बुद्धि मल्ल, यो संसारमा भोकै बस्नुपर्ने मानिसहरुदेखि अर्बपति, खर्बपतिजस्ता सबै प्रकारका मानिसहरु छन् । एउटै सहर, गाउँ, टोल, कम्पनीमा पनि कुनै एक व्यक्तिले महिनामा लाखौँ कमाइरहेका हुन्छन् भने कुनैले हजार कमाउन पनि धौधौ परिरहेको हुन्छ ।
यसरी एउटै वातावरण, एउटै परिवेश, एउटै स्थानमा पनि मानिसहरुबीचको सफलतामा फरक आउनुको मुख्य कारण उनीहरुको सोचमा रहेको भिन्नताले गर्दा हो । ठूलो सोच्ने व्यक्तिको सफलता पनि ठूलै हुन्छ भने सानो सोच्ने व्यक्तिको सफलता पनि उसको सोचअनुसारको सानै हुन्छ ।
एक जना एकदमै गरिब केटा जागिरको खोजीमा सहरमा यताउता भौँतारिँदै थियो । बाटोमा हिँड्दाहिँड्दै थकाइ मार्न एउटा प्रतीक्षालयमा बस्यो र भोकाएकोले झोलाबाट टिफिन बक्स निकाल्यो । टिफिनमा भएको एउटामात्रै रोटी भए पनि उक्त रोटी निकालेर खान थाल्यो ।
उसको खाने तरिका भने निक्कै गज्जबको थियो । उसले रोटी टुक्रा पाथ्र्याे र टिफिनभित्र लैजान्थ्यो अनि रोटीसँग केही मिलाएर खाएको जस्तो गरेर खान्थ्यो, जब कि ऊसँग रोटीबाहेक अन्य केही कुरा थिएन ।
उसको क्रियाकलाप देखेर प्रतीक्षालयका अन्य व्यक्तिहरु चकित परे र एक जना व्यक्तिले त्यसो गरेर खानुको कारण सोधे । केटोले जवाफ दियो– सर, म यो कल्पना गर्छु कि यो टिफिनभित्र अचार छ र यो रोटीसँग अचार राखेर खाँदैछु ।
व्यक्तिले फेरि सोध्यो– तिमीलाई अचारको स्वाद आइरहेको छ त ? केटोले जवाफ दियो– अँ, मलाई अचारको स्वाद आइरहेको छ । व्यक्तिले भन्यो– हेर भाइ, तिमीलाई कल्पना नै गर्नुछ भने अचार मात्र किन ? स्वादिष्ट मासु, मटर पनिरसँग खाएको कल्पना गर न । कल्पना गर्नु नै छ भने किन सानो चीजको कल्पना गर्नु ? ठूलो चीजको कल्पना गर ।
माथिको गरिब केटोको कथाले अधिकांश मानिसहरुको प्रतिनिधित्व गर्छ । विभिन्न वातावरणीय प्रभावले गर्दा पनि हामीहरु ठूलो सोच्न सक्दैनौँ ।
सामाजिक मूल्यमान्यता तथा विभिन्न वातावरणीय त¤वहरुले हामीलाई ठूलो सोच्नका लागि रोकिरहेको छ र यसको सुरूवात परिवारबाट पनि सुरू हुन्छ, किनभने आमाबुबाले आफ्ना छोराछोरीहरुलाई अरुको छोराछोरीहरुभन्दा कमजोर ठान्छन् ।
छिमेकी तथा साथिभाइका छोराछोरीले आफ्ना छोराछोरीभन्दा बढी अंक ल्यायो भने आफ्ना छोराछोरीहरुलाई नालायक भन्ने संस्कारबाट उनीहरुको मनोबल गिराउने कार्य भइरहेको हुन्छ ।
छोराछोरीहरुलाई नालायकको दर्जा दिनुभन्दा उनीहरुलाई हौसला प्रदान गरी अझ राम्रो गर्न, राम्रो र ठूलो सोच्न प्रोत्साहन गर्नु जरूरी हुन्छ ।
हाम्रो सोच सेतो छाला भएको व्यक्ति देख्नेबित्तिकै हामीभन्दा बढी जान्ने, सुन्नेजस्तो लाग्छ । अल्लि अंग्रेजी बोल्ने व्यक्तिहरु धेरै पढेलेखेका र स्मार्ट लाग्छन् र यही सोचले गर्दा पनि हामीले आफूलाई अन्यभन्दा कमजोर ठान्छौँ र ठूलो ठूलो उपलब्धि हासिल गर्ने सोच्न सक्दैनौँ ।
