न तयार छ । नेपाली कांग्रेस सुतेकाे छैन । अब जुर्मुराउँदैछ । तरूण दल देशभर अधिनायकवादका विरूद्ध सडकमा उत्रंदैछ ।

    दलहरुको गलत कृयाकलापले पछिल्ला दिनहरुमा गणतन्त्र भन्दा त राजतन्त्र नै ठिक छ भन्नेहरु सडकमा आइरहेका छन् यसले के सन्देश दिइरहेको छ ?
    जनताको भावना माथि ताल्चा लगाउन सकिँदैन र, जनताभन्दा माथि कोही छैन । हिजो रत्नपार्कमा राजा चाहिँदैन भनेर कराउने हामी नै हौं । गणतन्त्र आएपछि जनताको शासन हुन्छ, गरिब जनताले सुख पाउँछन् भनेर अनुभूत गरेका थियौं । तर, अहिले आएर हामीलाई पनि एउटा राजा हटाउने नाममा १०/१२ जना नयाँ राजाहरुको जन्म भएको होकी भन्ने लागेको छ ।
    गाउँमा आमा दिदी बहिनीको शरीरमा लूगा छैन, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिन्छ । दुर्गम जिल्लामा एम्बुलेन्स नपाएर सुत्केरी महिलाको मृत्यू हुँदा सरकार राष्ट्रपतिलाई अर्बौको हेलिकप्टर किन्न अग्रसर हुन्छ । यो खालको प्रवृत्तिले चैं जनतामा गणतन्त्र प्रति रुष्टता देखिएको छ ।

    ज्ञानेन्द्रलाई हटाएर जनतालाई अधिकार सम्पन्न बनाउने भनेको तर, त्यसो हुन सकेन । नयाँ राजाहरु आइदिए । अहिले सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लाग्नु कतै ठिक पो होकी भन्ने अनुभूति भएको छ ।

    कतिपय नेताहरुले हिन्दु राष्ट्रका पक्षमा अभिब्यक्ति दिइरहेको अवस्थामा राजतन्त्र आउन सक्छ भन्ने संकेत छ ?
    राजतन्त्र र हिन्दु धर्म भनेका फरक कुरा हुन् । कसैले हिन्दु राष्ट्र भन्दैमा त्यहाँ राजतन्त्र आउछ भन्न सकिन्न । धर्म आस्था हो । भने, राजतन्त्र प्रणाली हो । राजा जहाँ हुन्छ त्यहाँ हिन्दु राष्ट्र हुन्छ भन्ने छैन ।

    राजतन्त्र फर्कन्छ फर्किन्न भन्ने कुरा भन्दा पनि राजा ज्ञानेन्द्रलाई हटाउनु भनेको अरुलाई राजा मान्नु पर्छ भन्ने हैन । यो सोचबाट हामी मुक्त हुनुपर्छ । धर्मको विषयमा नेपाली कांग्रेसले सबै धर्मलाई समान रुपमा हेर्दा धर्मनिरपेक्षताका नाममा अहिले पैसा बाँडेर होली वाइन खुवाउने, धर्मपरिवर्तन गर्ने कुराको तरुण दल घोर विरोध गर्दछ ।मकालुखबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…