‘अहिले म जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने अर्को फड्को हान्न बेरै मान्दिन ।’
यो अभिव्यक्ति हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०७४ माघ २७ गते दिएका थिए । उनै प्रचण्डले नेकपाको एकता प्रकृया अल्झिरहेको सन्दर्भमा केही दिन अघि भने, ‘आवश्यक परे अर्को माओवादी जन्मिन सक्छ ।’
प्रचण्ड तिनै राजनैतिक खेलाडी हुन जसले केहि समय अघि माओवादी नामका अन्य पार्टीप्रति लक्षित गर्दै भनेका थिए, ‘जनतादेखि भाग्ने अनि लुकेर छिपेर आफ्ना उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नबाट ब्यूँझन म किरणजी र विप्लवजीलाई अपील गर्न चाहन्छु । किनभने क्रान्ति रहर र लहडमा हुँदैन ।’
अहिले एमाले मुख्यालय रहेको धुम्बाराहीमा २४ औँ जनयुद्ध दिवस मनाइरहेका प्रचण्डले ०५२ साल फागुन १ गते राती सशस्त्र ‘जनयुद्ध’को थालनी गर्नु अघि सात बुँदे प्रतिवद्धता जारी गर्दै तत्कालिन नेकपा माओवादीको अध्यक्षको हैसियतमा भनेका थिए, ‘यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिईने छैन ।’
नेपाली राजनीतिका धुरन्धर पात्र प्रचण्ड कति अस्थिर चरित्रका राजनीतिक खेलाडी हुन भन्ने बुझन् उनका यी अभिव्यक्ति काफी छन् । त्यसो त उस्तै परे माओवादी जन्मिने धम्की दिएका प्रचण्डले ०७४ पुस १० गृह जिल्ला चितवनको भरतपुरमा नेपाल बुद्धिजीवी परिषद् र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले संयुक्त रुपमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा भनेका थिए, ‘हामी दुई ठूला वाम पार्टी एमाले र माओवादीले पुल भत्काएर अघि बढेकाले अब पछाडि फर्कने ठाउँ छैन ।’
यस्तै वोलीको जगमा गत जेठ तीन गते एकता भएरै छाडेको थियो । तर, साता अघि मात्र प्रचण्डले चितवनमै पुगेर आफ्नो चरित्रलाई पुनः एक पटक आफैंले स्मरण गर्दै अर्को माओवादी जन्मिने धम्की दिएपछि अहिले नेकपामा मात्र होइन मुलुकमा नै उनको अभिव्यक्तिलाई लिएर सानातिनो भुँइचालो नै गइरहेको छ ।
भलै उनका अन्ध अनुयायीहरु भने यसलाई प्रचण्डको गतिशिलता भन्न रुचाउँछन्, नेकपाका प्रचण्ड निकट एक सचिवालय सदस्य भन्छन्, ‘खासमा हाम्रा अध्यक्ष अस्थिर नै हुन् । तर, त्यसो भनि दिँदा चित्त दुखाउने भएकाले गतिशील हुन भन्नु परेको हो ।’
भनिरहनै पर्दैन, एक समय यस्तो थियो, प्रचण्डको एउटा आव्हानमा हजारौं युवाहरु जीवनको आहुती दिन लामवद्ध भएका थिए । अन्याय, अत्याचार, शोषण, दमन, सामाजिक विभेद अन्त्य हुने आशामा वलीवेदीमा चढ्न तयार भए । अनि प्रचण्ड नेतृत्वको माओवादीले ‘वर्ग दुश्मन’ घोषणा गरेका व्यक्तिहरुलाई हत्या हिंसा गर्न पुग्यो । तर, आज प्रचण्ड चरित्रकै कारण मर्न/मार्न लाम लागेका युवाहरु आफुलाई धिक्कार घोषणा गर्दै एकपछि अर्को गरी मुलधारको माओवादीबाट बाहिरिन समेत पछि परेका छैनन् ।
