झापा/अस्पतालको लापरबाहीले दुई वर्षीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका छन्।
आइतबार राति करिब १० बजे अस्पताल तोडफोड गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। भीडले अस्पताल तोडफोड गर्न थालेपछि बिरामी र कुरुवाहरु भागाभाग भएको थिए। आक्रोशित समूह अस्पताल तोडफोडमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरी लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताउनु भयो । मेचीनगर नगरपालिका–४ चारआलीका २ वर्ष ५ महिनाका जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि आक्रोसित आफन्त र गाउँलेले अस्पताल तोडफोड गरेका थिए।
झाडापखला लागेका जेनितलाई उपचारका लागि साँझ ७ वजे अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा राखिएको जेनितलाई नर्सले इन्जेक्शन दिएको केही समयपछि मृत्यु भएको आफन्तको दाबी छ। घटनाले उग्र रुप लिएपछि जनप्रतिनिधिले मृतकका आफन्त र गाउँवासीलाई सम्झाएर वार्ताको वातावरण निर्माण गरेका थिए।