• माघ १०, काठमाडौं । सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हवल्दार शिरबहादुर थापालाई वर्ष जवान छनोट गरेको छ । सामुद्रिक सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको गोक्यो हिमतालमा १८ साउनमा डुबेका तीन विद्यार्थीमध्ये एक जनाको शव निकालेर साहसिक कार्य गरेका सहायक हवल्दार थापालाई वर्ष डीआईजी नारायणदत्त पौडेल संयोजकत्वको छानबिन समितिले बुधबार जवान ९२०७५० छनोट गरेको हो ।

    ४८ मिटर गहिराई र अत्यन्तै चिसो पानी रहेको सो हिमतालको २५ फिट गहिराईमा पुगेर उनले तीनमध्ये एक विद्यार्थी पेम्बानोर्बुको शव निकालेका थिए ।

    सशस्त्रको गोताखोर टोली उच्च हिमाली क्षेत्र र हिमतालमा परिचालन भएको त्यो नै पहिलो थियो । जहाँ उसले थोरै भएपनि सफलता पायो । यो घटनाले सशस्त्रको गोताखोर टोली जस्तोसुकै ठाउँमा पनि परिचालन भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम छ भन्ने देखाउँछ । र, यसको श्रेय तिनै शिरबहादुर थापा र ओमबहादुर सलामीलाई जान्छ ।

    १५ माघमा मनाउन लागिएको वार्षिकोत्सवमा थापालाई वर्ष जवान घोषणा गरिनेछ । सशस्त्र प्रहरी बलले वर्षभरी उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबल्दारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बिल्लादार जवानमा ऊर्जा प्रदान गर्न २०६९ सालदेखि वर्ष जवान घोषणा गर्न थालेकोमा सशस्त्रले यसलाई निरन्तरता दिँदै आएको छ ।

    वर्ष जवान घोषणा भएकालाई सशस्त्र प्रहरी बलले एफपीयू मिसनमा उच्च प्राथमिकता दिँदै आएको छ । यसैगरी, वर्ष जवान घोषणा भएका कर्मचारीका एक सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिको छ । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षकबाट छातीमा लगाउन वर्ष जवानको ट्यागसमेत प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा भएकालाई संगठनभित्रै पनि उच्च मूल्यांकनका साथ हेर्ने गरिन्छ ।

    यसपटक वर्ष जवान बन्न सफल थापा बाग्लु रायडाँडा ९ का स्थायी वासिन्दा हुन् । उनी अहिले विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत छन् । उद्धारका क्रममा उनले खेल्ने गरेको साहसिक भूमिका, उनको निडरपन, कार्यकौशलताका कारण उनी पहिलो रोजाइमा पर्ने गरेका छन् ।

    बंगलादेशबाट तीन महिना लामो गोताखोर तालिम लिएका थापालाई सशस्त्र प्रहरीभित्र साहसिक उद्धारकका रूपमा चिनिने गरिएको छ । तालिमका क्रममा पानीको सतहबाट १८० फिटमुनिसम्म गएको उनको अनुभव छ ।

    कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्र एउटा यस्तो तालिम केन्द्र हो, जसलाई मुलुकका जुनसुकै भागमा कुनै अप्रिय घटना भए उद्धारका लागि तत्कालै सम्झने गरिन्छ, अझै विशेष गरी पानीमा डुबेका व्यक्तिजन्य घटनामा । सो तालिम केन्द्रमा यस्ता तालिमप्राप्त गोताखोर छन् कि उनीहरूको प्रशंसा जति गरे पनि कमै हुन्छ । तिनै गोताखोरका कारण सो तालिम केन्द्र मात्र नभई सिंगो सशस्त्र प्रहरी बल जहिले पनि चर्चाको केन्द्रमा हुने गर्छ । तिनै गोताखोरका कारण विगतमा उद्धारका लागि बंगलादेशबाट गोताखोर ल्याइने काम पनि पनि अन्त्य भएको छ । आफ्नो ज्यानको बाजी मारेर उद्धारमा उनीहरू जहिल्यै पनि सक्रिय हुन्छन् । अपवादबाहेक उनीहरूले सफलता हात नपारेका घटना कमै छन् ।

    १२ वैशाख २०७२ को महाभूकम्प, पाँच वर्षअघि सुनकोसी नदीमा गएको पहिरो, सेती नदीको प्रलय, इन्द्रसरोवर ताल, राप्ती खोला, जाजरकोट बस दुर्घटना, पोखराको फेवातालमा डुंगा सयर गर्ने क्रममा र त्रिशूली, नारायणी र सुनकोसी नदीमा विभिन्न समयमा भएका दुर्घटनामा डुबेका व्यक्तिको उद्धारलगायतमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रले खेलेको भूमिका स्मरणीय छ ।
    सशस्त्र प्रहरी सहायक हबल्दार थापाले अहिलेसम्म विपद्का विभिन्न २० भन्दा बढी घटनामा सक्रिय सहभागिता जनाइसकेका छन् । उनले विपद्का घटनासँग सम्बन्धित उद्धारका क्रममा अहिलेसम्म १५ भन्दा बढी शव पानीमुनिबाट निकालिसकेका छन् । घाइते अवस्थामा सयौंको उद्धार गरेका छन् । यति मात्रै होइन, उनले पानीमा डुबेका व्यक्तिलाई जीवितै निकाली नयाँ जीवनसमेत दिएका छन् ।

    उद्धारका सिलसिलामा थापा धादिङ र चितवनका अलावा सिन्धुपाल्चोक, तनहुँ, कास्की, नवलपरासी, जाजरकोट, दाङलगायतका जिल्लामा पुगेका छन् । हालै मात्र ११ मंसिरमा उनले दाङको गुलरिया भन्ने स्थानमा कृतिम तालमा पौडी खेल्ने क्रममा डुबेका १८ वर्षीय लक्ष्मण डाँगीको शव निकालेका थिए । समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…