काठमाडौं, ११ माघ । सर्वसाधारणले बुभ्दा नेपालमा अहिले अत्यधिक बहुमतसहितको वामपन्थी सरकार छ । पाँच वर्षका लागि जनादेश पाएर बनेको स्थिर सरकार नेपाली ईतिहासकै शक्तिशाली पनि हो ।
यस अर्थमा नेपालमा कुनै पनि राजनीतिक चलखेल वा दाउपेच अझै चार वर्ष हुन सक्दैन भन्ने बुझाई पनि जनसाधारणको रहेको हुन सक्छ । तर, ठीक त्यसको विपरीत नेपाली राजनीतिमा अर्थपूर्ण चलखेल भईरहेको बुझिएको छ ।
खड्गप्रसाद ओलीको सरकारबाट जनता आशावादी छैनन् भन्ने कुरा अब कसैलाई सुनाईरहनु पर्ने विषय होइन । उनको सरकारबाट अब खाशै केही होला भन्ने आशामा पनि जनता छैनन् ।
यसो भन्दैमा उनको सरकार विस्थापित गरेर कुनै अर्को प्रसाद वा बहादुरको सरकार गठन गर्दैमा कुनै जादुमय काम हुने पनि होइन ।
त्यसैले विगत डेढ दशकमा जे जति षड्यन्त्र यो मुलुक विरुद्ध भएका छन् त्यसलाई नसच्याएसम्म मुलुक अघि जाने त परैको कुरा मुलुकको अस्तिर समेत खतरामा पर्ने महसुश गर्दै मानिसहरु संगठित रुपमा जुट्दै गरेको थाहा भएको छ ।
२०७२ सालको संविधानमा व्यापक परिवर्तन नगरेसम्म देशको अस्तित्व जोगिन मुश्किल हुने महसुश गर्ने जनतासँग लाखौंको संख्यामा छन् । बुद्धिजिवी वा नेतृत्वदायी व्यक्तिहरुले यही संविधानबाटै मुलुक अघि जाला कि भन्ने जोखना हेरिरहेका कारण देश झन् झन् वर्वादको दिशामा गएको हो ।
तर, बुद्धिजिवी तथा नेतृत्वादी व्यक्तिहरु नै यो संविधान नै समस्याको कारक हो भन्ने निष्कर्षमा पुगेकाले विशेष खालको चलखेल नेपाली राजनीतिमा भइरहेको हो । नेपाली कांग्रेसका केही नेताहरुले पटक पटक पूर्व राजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेको विषयले भित्रभित्रै भुईचालो ल्याएको छ ।
केबी गुरुङ, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह लगायतका नेताहरुले किन ज्ञानेन्द्रसँग भेट गरिरहेका छन् भन्ने विषय अर्थपूर्ण मानिएको छ । कतिसम्म भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ती व्यक्तिहरुलाई कन्भिन्स गर्न खोज्दा उनीहरुले पौडेललाई उल्टै पढाउने गरेको स्रोतले जनाइएको छ ।
पश्चिम शक्तिहरु र त्यसमाथि कोरियन क्रिश्चियन मिसनहरुबाट संचालित कम्युनिष्टहरुले देश कब्जा गर्ने खतरा बढेकाले उनीहरुबाट मुक्ति पाउनका लागि राजासहितको हिन्दू राष्ट्र मात्रै विकल्प हुने भन्ने कांग्रेसीहरुको संख्या बढ्न थालेपछि कांग्रेसभित्रै हलचल हुन थालेको बताइन्छ ।
अर्कोतर्फ केही स्वतन्त्र व्यक्तिहरुले समेत हिन्दू अधिराज्यका लागि लबिङ थालेका छन् । जसमा विभिन्न राजनीतिक पार्टीहरुमा राम्रै हैसियत बनाएका व्यक्तिहरु समेत संलग्न रहेको बताइन्छ ।
पूर्व प्रशासक, सेना, पुलिस अकिकृतहरु समेत यो पाराले देश अघि बढ्न सक्दैन भन्दै वैकल्पिक राजनीतिको पक्षमा देखिने गरेका छन् । नेपालमा माओवादीलाई प्रशय दिने र बोक्ने गरेको प्रभावशाली व्यक्तिहरु समेत पूरै यु टर्न भएर हिन्दू अधिराज्यको पक्षमा उभिन तयार भएको पाइएको छ ।
उता गत महिना भारतीय सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह थाप्न भारत गएका प्रधान सेनापति पूर्णचन्द्र थापासहितको सैनिक नेतृत्व समक्ष भारतीय पक्षले नेपाल यसैगरी अघि जान्छ ? भन्ने प्रश्न गरेको बुझिएको छ ।
उनीहरुको आसय पनि कम्युनिष्ट र क्रिश्चियनहरुको ईच्छा पूरा गर्ने राजनीतिक प्रणालीमै नेपाल रहिरहने हो कि कुनै करेक्सन गर्नुपर्छ भन्ने थियो भन्ने चर्चा हुने गरेको छ ।
सैनिक नेतृत्वलाई नै भारतीय संस्थापनका प्रभावशाली व्यक्तिहरुले राजनीतिक प्रणाली सम्बन्धमा जिज्ञासा राख्नुले भारतको आगामी चुनावपछि वर्तमान सत्ताले नै निरन्तरता पायो भने उसको रवैया कस्तो होला भन्ने उत्सुकता यता नेपालमा बढेको छ ।
भित्रभित्रै पाकिरहेका यस्ता राजनीतिक खेलको गन्ध थाहा पाएपछि सत्ताधारी दलहरुमा भने बेचैनी शुरु भएको बुझ्न गाह्रो छैन ।
नेकपाका अध्यक्ष एवं प्रधानमनत्री खड्गप्रसाद ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको बारम्बार प्रसंग बाहिर गएर हिन्दूवादीहरुबाट खतरा रहेको बताउनु र पूर्वराजा ज्ञानेन्द्रमाथि प्रहार गर्नुको कारण पनि यास्तै चलखेलबाट उत्पन्न बेचैनी हो भन्ने बुझ्नु पर्दछ, नेपालीपत्रमा उल्लेख छ ।
ढिलो चाँडो हिन्दूवादीहरु उठ्ने निश्चित छ भन्ने पनि सत्ताधारीहरुलाई थाहा छ । हिन्दूवादीहरुमा अधिकांश राजासहितको प्रजातन्त्र भन्नेहरु छन् । त्यसमाथि सेना र छिमेकी समेत त्यही लाइनमा उभिने हो भने खाने दिन धेरै नहुनसक्छ भन्ने त्रास सत्ताधारीहरुलाई रहेकोमा शंका छैन ।