काठमाडौं, २ फागुन । हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था र आर्थिक उदारवादलाई पार्टीको मूल सिद्धान्त बनाएर डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) र पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) बीच पार्टी एकिकरण भएको छ ।
एकीकरण पछि पार्टीको नाम राप्रपा संयुक्त राखिएको छ । राजतन्त्रको विषयमा बाहेक अरु सिद्धान्तमा कुरा मिलेको थियो । राणा नेतृत्वको राप्रपामा राजतन्त्र पुनर्बहालीको विषयमा विवाद थियो । सुनिल थापालगायतका केही नेताहरूले राजतन्त्रलाई बोक्न नहुने अडान राख्दै आएका थिए ।
तर, एकीकरणका क्रममा राणा पक्ष लचिलो भयो । सिद्धान्तमा लोहनी र चुनाव चिन्ह राप्रपा (प्रजातान्त्रिक) कै हलो कायम गरिएको छ । अर्को महाधिवेशन नभएसम्मका लागि नेकपामा जस्तै दुईजना अध्यक्ष रहनेछन् ।
पदाधिकारीको व्यवस्था तत्कालका लागि रिक्त राखिएको छ । दुवै पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई समायोजन गरिएको छ ।
पदाधिकारी तथा प्रोटोकलमा विवाद देखिएपछि केशरबहादुर विष्ट र दीपक बोहरा एकीकरण घोषणासभामा सामेल भएनन् । अध्यक्षद्वय पछिको प्रोटोकलमा दुई नेताहरूले दावी गरेपछि विष्ट र बोहरा को सिनियर भन्ने निक्र्योल राणा र लोहनीले गर्न सकेका छैनन् ।
पञ्चायत कालमा पनि सँगै रापंस र सँगै सहयकमन्त्री बनेका थिए । बहुदलीय व्यवस्था स्थापनापछि बोहरा चन्द नेतृत्वको राप्रपामा केन्द्रीय सदस्य थिए भने विष्ट थापा नेतृत्वको राप्रपामा प्रवक्ता थिए ।
यस हिसाबले विष्ट नै सिनियर हुन् । तर, विष्टले बीचमा राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरी राष्ट्रिय सभाको सांसद खाए ।
कांग्रेसमा पनि दुई वर्षभन्दा बढी टिक्न नसकेपछि २०५६ मा स्वतन्त्र चुनाव लडे । करिब पाँच वर्ष राप्रपासँगको सम्बन्ध टुटाएका कारण विष्टभन्दा आफू सिनियर रहेको दाबी बोहराको छ ।
कमल थापा नेतृत्वको राप्रपालाई पनि एकीकरणमा सामेल गर्नुपर्ने भएकाले केशरबहादुर विष्टलाई सकेसम्म बाहिरै राख्ने तयारी भएको स्रोत बताउँछ । अभियान टाइम्सबाट ।