• काठमाडौं । पार्टी एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै केपी ओली र प्रचण्डको हनिमुन टुटेपछि मुलुकको राजनीतिमा विविध प्रश्न खडा भएका छन् । ओली र प्रचण्डले आफूहरूलाई एउटै विमानका दुईवटा पाइलटका रूपमा परिभाषित गरेका थिए । विमानले उडान भरिसकेपछि पाइलटबीच विवाद उत्पन्न भयो भने जे हुन्छ यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र त्यही स्थिति उत्पन्न भएको छ ।

    गत जेठ ३ गते पार्टी एकीकरण घोषणाका क्रममा अध्यक्ष ओलीले सरकार सम्हाल्ने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सम्हाल्ने सहमति भएको थियो । तर यो सहमति तोड्दै ओलीले पार्टीमा समेत हालीमुहाली गरिरहेको आरोप प्रचण्डले लगाएका छन् । साथै, प्रधानमन्त्रीका रूपमा ओली प्रतिगमनको दिशातिर गइरहेको आरोप पनि प्रचण्डको छ । गत शुक्रबार एक सार्वजनिक समारोहमा प्रचण्डले प्रधानमन्त्री ओली प्रतिगमनको दिशातिर गइरहेको आरोपलाई पुष्टि गर्न दुईवटा उदाहरण पेस गरे । पहिलो उदाहरण हो– ‘प्रदेश तह र स्थानीय तहलाई प्रधानमन्त्री ओलीकै सक्रियतामा क्रमशः अधिकारविहीन बनाउँदै लगिनु ।’

    प्रचण्डले संघीयताको मर्म तथा भावनालाई प्रधानमन्त्री ओलीले उल्टो दिशातर्फ लगेको आरोप लगाए । संघीयतालाई तुहाउन प्रधानमन्त्री ओलीले अनेकथरी प्रपञ्च गरेको भन्दै नेपाली कांग्रेस आन्दोलनमा उत्रिरहेका बेला सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्डले लगाएको यो आरोपले नेपाली कांग्रेसको आन्दोलनको औचित्यलाई पुष्टि गरेको छ । यसैगरी, प्रचण्डले दोस्रो उदाहरण दिँदै भने– ‘जनयुद्धका मुद्दा ब्युँत्याएर जनयुद्धमा सहभागी हुनेमाथि शान्ति सम्झौताविपरीत धमाधम कारबाही गर्ने अभियान सरकारले सुरु गरेको छ, यदि यसलाई निरन्तरता दिइने हो भने फेरि जनयुद्ध सुरु हुनसक्छ ।’ समाचार स्रोतका अनुसार नेकपाका अध्यक्ष प्रचण्डले यो दोस्रो उदाहरण हचुवाका भरमा दिएका होइनन् ।

    तीन साताअघि ‘शान्ति प्रक्रियाको नाममा अपराधीहरूलाई उन्मुक्ति दिइयो भने हामी टुलुटुलु हेरेर बस्दैनौं’ भन्दै संयुक्त राष्ट्रसंघको अगुवाइमा अमेरिका, बेलायत, जर्मनीलगायत १० वटा मुलकका राजदूतहरूले सरकारविरुद्ध चेतावनीयुक्त विज्ञप्ति जारी गरेका थिए । यो विज्ञप्ति जारी गर्ने राजदूतहरूको भेला बोलाएर प्रधानमन्त्री ओलीले निर्दोष व्यक्तिको ज्यान लिने, कुटपिट गर्ने, अंगभंग गर्ने र सम्पत्ति लुट्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने र शान्ति प्रक्रियाका नाममा अपराधीहरूले उन्मुक्ति नपाउने प्रत्याभूति दिएका थिए । यो प्रत्याभूतिपछि प्रचण्ड सशंकित बनेका छन् ।
    समाचार स्रोतका अनुसार जनयद्धका नाममा व्यक्तिगत रिसइवी साँधिएका करिब ६ हजार मुद्दा अदालतमा परेका छन् । अदालतमा परेका यी मुद्दाको दुवै पक्षबारे सत्यनिरूपण तथा मेलमिलाप आयोगले अध्ययन गरेको थियो ।

    अध्ययनका क्रममा यी ६ हजारमध्ये २७ सय मुद्दा व्यक्तिगत रिसइवीका प्रमाणसहित आएका छन् । उदाहरणका लागि चितवनको माडीमा यात्रुहरूलाई बसभित्रै थुनेर बम विस्फोट गराइएको घटना सुनियोजित भएको प्रमाण फेला परेको छ । त्यो घटना गराउन निर्देशन दिनेहरूको अडियो रेकर्डसमेत फेला परेको छ । लमजुङका मुक्तिनाथ अधिकारी हत्या केवल आतंक सिर्जनाका लागि मात्रै गरिएको पनि पुष्टि भएको छ । अधिकारीको हत्यामा संलग्न हुनेहरूको पनि प्रमाणसहित पहिचान भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…