जनकपुरधाम : जन्ती बोकेको बसमा करेन्ट लागेर मृत्यु हुनेको संख्या सात पुगेको छ।
सबैला नगरपालिका ४ बल्टियाकोठियामा जन्ती बोकेको बसले ११ हजार भोल्ट विद्युत् प्रवाह हुने तार छुँदा दुर्घटना भएको हो। सिरहाको कमलाखोरबाट धनुषाको बल्टियाकोठिया जाने क्रममा ना ५ ख १७५२ नम्बरको बस दुर्घटनामा परेको हो।
करेन्ट लागेर ६ जनाको घटनास्थलमा नै र एकजनाको उपचारका लागि अस्पतालमा लैजाने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए। मृतकमा तीन महिला, एक बालक र एक बालिकासमेत रहेका छन्। इलाका प्रहरी कार्यालय सबैलाले दिएको जानकारी अनुसार बसमा दर्जनौँ यात्रु रहेको र उनीहरू सबै घाइते भएको जानकारी दिएको छ।