• नेपालगञ्ज, ७ माघ । मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गर्नुभएका गंगा कार्की अहिले राजनीतिबाट हराउनु भए पनि गाईपालनमा हाइहाइ हुनुहुन्छ । राजनीतिलाई ‘बाइबाइ’ गरी थालिएको गाईपालनले उहाँलाई मनग्ये आम्दानी भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    ‘‘जनताको भलो र देश विकासभन्दा आफ्नो विकासका लागि नेताहरू केन्द्रित भएपछि राजनीति छाडेँ र गाईपालन थालेँ,’’ कार्कीको भनाइ छ । बाँकेको कोहलपुर–३ मैटहवामा कृतिका गाई फर्म स्थापना गरेर सात वर्षदेखि गाईपालन गरिरहनुभएका कार्कीको गोठमा अहिले ५६ वटा गाई छन् । दैनिक डेढ सय लिटर दूध बिक्री गरेर मासिक डेढ लाख रुपियाँभन्दा बढी आय भइरहेको उहाँले बताउनुभयो ।

    दोलखाबाट सात वर्षअघि बाँकेमा आएर उहाँले गाईपालन शुरु गर्नुभएको हो । त्यसबेलाको सम्झना गर्दै उहाँ भन्नुहुन्छ, ‘‘श्रीमतीको गहना राष्ट्रिय वाणिज्य बैंकमा धितो राखी ५२ हजार रुपियाँ ऋण लिएर दुइटा गाई पाल्न थालको हुँ । एक करोड रुपियाँभन्दा बढीको लगानी भइसकेको छ । अहिले फर्ममा ५६ वटा गाई छन् ।’’

    अहिले ‘अफ सिजन’ रहेकाले दैनिक १५० लिटर मात्रै दूध उत्पादन भइरहेको छ । सिजनमा त दिनकै तीन सय लिटर दूध उत्पादन हुने उहाँ बताउनहुन्छ । उहाँको लक्ष्य भने दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने रहेको छ । त्यसका लागि गाईको सङ्ख्या दुई सय पु¥याउनु पर्छ । लक्ष्य अनुसार काम भए उहाँको आय मासिक तीन लाख रुपियाँ पुग्ने छ । उहाँ आफ्नो गाई फर्म पश्चिम नेपालकै सबैभन्दा ठूलो भएको दाबी गर्नुहुन्छ ।

    दोलखा तामाकोशी निवासी कार्की २०४५ सालमा नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष निर्वाचित हुनुभयो भने २०४८ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । काँग्रेस जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य र राष्ट्रिय युवा परिषद्को सदस्य समेत भइसक्नु भएका कार्की राजनीतिमा चाकरी, चाप्लुसी गर्नेहरू मात्रै अगाडि जान थालेपछि आफू पछाडि हटेको बताउनु हुन्छ ।

    कोहलपुर–३, मैटहवामा जग्गा भाडामा लिएर गाईपालन शुरु गर्नुभएका कार्कीले आफ्नो गाई फर्मलाई स्रोत केन्द्रका रुपमा स्थापित गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । सरकारी सहयोग हुने हो भने छाडा रहेका गाईलाई ल्याएर ‘ब्रिड’ गरी कृत्रिम गर्भाधानमार्फत् गुणस्तर विकास गर्न सकिने योजना पनि उहाँले सुनाउनुभयो ।

    कोहलपुर नगरपालिकाले दूध दुहुने मेसिन र हाते ट्याक्टर सहयोग गरेको जनाउँदै उहाँले सरकारबाट अन्य कुनै सहयोग नभएको गुनासो गर्नुभयो । दूध विक्रीका लागि बजारको कुनै पनि समस्या नरहेको प्रष्ट्याउँदै कार्कीले कोहलपुरस्थित शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अधिकांश दूध खरिद गर्ने गरेको बताउनुभयो । कार्कीले दूध विक्रीका लागि कोहलपुर बजारमा ‘साई डेरी’ पनि सञ्चालन गर्नुभएको छ ।

    दूधको सही मूल्य नपाउनु, दानाको मूल्य वृद्धि हुँदै जानु, दुग्ध विकास आयोजनाले निकै सस्तोमा दूध खरिद गर्नु, सरकारी अनुदानको दुरुपयोग हुनु र जग्गाको व्यवस्थापन नहुनु गाईपालनका लागि समस्या भएको उहाँले बताउनु भयो ।

    कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर गर्नुभएका कार्कीले गाईपालन व्यवसायबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुभयो । देशको आर्थिक विकासका लागि थोरै भएपनि केही सहयोग गर्न पाएकोमा खुशी रहेको बताउनु हुन्छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…