नेपालीमा एउटा भनाइ छ– सूर्यलाई ताकेर झटारो हान्यो भने अग्लो रुख त पक्कै भेटिन्छ । ठूलो सोच अथवा लक्ष्य बनायौँ भने साना तथा मझौला लक्ष्यहरु त सजिलै भेटिन्छन्, तर सानो लक्ष्य बनायौँ भने ठूलो लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ । हामीले आफूलाई अरुभन्दा कमजोर ठान्नुहुँदैन । आफूलाई पनि सक्षम ठानी आत्मविश्वास कायम गरी ठूलो सोच्नुपर्छ ।
१९६२ मा क्यानडामा जन्मेका जिम केरी सानोमा हुँदा गरिबीको कारणले गर्दा स्कुलको फि तिर्नका लागि १५ वर्षको उमेरमा ट्वाइलेट सफा गर्ने काम गरे । जिम सानोदेखि नै एउटा राम्रो कलाकार बन्ने सपना देख्थे र अभिनय कला सिक्दै रहे ।
सन् १९९० मा जब जिम हलिउडमा अभिनय गर्ने लक्ष्यका साथ विभिन्न संघर्ष गरिरहेका थिए, एकदिन उनी आफैँले आफूलाई उत्प्रेरित गर्नका लागि आफ्नै नाममा ५ वर्षपछाडि अर्थात् सन् १९९५ को मिति राखेर १० मिलियन डलरको चेक काटे र पर्समा राखे ।
केरीलाई ५ वर्षपछि आफूले उत्कृष्ट कलाकारको रुपमा १० मिलियनबराबर रकम पुरस्कार पाउँछु भन्ने विश्वास थियो र सोहीअनुसार आफूलाई तयारी गर्दै थिए । त्यतिबेला जिमजस्तो गरिब परिवारको व्यक्तिले १० मिलियन डलरको सपना देख्नु एकदमै ठूलो कुरा थियो ।
उनी त्यतिबेला सामान्य व्यक्ति थिए, तर उनको सोच ठूलो थियो । १९९० मा नै उनले ५ वर्षपछि अभिनयबापत् १० मिलियन डलरको चेक प्राप्त गर्नुपर्छ भन्ने लक्ष्यका साथ आफैँले आफ्नै नामको काटेको चेक पर्समा राखेर हिँड्दथे र दिनदिनै त्यो चेक हेरेर उत्प्रेरित हुन्थे ।
१९९४ सम्म जिम केरीले टिभी सिरियल तथा केही फिल्ममा काम गरिरहे । जिमको सपनाअनुसार १९९५ मा डम्ब एण्ड डम्बर भन्ने फिल्ममा मुख्य भूमिका निर्वाह गरे, जुन फिल्म सुपरहिट भयो र उनलाई १० मिलियन डलर पारिश्रमिक प्राप्त भयो ।
जिम केरीको उदाहरणले बुझ्न सकिन्छ कि हामी जति ठूलो लक्ष्य लिन्छौँ त्यति नै ठूलो सफलता प्राप्त गर्छौं । तर लक्ष्य लिएर मात्र हुँदैन, उक्त लक्ष्य प्राप्तिका लागि निरन्तर लागिरहनुपर्छ । लक्ष्य लिएपछि मेहनत र दृढताका साथ लागिपर्ने हो भने अवश्य पनि लक्ष्य प्राप्त हुन्छ ।
जिम केरी आफैँले आफैँलाई उत्प्रेरणा दिलाउन दिनदिनै चेक हेर्ने र मेरो लक्ष्य यो हो भनेर आफैँले आफैँलाई स्वनिर्देशन गर्ने तरिका गज्जबको छ । मानिस सफल हुनका लागि उत्प्रेरणाको आवश्यक पर्छ र त्यो पनि स्वउत्प्रेरणा त झनै आवश्यक पर्छ । प्रत्येक ठूला कार्यहरु र प्रत्येक ठूला सफलताहरु एउटा ठूलो सपनाबाट सुरू हुन्छ, एउटा ठूलो लक्ष्यबाट हासिल हुन्छ ।
संसारका ख्यातिप्राप्त मोटिभेटरहरुले भन्ने गर्छन्– लक्ष्य त्यत्रो बनाउनू कि जबसम्म मानिसहरु तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन् । यदि तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन् भने तिम्रो लक्ष्य सानो छ भनेर बुझ्नू ।
विभिन्न सफल व्यक्तिहरुको जीवनीलाई अध्ययन गर्ने हो भने पनि उनीहरुले आफ्नो लक्ष्य अरुलाई सुनाउँदा धेरै व्यक्तिहरुले उनीहरुलाई उडाएको पाइयो । पाकिस्तानको क्रिकेट टिमबाट रिटायर्ड भएपछि इमरान खानले राजनीतिक पार्टी खोलेर देश परिवर्तन गर्ने लक्ष्य सुनाएका थिए ।
