• बाहुनडाँगी । ‘आज मेरो साथमा रहेको एउटा केही चिज खोसिएको अनुभव भइरहेछ । म बोल्न पनि सक्दिनँ तर मलाई मेरो त्यो चिज खोसिएकोमा रत्तिभर दुःख पनि छैन । किनकि मैले एकर्षको दौरानमा धेरै राम्रा राम्रा सन्तान जन्माएर उनीहरुकै काखमा त्यो चिज जिम्मा लगाएको छु । म ढुक्क छु आगामी दिनमा त्यो चिज सबैको हाईहाई हुन्छ भन्नेमा ।’ यस्तै यस्तै शब्द राख्दाराख्दै उनको गला अवरुद्ध बनिसकेको थियो । आँखाबाट आँसु नझरोस् भनेर उनले धेरै मन थामिन् । तर किन रोकिन्थ्यो र आँसु । उनको आँखाबाट आँसु झरेरै छाड्यो । सहजै देखिन्थियो पिलपिल आँसु बगेको । उनले यसो भनिरहँदा र उनको प्रस्तुतिबाट दर्शकदीर्घा र मञ्चमा रहेका अतिथिहरु निक्कै स्तब्ध बनेको सहजै अनुमान गर्न सकिन्थ्यो । उनी जति जति बोल्दै जान्थिन उतिउति कार्यक्रमस्थल सुनसान र शान्त झँै हुन्थ्यो ।
    मंगलबार झापाको धुलावारीमा आयोजित मेचीनगर लेडी जेसीज मेचीनगरको पाँचौ पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा देखिएको दृश्य हो यो । जतिबेला कार्यक्रम सञ्चालकको भूमिकामा रहेकी सन् २०१७ की अध्यक्ष शोभा श्रेष्ठले बिदाई भएर पद हस्तान्तरण गर्न लागेकी सन् २०१८ की अध्यक्ष सुनिता पनेरुलाई आफ्नो बिदाई मन्तव्य राख्न बोलाइन्, उनको अनुहार बेग्लै भइसकेको थियो । एकवर्षसम्म गोडमेल गरेको संस्था सारा काम छाडेर रातदिन नभनी दिएको जिम्मेवारी पूरा गरेको संस्था सर्लक्कै छाडेर जानु पर्दा र अर्कालाई जिम्मा लगाउँदा कस्को मन थामिएला र ? पनेरुले बोल्ने क्रममा यिनै कुरा राखिन् ।
    ‘कसैले कसैको प्रगति चाहन्छ भने सबैभन्दा पहिला परिवारमा एकता हुनुपर्छ’ पनेरुले भनिन् । उनको कुरालाई सहभागीहरुले तालीले समर्थन गरे । किनकि कार्यक्रमको नारा समेत ‘प्रगतिका लागि परिवारमा एकता’ भन्ने नै थियो । उनले आफ्नो परिवारले यति साथ सहयोग नगरेको भए शायद मेचीनगर लेडी जेसीजको अध्यक्षहरुका नाम लेखिदैं गर्दा आफ्नो नाम नलेखिने थियो भन्दैं यसको श्रेय परिवारलाई दिइन् । अनि संस्थाका संस्थापक, पूर्व अध्यक्ष, लेडी जेसीजका सदस्यहरु, मातृ संस्था, अन्य विभिन्न संघ संस्थालगायत सबैमा धन्यवाद ज्ञापन गरिन् र भनिन्– ‘अब म धेरै बोल्दिन किनकि मलाई छिट्टै रुन आउँछ ।’ अन्तिममा रुञ्चे स्वरमा सबैसँग आग्रह गरिन् आगामी दिनमा समेत मेचीनगर लेडी जेसीजलाई सबैले आ–आफ्नो क्षेत्रबाट प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग र सद्भाव गरिदिइन् । अनि अध्यक्ष पनेरुले रुञ्चे स्वरमै मन थामेरै भएपनि आफ्नो कार्यकालमा भए गरेका कामको बारेमा सहभागीहरुलाई जानकारी गराउन भ्याइन् । र भनिन्– ‘म सहज रुपमै आफ्नो पद हस्तानतरण गर्दैंछु ।’
