• दमक । झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भने अनेकौं योजना केन्द्रित गरिएका छन् । राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौंको बजेट विनियोजन गरेको छ ।

    सरकारले दमकमा पौने ३ अर्बको लागतमा भ्यु टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ ।

    दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण योजना अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निर्माण योजना पनि अघि सारेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार बुद्धमूर्तिका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

    नगरको उत्तरी क्षेत्र जंगल भएकाले तीन तहको सरकारको अनुमति हुने गरी जग्गा व्यवस्थापन गर्ने प्रक्रियामा जुटेको नगरपालिकाले जनाएको छ । दमकले मन्त्रालयगत बजेटमा पनि विशेष प्राथमिकता पाउने गरेको छ ।

    जिल्लामा सहरी विकास मन्त्रालयले यो वर्ष २६ योजनामा बजेट विनियोजन गरेको छ । तीमध्ये ११ वटा त दमकका मात्र छन् । सहरी मन्त्रालयले मंगलबार दमक–३ दापगाछीमा १८ तले भ्यु टावरका लागि २ अर्ब ७२ करोड लागत अनुमानसहित टेन्डर आहवान गरेको छ । मन्त्रालयले माघ १४ गते योजना संशोधन गरेर दमकमा सडक, नाला, पार्कलगायत पूर्वाधारका लागि यो वर्ष १० करोड रुपैयाँ विनियोजन गरेको छ । दमक बसपार्कमा दोस्रो चरणको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत तीन करोड विनियोजन गरिएको छ । मन्त्रालयले दमकमा ‘एक सहर, एक पहिचान’ कार्यक्रमअन्तर्गत नगरको बजार क्षेत्र वडा ६ र ७ मा सडक, रेलिङ र सौर्यबत्ती जडानका लागि ५ करोड ७० लाख विनियोजन गरेको छ ।

    दमक–८ स्थित लक्ष्मीमार्ग–बालुवाटार चक्रपथ मार्गमा ढल तथा सडक स्तरोन्नतिका लागि १ करोड ७५ लाख विनियोजन गरिएको छ । नगरपालिकाको आवधिक योजना कार्यान्वयनअन्तर्गत दमक बसपार्कमा पूर्वाधार निर्माणका लागि ४ करोड २० लाख विनियोजन गरिएको सघन सहरी विकास कार्यक्रम आयोजनाले जनायो ।

    नगरको पशुपति मन्दिरदेखि शंखधर चोक हुँदै भृकुटी चोक उत्तर लाइफलाइनसम्मको फुटपाथमा रेलिङ, सौर्य बत्तीसहितको पूर्वाधार निर्माण गर्न एक करोड ५० लाख, दमक ५, ६, ७ र ८ का मुख्य सडकमा सौर्य बत्ती, वृक्षरोपण, फुटपाथ निर्माणमा एक करोड ५० लाख, दमक–८ स्थित रतुवामार्ग स्तरोन्नतिमा एक करोड विनियोजन गरिएको छ ।

    यस्तै, फाल्गुनन्द बसपार्कका लागि ४ करोड, दमकदेखि चुलाचुलीबाट ढुंगेसम्मको सडक स्तरोन्नति तथा नगरपालिकाको एकीकृत सहरी पूर्वाधार विकासका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको छ । सहरी विकास मन्त्रालयले गत वर्ष पनि दमकमा सडक, नाला, ढल, सौर्य बत्तीलगायत पूर्वाधार निर्माणमा करोडौं रुपैयाँ खर्चिएको थियो ।

    प्रधानमन्त्री ओलीले सांसद कोषबाट खर्च गरिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दमकलाई डेढ करोड विनियोजन गरेका छन् । उनले दमक नगरपालिकाभित्र विपन्न आवास निर्माण शीर्षकमा एक करोड ४० लाख तथा दमक–८ स्थित ज्येष्ठ नागरिक भवन निर्माणका लागि १० लाख रुपैयाँ छुट्याएका छन् ।

    कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले प्रधानमन्त्रीकै गृहनगर भएकाले योजना बढी पर्नु स्वाभाविक भएको बताए । उनले विगतमा पनि शक्तिमा भएको स्थान र व्यक्तिको प्रभाव पर्दै आएकाले दमकमा पनि त्यसैको प्रभाव परेको प्रतिक्रिया दिए । सहरी मन्त्रालयले कन्काई नगरपालिकामा भने २१ करोडको एउटामात्र योजना पारेको छ । उक्त मन्त्रालयबाट जिल्लामा दोस्रो धेरै योजना भद्रपुर नगरपालिकामा ६ वटा छन् ।

    गौरादह र अर्जुनधारा नगरपालिकामा २/२, बिर्तामोड र मेचीनगर नगरपालिकामा एक/एक तथा कमल गाउँपालिकामा एउटा योजना परेका छन् । सहरी मन्त्रालयबाट यो वर्ष जिल्लाका शिवसताक्षी नगरपालिका, गौरीगन्ज, बाह्रदशी, कचनकवल, झापा र बुद्धशान्ति गाउँपालिकामा कुनै योजनापरेका छैनन् । कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…