अवस्था यस्तोसम्म खडा हुँदैछ कि, प्रचण्डसँग रुष्ट बन्ने जमात बढ्दो छ र उनलाई सबैभन्दा ठूलो खतरा कोहीसँग छ भने त्यो विगतमा उनकै पछि लागेका युवाहरुबाट छ । खासमा प्रचण्डले चाहेका भए व्यक्तिमा , समाजमा, सरकारमा, राज्यमा धेरै असल मानकहरु खडा गरिदिन सक्थे । तर, उनले असल मानकहरु निमार्ण गर्नुको साटो बिद्रुपता, पदलोलुपता, अवसरवादीताजस्ता मानकहरु खडा गरिदिए । जसले गर्दा देश आज निकै गलत अभ्यासतिर उन्मुख छ ।
‘एक शब्दमा टिप्पणी गर्ने हो भने प्रचण्डमा सामान्तवादी शासनको एक उत्कृष्ठ चरित्र छ । एक तानाशाहमा हुने सबै गुण उनमा छन्’ , एक जना राजनीतिज्ञ टिप्पणी गर्छन । प्रचण्डको सबभन्दा ठूलो कमजोरी के भने दश वर्षे ‘जनयुद्ध’ लडेर आएका भएपनि उनले नेपाली समाज र युवाहरुलाई फरक संस्कार र संस्कृति सिकाउन सकेनन् । शान्ति प्रकृयामा आएपछि मात्र पनि उनले थोरै इमान्दारिता, सादगीपन्, सर्मपण, अडानको बिम्व कायम गरि दिएका हुन्थे भने समाज यति धेरै निकृष्ठतातिर उन्मुख हुने थिएन ।
निजी भोग विलास नै जीवनको एक सर्वोत्तम आनन्द हो । दुनियाँ भाँडमा गए जाओस्, खान पाए पाओस्, नपाए नपाओस् तर आफुले जीवनका सम्पुर्ण आनन्द तत्कालै लिई हाल्नु पर्छ । सत्ता बाहिर एकछिन पनि बस्नु हुन्न, सत्ता प्राप्तिका लागि जस्तो सुकै तिकड्म, चालबाजी गर्न पनि तयार रहनु पर्छ, आफुले ठाँटबाँठको जीवन बिताउनु नै क्रान्ति हो भन्ने मुल चरित्र प्रचण्डले सिकाए जुन माओवादीहरुले विगत लामो समयदेखि भन्ने गरेका मण्डले, कांग्रेस, एमालेले गर्दै आएकै थिए र गरिरहेकै छन् । परिणाम आज मुलुक असल बिम्वहरु भत्किदै छन् । जसरी जे गरेर भएपनि सत्तामा जानु पर्छ, प्रशस्त धन दौलत कमाउनु पर्छ, त्याग निष्ठा, समर्पण भन्ने केही होइन । त्यसले मानिसलाई कहि पुर्याउँदैन । जे प्राप्त गर्ने हो तत्काल गरि हाल भन्ने गलत मान्यताहरु हावी भइरहेका छन् । यसो हुनुको प्रमुख भागेदार प्रचण्ड नै हुन भन्न अलिकति पनि खुट्टा कमाउन जरुरी छैन ।
शान्ति प्रकृयामा आएपछि मात्र प्रचण्डले खाने, लगाउने तथा आफ्नो दैनिकीमा मात्र थोरै परिवर्तन वा सामान्यपन देखाई दिएका हुन्थे भने उनका लाखौं सर्मथकहरुले त्यही शैली अपनाउने थिए । जसले गर्दा समाज सामान्यपनतिर जाने थियो । तर, प्रचण्डले यस्तो भड्काववादी जीवन देखाए । उनका प्रशंसकहरु पनि त्यसै गर्न थाले । यस घटनाले असल विम्ब खडा हुनु भन्दा गलत मानसिकता हावी भयो । र, पछिल्लो अवस्था त कस्तो सम्म सृजना भइरहेको छ भने विगतमा प्रचण्डलाई भगवान मान्ने जमात नै आज उनलाई ढोंगीका रुपमा अथ्र्याइ रहेको छ ।
प्रचण्डको यो गिरावट सामान्य गिरावट हुँदै होइन । त्यसैले प्रचण्डका जनयुद्धकालीन रुप र आजको रुप नियाल्ने हो भने उनमा कल्पनै गर्न नसकिने बदलाव आएको छ । एमालेसँगको एकताले उनलाई केही हदसम्म उचाई दिएको भएपनि यसले कस्तो रुप लिन्छ त्यो उनले आगामी दिनमा चाल्ने कदमले नै तय गर्नेछ । (प्रकाश खबरबाट)