    आफ्नो विदाई मन्तव्यको अन्त्यमा ‘प्रगतिका लागि परिवारमा एकता’ भन्ने मुख्यः नारासहित सम्पन्न पाँचौ पद हस्तान्तरण तथा सम्मान समारोहमा सन् २०१८ की अध्यक्ष पनेरुले सन् २०१९ की अध्यक्ष मञ्जु खनाललाई जेसीज चेन पहिर्याएर सहज रुपमै हाँसीहाँसी पद हस्तान्तरण गरिन् । त्यसपछि माहोल एकाएक परिवर्तन भयो । चेन पहिर्याएपछि पनेरु निवर्तमान अध्यक्ष भए लगत्तै जेसीजको विधान अनुसार संस्थापक अध्यक्ष कविता शर्मा, टीका सुवेदी, उषा श्रेष्ठले सन् २०१७ की अध्यक्ष शोभा श्रेष्ठलाई पूर्व अध्यक्षमा समाहित गराए ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष आईसिनेटर महेश पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सुनिता पनेरुले नवनिर्वाचित अध्यक्ष मञ्जु खनाललाई पद तथा गोपनियताको सपथ गराइन् । त्यस लगत्तै नवनिर्वाचित अध्यक्ष खनालले मनोनितसहित सन् २०१९ का सवै पदाधिकारीहरु कार्यकारीणी उपाध्यक्षहरु सविता पोखरेल, सीता पुरी, उपाध्यक्षहरु शर्मिला श्रेष्ठ, गरीमा बोहोरा, बन्दना भण्डारी, अनिता खनाल गुरागाईँ, महासचिव गीता ओझा, सचिव सुभद्रा नेपाल, सहसचिव कुसुम दाहाल, कोषाध्यक्ष तुलसा दंगाल, सह कोषाध्यक्ष सुशीला खतिवडासहितको नाम घोषणा गर्दै पद तथा गोपनीयताको सपथ गराइन् । साथै आइपीपी सुनिता पनेरु, कानुनी सल्लाहकार शोभा श्रेष्ठ, तालिम संयोजक शान्ता सिटौलाको नाम समेत कार्यक्रममा अध्यक्ष खनालले घोषणा गरिन् ।
    कार्यक्रममा परशुराम–सावित्रीदेवी स्मृति पुरस्कार कुसुम दाहाल र जयन्ती बराल स्मृति पुरस्कार सविता पोखरेललाई प्रदान गरियो । सम्मानित व्यक्तित्वको नाम संस्थाकी सल्लाहकार लक्ष्मी राईले घोषणा गरेकी थिइन् । पर्शुराम—सावित्रीदेवी स्मृति पुरस्कार मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माले आफ्नो दिवंगत सासु ससुरा र जयन्ती वराल स्मृति पुरस्कार पूर्व अध्यक्ष टीकादेवी सुवेदीले आफ्नो आमाको नाममा स्थापना गरेका हुन् । दुवै पुरस्कारका संस्थापक शर्मा र सुवेदीले पुरस्कृत व्यक्तित्वहरुलाई प्रदान गरेका थिए । नवनिर्वाचित अध्यक्ष खनालले आफ्नो टिमले आगामी दिनमा गर्नेमा कामको बारेमा प्रतिवद्धता व्यक्त गरिन् ।
    कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष आईसिनेटर महेश पौडेल, निरुपित कार्याकारिणी उपाध्यक्ष रविन पोखरेल, साहित्यकार यज्ञराज प्रसाई, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीलगायतले बोलेका थिए । निवर्तमान अध्यक्ष सुनिता पनेरुको सभापतित्वमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुशीला खतिवडाले तथा सञ्चालन महासचिव गीता ओझा, सल्लाहकार लक्ष्मी राई र सन् २०१७ की अध्यक्ष शोभा श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…