काठमाडौं । तत्कालिन मओवादीले संचालन गरेको हिंसात्मक ‘जनयुध्द’ मा संलग्न पूर्व लडाकू नै त्यस दल सम्बध्द बहालवाला मन्त्रीलाई सुरक्षा चुनौति बनेको बुझिएको छ । जीउज्यान दिन तयार भएर लडेका तर नेताहरु पटक पटक सत्तामा पुगिसक्दा पनि कुनै सहायता नपाएर निराश बनेका ती पूर्व लडाकूले माओवादी मन्त्री र नेताहरुमाथि आक्रोश पोख्न थालेपछि सुरक्षामा कडाई गरिएको सुरक्षा सूत्रले बताएको छ ।
हाल नेकपाका एक अध्यक्ष रहेका पुष्पकमल दाहाल निवासमा समेत सुरक्षा प्रवन्ध अपडेट गरिएको बताउँदै सुरक्षा सूत्रले माओवादी निकट मन्त्रीहरुका कार्यालयमा विशेष निगरानीको व्यवस्था गरिएको बताएको छ । दशक लामो ‘जनयुद्ध’मा करीब १७ हजार नेपालीको ज्यान गएको कुरा जगजाहेर छ । त्यही ‘जनयुद्ध’ समेतको दवावमा २५० वर्षे राजसंस्था ढल्यो । त्यही पार्टीका शीर्ष नेताहरु पुष्पकलम दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व समेत गरिसकेका छन् । उनीहरुकै तहका अर्का नेता कृष्णबहादुर महरा अहिले संघीय संसदको सभामुख छन् ।
यता बृहत शान्ति सम्झौताम हस्ताक्षर भएयता करिब ३५ हजार लडाकुको छानवीन भयो र सानो संख्यामा ती लडाकू नेपाली सेनामा समावेश गरिए । तिनै लडाकूमध्येका अधिकांश राज्यकोषबाट जनही १० लाख बुझेर घर फर्किए । छानवीन गर्दा केही लडाकु ‘अयोग्य’ पनि पाईए । तिनै ‘अयोग्य’मा दरिएका ठूलो संख्याका पूर्व लडाकूले अहिले माओवादी मन्त्रीको सुरक्षामा ‘खतरा’उत्पन्न गरिदिएको सरकारी सुरक्षा सन्यन्त्रको बुझाई छ ।
सुरक्षा सूत्रका अनुसार पूर्व लडाकुले विभिन्न माग राख्दै मन्त्रालय घेर्ने, मन्त्रालय परिसरमै बीष सेवन गर्ने घटना भएपछि यसरी सुरक्षा अत्यन्त कडा पारिएको हो । वन मन्त्री शक्तिबहादुर बस्नेतलाई आफ्नै गृह जिल्लाका एक पूर्व लडाकुले हातपात गरेपछि मन्त्रालय र निवासमा सुरक्षा प्रवन्ध अझ कसिलो पारिएको छ ।
त्यसैगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा समेत सुरक्षा अत्यन्त कडा बनाईएको बुझिएको छ ।
वन मन्त्री बस्नेतलाई गृह जिल्ला जाजरकोटकै एक पूर्व लडाकुले आफूलाई सहयोग नभएको भन्दै हातपात गरेका थिए । यो घटनापछि गृह मन्त्री रामबहादुर थापा, उर्जा मन्त्री बर्षमान पुन, कृषि मन्त्री चक्रपाणी खनाल, खानेपानी मन्त्री विना मगर र उद्योग मन्त्री मातृका यादव पनि त्रसित भएकोले उनीहरुको सुरक्षामा समेत आवश्यक हेरफेर गरिएको बताईएको छ ।
पूर्व लडाकुले गृहमन्त्रालयमै वीष पिएको घटनापछि गृहमन्त्रालयको मुख्य प्रवेश द्वारबाट भित्र प्रवेश गर्न निकै कसिलो केरकारको सामना गर्नु परेको अनुभवी बताउँछन् ।