• शुक्रबार संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गर्यो । प्रतिपक्षी दल कांग्रेसको विरोधकाबीच सरकारले विधेयक पारित गरेको हो । विधेयकमा आफूसँग भएको सम्झौता पालना नभएको भन्दै डा. गोविन्द केसी अनसन बसिरहेका छन् । अब के हुन्छ त ? यसै विषयमा केन्द्रित रहेर ऋषि धमलाले सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा

    संसदबाट तपाईहरुले बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुभयो । कांग्रेसले विरोध गरिरहेको छ । अब मुडभेडतर्फ जान लाग्नुभएको हो ?
    संसद नियम र विधानका आधारमा चल्छ । यो संसारभरको सर्वमान्य नियम हो । प्रतिपक्ष र सत्तापक्ष दुवैले जोरजबरजस्ती गरेर चल्दैन । प्रतिपक्षले बहुमतलाई बलपूर्वक रोक्न खोज्नु राम्रो होइन ।

    जबरजस्ती विधेयक पारित गराउनुपर्ने आवश्यक थियो र ?
    व्यापक रुपले सहमति गरिएको हो । डा. गोविन्द केसीसँगको सहमतिलाई ९८ प्रतिशत समावेश गरिएको छ ।

    डा. केसीसँग भएको सहमति किन पालना भएन ?
    सहमति भनेको सम्झौता हो । दुई पक्षबीच भएको सम्झौतामा कतिपय कुरा तलमाथि गरेर पनि सहमतिमा पुग्न सकिन्छ । केसीसँग भएको सम्झौता शतप्रतिसत पालाना हुनुपर्छ भन्ने हुँदैन । सरकार भनेका पनि शतप्रतिशत नहुन सक्छ । दुवै पक्षले सम्झौताका आधारमा तलमाथि भएमा सहनुपर्छ ।

    डा. केसीले त प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्दै आन्दोलनको चेतावनी दिनुभएको छ । अब के हुन्छ ?
    कसलाई के गर्नुपर्छ त्यो गर्न पाइन्छ । सबै स्वतन्त्र छन् । कतिहदसम्म आन्दोलन गर्न मन लाग्छ सबै मान्छे स्वतन्त्र छन् । तर त्यसबाट के परिणाम निस्कन्छ भन्ने कुराको पनि ख्याल गर्नुपर्छ ।

    तपाईहरु जबरजस्ती विधेयक पारित गरेर आन्दोलनका लागि उक्साउँदै हुनुहुन्छ । यसले त समस्या झन बढाउँदैन र ?
    विधेयकको हकमा सहमति भइसकेको विषयलाई सरकारले कार्यान्वयन गरेको हो । यसमा अन्यथा गर्नु राम्रो हुँदैन । विधेयकको सन्दर्भमा संसदीय प्रक्रिया पूरा गरेका छौँ ।

    जसरी विधेयक पारित गर्नुभयो, यसले त अब द्धन्द्ध हुन्छ भनेर कांग्रेसले भनेको छ नि ?
    जसरी विधेयक पारित भयो त्यो संसदको प्रक्रियाअनुसार नै हो । यो अनौठो मान्नुपर्ने कुरा होइन ।

    दुई तिहाई बहुकत छ भन्दैमा प्रतिपक्षलाई पेलेर जान मिल्छ त ?
    हामीले विधान र विधिअनुसार विधेयक पारित भएको छ ।

    सभामुख कृष्णबहादुर महराको भूमिकाको चौतर्फी विरोध भयो नि ?
    चौतर्फी विरोध भएको छैन । प्रतिपक्षी दलको हैसियतले कांग्रेसले विरोध गरेको हो । अरु केही मान्छेले पनि विरोध गर्न सक्छन् । यो सामान्य विषय हो ।

    डा. गोविन्द केसी १८ दिनदेखि अनसनमा हुनुहुन्छ । सरकारले किन वार्ता गरेन ?
    तिपटक वार्ता गर्ने ? विगतमा धेरैपटक वार्ता गरेर सहमति गरेको हो । अहिले पनि सम्झौता अनुसार नै विधेयक ल्याइएको छ । सम्झौतामा भएका कुन अक्षर, रेफ, कान्दानी र बाइमात्रा तलमाथि परेको छ ? सधैँ नयाँ नयाँ मागहरु राखेर हड्ताल र अनसन गरेर हुन्छ ? यसरी देश चलाउन खोजेर त भएन नि । केसीको अनसनसँग सरकार अब झुक्दैन । विधेयक पारित भइसक्यो, अब पुनर्विचार हुँदैन । बहुमतको सरकारलाई शाषन गर्न नदिने, विधेयक पारित गर्न नदिने नियत हामीले बुझेका छाँै ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…