• नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको चालू बैठकमा निर्भयपूर्वक राष्ट्रियताको पक्षमा प्रस्तुत हुने एक्ला युवा नेता शङ्कर भण्डारी भएका छन् । गत माघ १७ गतेदेखि शुरु भएको काङ्ग्रेस कार्यसमितिको बैठकमा नेता भण्डारीले नेपाललाई हिन्दूराष्ट्रमा रूपान्तरित गर्न काङ्ग्रेसले आफ्नो एजेण्डा बनाउनुपर्ने र पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मान्यता दिनुपर्ने धारणा जोडदार ढङ्गले राख्दै आएका छन् ।

    सभापति शेरबहादुर देउवाद्वारा उपसभापति मनोनीत विमलेन्द्र निधिद्वारा प्रस्तुत राजीतिक प्रतिवेदनमा धर्मनिरपेक्षतालाई विशिष्ट उपलब्धिका रूपमा उल्लेख गरिएपछि पार्टीभित्र त्यसको व्यापक विरोध हुँदै आएको छ । गत मङ्सिर–पुसमा सम्पन्न महासमितिको बैठकमा करिब साढे सात सय महासमिति सदस्यले हिन्दूराष्ट्रको एजेण्डा काङ्ग्रेसले ग्रहण गर्नुपर्छ भनी दस्तखतसहित सभापति शेरबहादुर देउवासमक्ष निवेदन दिएका थिए ।

    उक्त निवेदनबारे पार्टीले कुनै निर्णय लिनु नपर्ने बुझाइ जनकपुरका विमलेन्द्र निधि र तनहुँका रामचन्द्र पौडेलको छ भने अधिकांश नेता कुनै न कुनै रूपले विषयको टुङ्गो लगाइनुपर्छ भन्ने धारणा राख्दछन् । नेताहरू पूर्णबहादुर खड्का, डा. नारायण खड्का, बलबहादुर केसी, बालकृष्ण खाण, एनपी साउद, पुष्पा भुसाल र गुरुराज घिमिरेलगायतले महासमितिमा गम्भीरताका साथ उठेको मुद्दालाई पार्टीले सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

    डा. नारायण खड्काले ‘होली वाइन’ प्रकरणबारे चर्चा गर्दै त्यसबारे कोरियामा भएको प्रचार गम्भीर भएकोतर्फ बैठकका सहभागीहरूको ध्यानाकर्षण गरेका थिए । बलबहादुर केसीले धर्म, जात र भूगोलको समस्या गम्भीर ढङ्गले उठेको भन्दै पार्टीले यसलाई सम्बोधन गर्नुपर्ने बताएका थिए । युवा नेता गुरुराज घिमिरेले प्रतिवेदनबाट धर्मनिरपेक्षता हटाउनुपर्ने माग गर्दै हिन्दू, बौद्ध, किराँत र मुस्लिम धर्मावलम्बीको भावनालाई समेटेर अघि बढ्नुपर्ने विचार प्रकट गरेका थिए ।

    त्यस्तै, युवा नेता शङ्कर भण्डारीले हिन्दुत्व राष्ट्रको पहिचानसँग जोडिएको स्पष्ट गर्दै महासमितिको बैठकमा साढे सात सय सदस्यले दस्तखत गरी दिएको प्रतिवेदनबारे बैठकले टुङ्गो लगाउन माग गरेका थिए । शङ्करले बैठकमा भनेका छन्, ‘हिन्दूराष्ट्रको एजेण्डा महाधिवेशनमा मूल एजेण्डाका रूपमा जान्छ र, यही विचार बोकेर सभापतिको उम्मेदवार बन्नेलाई विजयी गराउन सकिन्छ ।’ ‘महासमितिको बैठकमा सात सय पैंतीसजनाले हिन्दूराष्ट्रको पक्षमा दस्तखत गरेका छन्, तर योजनाबद्ध रूपमा हामीले हस्ताक्षर अभियान चलाएको भए महासमितिका दुईतिहाइ सदस्यहरूले दस्तखत गर्ने निश्चित थियो,’ नेता भण्डारीले बैठकमा भनेका छन् । उनले काङ्ग्रेसकै सरकार हुँदा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन तथा राष्ट्रिय एकता दिवसमा दिने भनिएको बिदा काटिनु दुःखद् भएको बताउँदै प्रश्न गरेका थिए, ‘काङ्ग्रेसजस्तो पार्टीले यस्तो गर्न मिल्थ्यो ?’

    यसरी शङ्कर भण्डारीले हिन्दूराष्ट्र र राष्ट्रिय एकता दिवसका पक्षमा बोलेपछि अन्य केही नेताले पनि प्रतिवेदनबाट धर्मनिरपेक्ष शब्द हटाउनुपर्ने धारणा राखेका छन् । तर, रामचन्द्र पौडेल र विमलेन्द्र निधि भने राष्ट्रियतासँग जोडिएको यी मुद्दाहरूप्रति अत्यन्त नकारात्मक देखिएका छन् ।

    बीचमा स्थगित भएर माघ २८ गते पुनः शुरु भएको काङ्ग्रेस कार्यसमितिको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने या बुथबाटै छानिएर आउनुपर्ने वैधानिक व्यवस्था गर्ने भन्ने विषयलाई लिएर लामो बहस चलेको छ । वाइडबडी भ्रष्टाचार काण्डले महत्व नपाएको चालू बैठकमा एकथरी नेताहरू केन्द्रीय सदस्यले पनि बुथबाट निर्वाचित भएर आउनुपर्ने प्रावधानको पक्षमा छन् भने अर्काथरीले चाहिँ केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्नुपर्ने धारणा प्रस्तुत गरिरहेका छन् । अन्तिममा के निर्णय हुने हो अहिलेसम्म अनिश्चित छ ।

    त्यस्तै, बैठकमा विवादको अर्को विषय ‘समानुपातिक उम्मेदवार’ बनेको छ । एकपटक समानुपातिक प्रणालीबाट विजयी भई आउने सदस्य तथा पदाधिकारीले अर्कोपटक खुला प्रतिस्पर्धामा सामेल हुनुपर्ने व्यवस्था काङ्ग्रेसको विधानमा हुनुपर्ने धारणा बैठकका अधिकांश सहभागीले राखेका छन् । तर, मानबहादुर विश्वकर्मा र डा. मीन विश्वकर्मालगायतले भने एउटै व्यक्ति पटक–पटक समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउनुपर्ने अडान लिइरहेका छन् ।

    -घटना र विचारबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…