• काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो समय आफैंले गरेको निर्णयलाई पूर्णता दिन नसकेर आफ्नै निर्णयमा अल्झिँदै आएको छ । गत ८ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पार्टीलाई संघीय संरचनामा लैजान भन्दै कांग्रेसले संविधानअनुसारको मुलुकको संरचनामा पार्टीको विधान पारित गरेको थियो । तर, महासमिति सकिएको एक महिना बित्दासम्म पनि कांग्रेसले आफ्नो विधानलाई अन्तिम रूप दिन आलटाल गर्दै आएको छ ।
    परिमार्जन गरिनुपर्ने केही विषयमा नेताहरूबीच नै कुरा मिल्न नसक्दा हालसम्म पनि विधानले पूर्णता नपाएको नेताहरूले बताउँदै आएका छन् ।

    यस्तै, राजनीतिक दस्तावेजसहितका अन्य महŒवपूर्ण दस्तावेज पनि महासमितिले परिमार्जनसहित सर्वसम्मत रूपमा पारित गरे पनि त्यसमा समेत केही विषय छुटेको र समावेश गर्नुपर्ने भन्दै हालसम्म केन्द्रीय समितिले पूर्णता दिन सकेको छैन । तर, कांग्रेसले भने महासमिति बैठकले पारित गरेको पार्टीको विधानमाथि आएका सुझावअनुसार विधानलाई केही परिमार्जन गरेर अनुमोदन गर्ने बताउँदै आएको छ । सोही विषयलाई लिएर ९ माघबाट कांग्रेस केन्द्रीय समितिसमेत बस्दै आएको छ । तर, शीर्ष तहमा केके विषय परिमार्जन गर्ने भन्नेमा सहमति नजुट्दा विधानले अन्तिम रूप पाएको छैन ।
    बैठकले विधान अनुमोदनसँगै २ माघमा म्याद सकिएको नेविसंघको वर्तमान कार्यसमितिको म्याद चौथोपटक थप गर्ने वा तदर्थ समिति बनाउने भन्नेमा समेत निर्णय गर्न अलमल गरिरहेको छ । उपसभापति विमलेन्द्र निधिले महासमितिले पारित गरेको विधानलाई प्राप्त सुझावका आधारमा केही परिमार्जन गरिने र केन्द्रीय समितिले अनुमोदन गर्ने जानकारी दिए ।

    कहाँ कहाँ छ अन्योल ?

    १. पार्टी विधानसहित अन्य दस्तावेजको पूर्णतामा
    २. संघीय संरचना प्रवेशमा ढिलाइ
    ३. नेविसंघ
    ४. अन्य भ्रातृ संगठनमाथिको चेपुवा
    ५. संगठन सुदृढीकरण र कार्यकर्ता परिचालन

    ‘महासमिति बैठकले पारित गरेको पार्टीको विधानमाथि प्राप्त सुझावका आधारमा केही परिमार्जन गरेपछि केन्द्रीय समितिमा पेस गरेर अनुमोदन गरिन्छ, सो विषयमा छलफल जारी छ,’ उपसभापति निधिले राजधानीसँग भने ।
    प्रवक्ता विश्वप्रकाश शर्माले बुधबारको बैठक विधान परिमार्जनसहितका विषयमा प्रवेश भएको बताए । उनले बैठक महासमितिले पारित गरेको पार्टीको संघीय संरचनाअनुसारको विधान, नेविसंघको सकिएको म्यादसहित समसामयिक राजनीतिक अवस्थाका विषयमा केन्द्रित रहेको जनाए ।

    ‘बैठक बुधबारबाटै विधान र नेविसंघका विषयमा प्रवेश गरेको छ, बैठकले महासमितिले पारित गरेको विधानलाई कतिपय मिलाउनुपर्ने सन्दर्भलाई मिलाएर अन्तिम रूप दिन्छ, यस्तै नेविसंघबारे समेत निर्णय गर्छ,’ प्रवक्ता शर्माले भने ।
    उनले महासमिति बैठकले नै केन्द्रीय समितिलाई विधान र अन्य दस्तावेजमाथि परिमार्जनको अधिकार दिएकाले केन्द्रीय समितिले नमिलेका केही विषयलाई मिलाउन परिमार्जन गर्ने बताए ।
    हाल कांग्रेसमा नेविसंघको नयाँ तदर्थ समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्नेमा नेताहरू विभाजित हुँदै आएका छन् ।

    कांग्रेसले आफ्ना अन्य केही भ्रातृ संगठनको समेत समयमा निर्वाचन गर्न सकेको छैन । नेपाल किसान संघ, दलित संघसहितका भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरूमा समेत पार्टीले अन्योल बढाउँदै लगेको ती संस्थामा आबद्ध नेताले बताउँदै आएका छन् ।
    यसैगरी, गत निर्वाचनमा भोगेको पराजयपछिको कार्यकर्ता प्रशिक्षण र कार्यकर्तामा उत्साह ल्याउने जनजागरणका काममा समेत कांग्रेसले उचित कदम लिन नसकेको गुनासो तल्लो स्तरका नेता र कार्यकर्ताबाट आउन थालेको छ । जसका कारण कांग्रेसको संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनसमेत पछिल्लो समय कमजोर हुँदै गएको छ ।

    नेविसंघ कार्यसमिति विघटन प्रस्ताव

    कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघ कार्यसमिति विघटन गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा नेताहरू नेविसंघको सकिएको म्याद थपेर ब्युँताउने कि विघटन गर्ने भन्नेमा विभाजित हुँदै गर्दा उपसभापति निधिले भने कार्यकाल पूरा भइसकेका कारण स्वतः विघटन भइसकेको भन्दै नयाँ तदर्थ समिति बनाउन प्रस्ताव गरेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…