• काठमाडौं । सघन सम्बन्धहरु टुट्न थालेपछिको विरक्तिले आर्यघाटसम्म पुर्‍याउँदो रहेछ ! चाहे ठेक्कापट्टाको काम गर्ने सूर्य तामाङकी पत्नी हुन्, चाहे वनमन्त्रीकी भतिजी बबिता नै किन नहुन्–मनको चोटले ज्यानको माया मार्दोरहेछ !

    पत्नी ट्रयाक्टर ड्राइभरसँग आपत्तिजनक अवस्थामा बसेको फोटो बोकेर सम्बन्ध बिच्छेदका लागि श्रीमान गुहार्न पुगेका ठेकेदार सूर्य तामाङले अदालतबाट फर्किएपछि पत्नीलाई भेट्न पाएनन् । दिलमायाले पति घर आइपुग्नु अघि नै विष पिएर ज्यान छाडिसकेकी थिइन् ।

    माघ ९ गते नेपालटार, जरङ्खुमा भएको घटना हो यो । न्याय खोज्न दिलमाया माइती नेपाल पुगिन् । त्यहाँ पति सूर्यलाई पनि बोलाएर छलफल गर्दा भदौ १ गतेदेखि जारी कानुनका आधारमा दिलमाया तल परिसकेको भनेपछि मिलापत्रको कुरा आयो ।

    त्यसअघि बालाजु प्रहरीले छलफलका लागि बोलाउँदा गल्ती स्वीकारिन्, तर सम्बन्ध बिच्छेद गर्न मानिनन् । त्यसपछि पति सम्बन्ध बिच्छेदका लागि वकिलकहाँ पुगे । माइती नेपालमा आफू तल परेको र अलग्गै बस्नका लागि पतिले केही खर्च दिन्छु भनेको आधारमा ५० लाख मागिन् ।

    तर, पतिले तीन लाख र कोठामा भएको त्यति नै बराबरको जिन्सी सामान पनि छाडिदिने भने । दिलमायाले मानिनन् र १० लाखमा झरिन् । सूर्य तीनबाट पाँच लाखमा उक्लिए । बेलुका गाउँबाट एक आफन्तले अर्को एक लाख थपिदिन भनेपछि सूर्यले हुन्छ भने । भोलिपल्ट वकिलकहाँ जाने, मिल्नेमा दुबै पुगे ।

    तर, दिलमायाले ‘विवाह दर्ताको प्रमाणपत्र भेटिएन, टेस्टको सर्टिफिकेट पनि गाउँमा छ’ भन्दै सूर्यलाई गाउँ पठाइन् । तर, गाउँ नपुग्दै फोन गरेर दुबै चिज यहीं भएको बताई फिर्ता बोलाइन् । त्यसदिन अदालतमा पेशी थियो । प्रतिवादी (दिलमाया) ले तारेख गुजारेका कारण एकतर्फी फैसला हुने लगभग निश्चित थियो ।

    तर, उनले ‘मिलापत्र गरौंला, अहिले कोठा आउनु’ भनी बोलाइन् । सूर्य कोठा गएनन्, अदालत पुगे । अदालतले सूर्यको मागबमोजिम सम्बन्धबिच्छेद पनि सदर गर्‍यो । अदालतबाट निस्कन नपाउँदै फोन आयो, ‘दिलमायाले विष पिइन्’ भनेर । अस्पताल पुग्दासम्म दिलमायाले संसार छाडिसकेकी थिइन् । बिहान ८ वर्षको छोरालाई स्कुल पठाएर कोठैमा विष पिएकी हुन् ।

    यस्तै त हैन, तर पति पत्नीबीच स–साना कुरामा मतैक्यता नहुँदा वनमन्त्री शक्तिबहादुर बस्नेतकी भतिजी बबिताले विवाह गरेको तीन वर्षपछि आइतबार ललितपुरको आफ्नै अपार्टमेन्टमा सलको पासो बेरेर आत्महत्या गरिन् । लोग्ने–स्वास्नीको झगडा परालको आगो भनेझैं सामान्य विषयमा पतिसँग मन दुखाएर उनले केटौले निर्णय लिएको दाइ मुक्तिलगायत परिवारका सदस्यहरु बताउँछन् ।

    उनले केही समययता सामाजिक सञ्जाल र केही निकटस्थ साथीसँग म्यासेञ्जरमा आफ्ना विरक्ति भावहरु पोख्दै आएकी थिइन् । पति काममा व्यस्त, समय दिन नभ्याउने, उमेर अन्तर, केटी इगोइष्ट स्वभावकी । सँगै विदेश यात्रामा पनि गएकै हुन् । खासै समस्या केही थिएन । आइतबार उनीहरु बस्ने बालकुमारीको अपार्टमेन्ट पास गर्ने कुरा थियो । राति पति पत्नी सँगै बसेर लुँडो खेलेका थिए । खेल्ने क्रममा सामान्य विवाद भएको थियो । भोलिपल्ट बिहानै पति दुई हजार डलर साँट्छु भनी हिंडे । त्यसपछि पत्नीले मृत्युको बाटो रोजिन् । जनआस्था साप्ताहिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…