त्यतिबेला इमरान खानलाई धेरैले साथ दिएका थिएनन्, तर अहिले इमरान खान बहुमतनजिकको पार्टीको हिसाबले पाकिस्तानका प्रधानमन्त्री भएका छन् । जब सर एडमण्ड हिलारीले सगरमाथा चढ्ने लक्ष्य सुनाएका थिए, धेरैको नजरमा यो आत्महत्या गर्न जानुसरह थियो ।
कसैलाई पनि थाहा थिएन कि सगरमाथा चढ्ने बाटोमा के–के छन्, कस्तो छ भनेर । त्यतिबेला त्यति विकसित नभइसकेको प्रविधि तथा कम संसाधन तथा कम सूचनाको साथमा हिलारीले सगरमाथा चढ्ने निर्णय गरे । वास्तवमा त्यो ज्यादै ठूलो लक्ष्य थियो र आखिरमा उनले तेन्जिङ नोर्गे शेर्पासँग सगरमाथाको सफल आरोहण गरी इतिहास रचेरै छाडे ।
ठूलो सफलताका लागि ठूलै लक्ष्य आवश्यक पर्छ, तर लक्ष्य ठूलो बनाउँदैमा सुरूवात नै ठूलोबाटै गर्नुपर्छ भन्ने होइन । सानोबाट सुरू गरेरै भए पनि ठूलो लक्ष्यमा पुग्न सकिन्छ । नेपालको भाटभटेनी सुपरमार्केट यसको एउटा गतिलो उदाहरण हो ।
सानोबाटै सुरू गरे पनि निरन्तरको वृद्धिले ठूलो लक्ष्यमा पुग्न सकिन्छ । अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक मांले पनि अलिबाबा ग्रुप सानोबाटै सुरू गरेका थिए, जसरी नेपालको टेलरिङ व्यवसायमा सबैभन्दा स्थापित नाम श्रेष्ठ टेलरिङका बाबुकाजी शाक्यले ६० रूपैयाँबाट व्यवसाय सुरू गरेका थिए ।
लक्ष्य सानो र ठूलो कस्तो हुने भन्ने व्यक्ति विशेषमा पनि भर पर्दछ । एउटा व्यक्तिलाई ठूलो लाग्ने लक्ष्य अर्काे व्यक्तिलाई सानो लाग्न पनि सक्छ । तर, यदि तपाईं कुनै कम्पनीमा सानो कर्मचारीका रुपमा छिर्नुभएको छ भने त्यहाँको म्यानेजर बन्ने लक्ष्य राख्नुहोस् ।
यदि म्यानेजर हुनुहुन्छ भने मालिक बन्ने लक्ष्य राख्नुहोस् । तपाईं जुन क्षेत्रमा हुनुहुन्छ भने पनि त्यो क्षेत्रको माथिल्लो स्तरमा पुग्ने लक्ष्य राख्नुहोस् । तर, लक्ष्य राख्नासाथ जे बन्ने लक्ष्य लिनुभएको छ सोहीअनुसार व्यवहार पनि गर्न थाल्नुहोस् ।
जस्तैः म्यानेजर बन्ने लक्ष्य राख्नुभएको छ भने आजैबाट म्यानेजरजस्तै सोच र व्यवहार गर्नुहोस् । मालिक बन्ने सोच राख्नुभएको छ भने आजैबाट मालिकले जस्तै सोच्ने, मालिकले जस्तै कम्पनीलाई माया गर्ने गर्नुहोस् ।
तपाईं जुन हैसियतमा हुनुहुन्छ निरन्तर त्योभन्दा एक कदम माथि जाने लक्ष्य राख्नुहोस् । जागिर गर्नुहुन्छ, सहायक हुनुहुन्छ भने अधिकृत हुने लक्ष्य राख्नुस् । अधिकृत हुनुहुन्छ भने म्यानेजर हुने लक्ष्य राख्नुस् । म्यानेजर हुनुहुन्छ भने कार्यकारी हुने लक्ष्य राख्नुहोस् ।
तर, तपाईंको मुख्य लक्ष्य अर्थात् ठूलो लक्ष्य त कार्यकारी हुने नै राख्नुहोस् । जति ठूलो लक्ष्य राखिन्छ त्यति नै ठूलो विश्वास कायम राख्नुपर्छ र त्यति नै ठूलो योजनासमेत बनाउनुपर्छ । यदि यसो गरिए त्यति नै मात्राको उपलब्धि अर्थात् लक्ष्य हासिल गर्न सकिन्छ । ठूलो लक्ष्य लिऔँ, ठूलो उपलब्धि प्राप्त गरौँ । चितवन पोष्टका साथमा ।