• विराटनगर । कम्युनिस्ट सरकारले निर्वाचनका बेला वृद्धवृद्धालाई भत्ता बढाउने भनेर दिएको आश्वासन त पूरा गरेन तर, आफ्नालाई भने दोहोरो वृद्ध भत्ता वितरण गरेको रहस्य बाहिर आएको छ ।

    ज्येष्ठ नागरिकलाई कम्युनिस्ट सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताहरूले ¥याल चुहाएको प्रमाण भेटिएको छ ।

    मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर – ४ का नरपति भट्टराई र उनकी पत्नी पवित्रादेवी भट्टराईले सत्तारुढ दल नेकपाको सेटिङमा दुई वटा पालिकाबाट वृद्धभत्ता लिइरहेको खुलासा भएको छ ।

    भट्टराई दम्पतिका छोरा चन्द्र भट्टराई गत स्थानीय निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट उर्लाबारी नगरपालिकाको वडा नं. ५ मा वडाध्यक्षका उम्मेद्वार थिए ।

    आर्थिक रुपमा सम्पन्न भए पनि भट्टराई दम्पतिले उर्लाबारीको वडा नं. ४ बाट २०७१ सालदेखि नयाँ फारम भरेर भत्ता लिइरहेको पाइएको छ ।

    यसअघि उनीहरूले साविक टाँडी गाविसको वार्ड नं. ८ बाट २०६९ सालदेखि वृद्ध भत्ता लिँदै आएको रेकर्ड फेला परेको छ । टाँडी–८ राज्य पुनर्संरचनापछि मिक्लाजुङ – ३ भएको छ ।

    गाउँपालिकबाट हालसम्म भट्टराई दम्पतिले बसाइसराइको कागज लिएका छैनन् । बसाइसराइ नलिएसम्म वृद्ध भत्ताको सूचीबाट उनीहरूको नाम हटाउन नमिल्ने कानूनी व्यवस्था छ ।

    बसाइसराइबिना नै उर्लाबारीको साविक वडा नं. १ बाट भट्टराई दम्पतिको फारम कसरी भरियो ? वडाका कर्मचारी र वडाध्यक्ष नै बेखवर छन् ।

    भट्टराई दम्पतिलाई दोहोरो भत्ता दिलाउन तत्कालीन गाविस कर्मचारी तेजनाथ घिमिरेको मुख्य हात रहेको जानकारहरू बताउँछन् ।

    भट्टराई दम्पति हाल उर्लाबारी–४ का मतदाता हुन् । नेकपाका केही नेताहरूको मिलेमतो र सेटिङमा भट्टराई दम्पतिले दुई स्थानबाट वृद्धभत्ता बुझेको भट्टराई दम्पतिलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

    मिक्लाजुङ गाउँपालिका वार्ड नं. ३ का वडाध्यक्ष खगेन्द्र मादेनले भने बसाई सराई नलगेसम्म लगत काट्न नमिल्ने बताए ।

    उर्लाबारी–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमालले भट्टराई दम्पतिले दोहोरो वृद्धभत्ता लिएको आफूलाई जानकारी भएको बताएका छन् । उनले यथार्थ बुझेर कानूनी उपचार खोज्ने बताए ।

    साइकल मन्त्रीको छवि बनाएका मोरङबाट निर्वाचित लालबाबु पण्डित अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्री छन् । उनैको मन्त्रालयले वृद्ध भत्ताको व्यवस्था पनि हेर्छ ।

    उनकै जिल्लामा पूर्वएमालेहरूले दोहोरो रुपमा वृद्ध भत्ता लिएपछि मतदाताहरू आजित बनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…