• काठमाडौं । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नाराका साथ २०५२ साल फागुन १ गते माओवादीले देशका ६ ठाउँमा एकै साथ हमला गरेको थियो । जसलाई माओवादीले जनयुद्धको आरम्भ भन्दै आएको छ । त्यस दिन काभ्रेको चौंरी, गोरखा च्याङ्लीको कृषि विकास बैंक, काठमाडौंको पेप्सीकोला, रोल्पा होलेरीको प्रहरी चौकी, रुकुम आठबिसकोटको प्रहरी चौकी र सिन्धुलीको गढी प्रहरी चौकीमाथि आक्रमण भएका थिए । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दोस्रो जनआन्दोलनसमक्ष घुँडा टेकेपछि माओवादीले सशस्त्र युद्ध स्थगित गरेको थियो ।

    १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका प्रतिकूल असर मुलुकलाई निकै धेरै परे पनि गणतन्त्रको स्थापनाको जस माओवादीले पाएको छ । सशस्त्र आक्रमण गरेको पहिलो दिनलाई माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । यसपटकको जनयुद्ध दिवस आउन अब दुई दिन बाँकी छ । यतिबेला माओवादी तीन चिरामा विभाजित छ । एउटा चिराको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले, एउटा चिराको नेतृत्व मोहन वैद्य किरणले र एउटा चिराको नेतृत्व नेत्रविक्रम चन्द विप्लवले गरेका छन् ।

    वैद्य र विप्लव नेतृत्वको समुहले २४औं जनयुद्ध दिवस मनाउने सन्दर्भमा विभिन्न कार्यक्रमको तयारी अघि सारेका छन् । तर प्रचण्ड नेतृत्वको चिराले भने अहिलेसम्म जनयुद्ध दिवसको तयारीबारे कार्यक्रम सार्वजनिक गरेको छैन ।

    समाचार स्रोतका अनुसार जनयुद्धलाई निरन्तरता दिएको दाबी गर्दै आएको विप्लव माओवादीले केही दिनअघि बुटवलमा गोप्य रूपमा राष्ट्रिय भेला सम्पन्न गरेको छ । संगठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत २१ वटा टोली बनाएको छ भने १४ वटा भौगोलिक ब्युरो बनाएको छ । यी सबै संगठनलाई आ–आफ्नो अनुकूल हुने गरी जनयुद्ध दिवसका अवसरमा ‘एक्सन’ गर्न केन्द्रले निर्देशन दिएको छ । संविधानबमोजिम निर्माण गरिएका प्रदेशहरूलाई अस्वीकार गर्दै छुट्टै १४ वटा भौगोलिक एकाइ बनाएर संगठन अघि बढाएको विप्लव माओवादीप्रति सरकार आक्रामक रूपमा अघि बढेको छ । जसका कारण विप्लव माओवादीले आफ्ना गतिविधि भूमिगत शैलीमा अघि बढाएको छ । २४औं जनयुद्ध दिवस पनि भूमिगत शैलीमै अघि बढाउन लागिएको विप्लव माओवादी स्रोतले तरुणलाई बतायो । यसैगरी अर्धभूमिगत गतिविधि गर्दै आएको वैद्य माओवादीले खुला रूपमा जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ । देशका ७७ वटै जिल्ला र धेरैजसो पालिकाहरूमा आमसभा तथा प्रचारात्मक कार्यक्रमका साथ जनयुद्ध दिवस मनाउन लागिएको वैद्य माओवादीका एक नेताले तरुणलाई बताए ।

    विप्लव माओवादी र बैद्य माओवादीले धेरै नै महत्वका साथ जनयुद्ध दिवस मनाउन लागिरहेको सन्दर्भमा प्रचण्ड समुहले कसरी मनाउँदै छ त ? भन्ने जिज्ञासा धेरै नै उठेको छ । विप्लव र वैद्य समुहलाई जनयुद्ध दिवस मनाउन अवरोध सिर्जना गर्नेबाहेक प्रचण्डको कुनै योजना नरहेको वाम विश्लेषकहरूको भनाइ छ । एकातिर जनयुद्धलाई धोका दिएको आरोप प्रचण्डले खेपिरहेका छन् भने अर्कोतिर विगतमा जस्तो तामझाम गरेर जनयुद्ध दिवस मनाउन सक्ने पोजिसनमा प्रचण्ड छैनन् । प्रचण्ड नेतृत्वको माओवादी एमालेमा बिलय भएर नेकपा बनिसकेको छ । एमालेले जनयुद्धलाई मान्यता नदिएको मात्रै होइन, एमाले पार्टी पंक्तिले जनयुद्धलाई गम्भीर अपराध ठहर गरेको छ । जनयुद्धको नाममा भएका गैरराजनीतिक हत्या तथा हिंसाका घटनालाई कानुनी दायरामा ल्याएर कारबाही अघि बढाउने अभियानमा सरकार अघि बढिसकेको छ । प्रचण्ड यतिबेला सत्तारुढ पार्टीकै अध्यक्ष हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…