• काठमाडौं । विवादित व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेको बैंकको खाता रोक्का गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) अन्य बैंकमा स्थानान्तरण गरेका थिए।

    अर्थमन्त्री युवराज खतिवडाले रकम स्थानान्तरण गरिएको बैंक खाता रोक्का गर्न केही दिनअघि राष्ट्र बैंकलाई निर्देशन दिएका हुन्। अर्थमन्त्री खतिवडाले विश्व आर्थिक मञ्चको बैठकमा जानुअघि यस्तो निर्देशन दिएको बताएका थिए। राष्ट्रबैंकका एक उच्च अधिकारीले अर्थमन्त्री खतिवडाको मौखिक निर्देशन आएको जानकारी दिए। ‘सुमार्गीले रकम सारेको बैंकको खाता रोक्न अर्थमन्त्रीले मौखिक निर्देशन दिनुभएको हो,’ उनले भने, ‘लिखित रुपमा भने आइसकेको छैन तैपनि हामीले अदालतको आदेश र अर्थमन्त्रीको निर्देशनअनुसार काम अगाडि बढाएको छौं।’ ती अधिकारीले रकम स्थानान्तरण गरिएको बैंकको नाम भने खुलाउन चाहेनन्।

    अर्थमन्त्री युवराज खतिवडाबाट रकम स्थानान्तरण गरिएको बैंक खाता रोक्का गर्न मौखिक निर्देशन। लिखित कुर्दै राष्ट्रबैंक। सर्वोच्च अदालतको आदेशबमोजिम सुमार्गीले बैंक खातामा रकम यथास्थितिमा राख्नुपर्ने राष्ट्रबैंक विदेशी विनिमय विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए। ‘अदालतको आदेशबमोजिम बैंक खातामा रकम राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘अरु बैंक खातामा भएको रकमबाट भए पनि असुल उपर गर्नुपर्छ।’

    सर्वोच्चले सुमार्गी स्वामित्वको मुक्तिश्री सिमेन्ट उद्योगको नामको बैंकखाताबाट झिकेको रकम फिर्ता गर्न दुई साताअघि आदेश दिएको थियो। खातामा जम्मा भएको रकम शंकास्पद देखिएको सर्वोच्चले जनाएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको रकम फिर्ता लिन राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो।

    यसअघि न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थियो। सो आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्टका नाममा नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा रहेको ७५ लाख अमेरिकी डलर झिकिसकेका छन्। सर्वोच्चले रकम फेरि बैंकमै राख्न लगाउन आदेश दिएपछि राष्ट्रबैंकले पनि इन्भेस्टमेन्ट बैंकलाई साबिककै स्थितिमा रकम राख्न आदेश दिएको छ।

    सुमार्गीले बैंकबाट पछिल्लोपटक ८३ करोड २५ लाख र यसअघि दुई अर्ब २५ करोड रुपैयाँ झिकिसकेका छन्। यसअघि सुमार्गीले नबिल र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको झन्डै दुई करोड १३ लाख अमेरिकी डलर (दुई अर्ब २५ करोड रुपैयाँ) अदालतको आदेशपछि भुक्तानी पाएका थिए। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए।

    सुमार्गीले २०७० मा करिब ११ अर्ब रुपैयाँ नेपाल भिœयाएका थिए। सुमार्गीले ‘ट्याक्स हेभन’ मानिएका ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम ल्याएका हुन्। उनले सो रकम अनुमति नलिई सीधै नेपालका बैंकमा जम्मा गराएका थिए। करछलीमार्फत गैरकानुनी रूपमा आर्जन गरेको रकम ‘ट्याक्स हेभन’ बाट लगानीका नाममा भिœयाउन खोजेको शंकामा राष्ट्रबैंकले रोक्का गरेको थियो। नागरिकबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…