• देबु बानियाँ
    बाहुनडाँगी, १० माघ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि वर्ष २०१९ मा विशेष योजनाका साथ कार्यक्रमहरु ल्याउने बताउनु भएको छ ।
    बीरता लेडी जेसीजको १४ औँ पदहस्तान्तरण तथा पुरस्कार विरतरण समारोहलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष पौडेलले अहिले जुन अवस्थामा जेसीज युवाहरुको व्यक्तित्व र नेतृत्वको विकास भएको छ त्यसलाई अझ प्रभावकारी रुपमा सक्षम युवा निर्माण गर्न विशेष योजना ल्याउने बताउनु भएको हो । उहाँले जेसीज अभियानमा विभिन्न योजनाहरु ल्याएर नेपाल जेसीजमा त्यसको प्रपोजल पठाएमा भावनात्मक मात्र होइन आर्थिक रुपमा शाखालाई सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको अध्यक्ष पौडेलले वीरता लेडी जेसीजलाई सामाजिक र पर्यटकीय क्षेत्रमा काम गरेर नेपाल जेसीजलाई थप उचाइमा लैजान आग्रह गर्नु भयो । उहाँले लामो समयदेखि वीरता लेडी जेसीजसँग सहकार्य गर्दै आएको बताउँदै अब अझ परिवारको सदस्य भएर सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।
    कार्यक्रमकी विशेष अतिथि नेपाल जेसीजकी निरुपित उपाध्यक्ष सिनेटर इनु थापाले समाज निर्माण र जेसीज अभियानमा महिलाहरुको अतुलन्य योगदान रहेको बताउँदै वीरता लेडी जेसीजले सामाजिक रुपान्तरणमा खेलेको भूमिकाप्रति आभा व्यक्त गर्नु भयो ।
    यसैगरी विर्तामोड नगर पालिकाकी उपमेयर पबित्रा महतरा पसाईले विर्तामोडका हरेक सामाजिक र नेतृत्व निर्माणका अभियानमा वीरता लेडी जेसीजसँग सहकार्य गर्दै हरेक अभियानमा साथ र सहयोग गर्दै अघि बढ्ने बताउनु भयो । शाखाकी पूर्व सदस्य समेत रहनु भएकी उप प्रमुख महराले सामाजिक अभियान र विर्तामोड नगरको समग्र विकासमा लेडी जेसीजले सधैँ अग्रसर भएर लागेको बताउनु भयो । उहाँले आगमी दिनमा समेत अभियानमा लाग्न आग्रह गर्दै हरेक समय नगरपालिकालाई सम्झिन आग्रह गर्नु भयो ।
    शाखाकी संस्थापक अध्यक्ष शारादा रिजालले वीरता लेडी जेसीजले १५ वर्षको अन्तरालमा थुप्रै काम र अभियानहरु सफल पारेको बताउँदै समाजका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको बताउनु भयो ।

    सोही समारोहमा वीरता लेडी जेसिजले प्रत्येक वर्ष प्रदान गर्दै आएको सकृय महिला पकारिता पुरस्कार प्रतिदिनकर्मी मनिषा चम्लागाईँलाई प्रदान गरेको छ । चम्लागाईँलाई नगद, सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट उद्यमी शिवसताक्षी नगरपालिकाकी मौरी व्यवसायी देवीकुमारी ओली दाहाललाई पुरस्कृत भएकी छन् । उक्त पुरस्कार वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले आफ्ना जन्मदाता र कर्मदाता पिताका नाममा स्थापना गरेको यज्ञ–तीर्थ पुरस्कार रहेको छ ।
    कार्यक्रममा वीरता लेडी जेसीजकी सन् २०१८ की अध्यक्ष नम्रता रिजाल ढकालको गलाको जेसीज चेन सन् २०१९ कि अध्यक्ष सरु भूर्तेल खनालका गलामा पहिर्याएर पदहस्तान्तरण गरिएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार सिवाकोटी, उपप्रमुख पवित्रा प्रसाईं, जेसीज क्षेत्र ‘क’ की राष्ट्रिय उपाध्यक्ष इनु थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शाखा सम्पादक गोमा भट्टराई उत्कृष्ट कार्यसमिति सदस्य हिमा पौडेल, मानार्थ सदस्यमा सुशिला विमली, उत्कृष्ट जेसीज स्वस्तिा आचार्यलाई सम्मान गरिएको छ ।
    यसैबीच सन् २०१९ की अध्यक्षले कार्यसमितिमा मनोनयन गर्न पाउने नियमानुसार सन् २०१९ का लागि महासचिवमा शुष्मा भण्डारी, कानूनी सल्लाहकारमा गोमा भट्टराई, कोषाध्यक्षमा कामना उप्रेती, तालिम संयोजकमा स्वस्तिका आचार्य र शाखा सम्पादकमा हिमा पौडेललाई मनोनयन गर्दै १५ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएकी छन् । कार्यक्रम संयोजक हिमा पौडेलले आस्था वाचन गरेको कार्यक्रममा दमयन्ता दाहालले शब्द र विर्तामोडेल स्कूलका बालबालिकाले नृत्यद्वारा स्वागत गरेका थिए ।
    कार्यक्रममा महिला संचारकर्मीहरुको छाता संगठन नारी संचार गृहले बहुउद्देश्यीय राखेर स्थापना गरेको अक्षयकोषका लागि वीरता लेडी जेसीजले सहयोग गरेको छ । जेसीजले अक्षयकोष बृद्धिका लागि १० हजार एकसय रुपैयाँ प्रदान गरेको हो ।
    कार्यक्रमको सञ्चालन स्वस्तीका आचार्यले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…