•  

    काठमाडौं । पानी परे हिलो,घाम चर्किए धुलो । यस्तै छ काठमाडौंको हाल । सडकमा सवारीसँग सवारी खाँदिएर गुड्छन् । न आपसमा पालो गर्छन्, न त बटुवाकै वास्ता गर्छन् । फुटपाथमै हुँईकिदै आउने मोटर साईकलवाला त उल्टै पो बटुवालाई आँखा तर्छन् । सार्बजनिक जीवन झनझन् कष्टकर छ । यसलाई सरल बनाउन कोही किन अघि सर्दैनन् । सरकारी निकाय चैं के गर्छन् हँ ?

    झापा बाहुनडाँगीका फणिन्द्र दुलाल काठमाडौंको वातावरणमा निस्सासिए पछि छोराका कौशीबाट शहरको एक चक्कर अवलोकलन गरेपछि एक्लै गुनगुन गर्दै थिए । उनलाई नाति अष्ट्रेलिया उडाएर कहिले खाल्डो छोडौं भएको रहेछ । भन्छन्– ‘म त अरु एकसाता यहीं बसें भने यतै दशदान गरे हुन्छ जस्तो भो हौ !’

    यता महानगरका विज्ञसँग सोध्दा भन्छन्–‘वायु प्रदुषण मानवीय स्वास्थ्यका लागि हानिकारक वस्तु हो । घनावस्ती, बढ्दो शहरीकरण, अत्यधिक यातायातका साधन, उद्योग, कलकारखाना र घरायसी फोहोरको उचित व्यवस्थापन हुन नसके वायु प्रदुषणले साधारण जनजीवनमा ढिलो या चाँडो घातक परिणाम ल्याउँदछ ।’

    सुन्दै झसंग भईने यस्ता कुरा गर्छन् बिषयविज्ञहरु । उनीहरु सुनाउँछन्– ‘अनुचित दूषित बस्तुहरुबाट उत्पन्न हुने ग्याँस धुँवा, धुलो, फोहर मैलाबाट निस्कने तत्व नै वायु प्रदुषण हो र यसले त मानिसको मुटुमै आक्रमण गर्छ । फोक्सोमा त कति हो कति हानी गरिरहेकै छ ।’

    शहरको यस्तो कहालीलाग्दो कथा सुनाउन जाँदा काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरि कुमार श्रेष्ठले भने– ‘काठमाडांैको वातावरण दूषित हुनुको मुख्य कारण त यहाँको थामीनसक्नुको जनघनत्व नै हो ।’ उनले अझ प्रष्ट गर्दै सुनाए– प्रत्येक घरबाट निस्कने फोहोर प्रदूषणको एक प्रमुख समस्या हो । हामीले फोहोर संकलन अभियान नै चलाउने गरेका छौं । फोहोरलाई दूषित हुन नदिने तयारी महानगरपालिकाले गरेको छ ।

    महानगरपलिकाको कुरामा अविश्वास नगर्ने हो भने उसले कुहिने र नकुहिने फोहोर छुट्टयाउने गरेको छ । कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गर्ने र नकुहिनेलाई कवाडीकोमा विक्री गर्ने गरेको सुनाउँछन् त्यहाँका कनिष्ठ कर्मचारी देखि बरिष्ठ अधिकारीसम्म ।

    महानगरलाई यस्तो लाग्छ कि कुनै सचेत नागरिकले सम्बन्धित ठाउँमा मात्र फोहोर फाल्नु पर्ने हो तर भैरहेको छ उल्टो । हुन त हो, कुनै सचेत भनिएको नागरिकले नदीनाला, सार्बजनिक स्थल र जताजतै फोहोर फाल्न नहुने हो । तर करोडौंको महल,उति नै दाम पर्ने गाडी,थामीनसक्नुको चुरीफुरी गर्ने कथित सचेत नागरिक नै सबैभन्दा बढी फोहोर उत्पादन गर्छन्, अनि जताजतै फाल्छन् । नदी सफाई अभियानमा चैं उनीहरु कहिल्यै पनि झुल्किँदैनन् ।

    महानगरपालिकाले चैं २० माइक्रोनको प्लाष्टिकमाथि प्रतिबन्ध लगाएको सुनाउने गरेको छ । तर शहरवासीको मनपरी तरिका देख्दा महानगर पनि कानूनी कारबाहीले मात्र समस्या निराकण नभई स्वविवेकले मात्र सचेतना फैलिने रहेछ भन्नेमा पुगेको बुझिन्छ ।

    शहरको वायु प्रदुषणको कारणबारे अरु कुरा बुझ्न खोज्दा महानगरका श्रेष्ठले अझै सुनाए–‘पुराना सवारी साधन जसले धुवाँधुलो अत्यधिक फाल्छन्,तिनलाई नियन्त्रण गर्नुपर्छ ।’ उनी अलिक झोक्किए पनि र भने– ‘गाडी चलाउने त अलिक कण्डिसनको गाडी चलाउनु नि !’
    त्यसो त महानगरका अधिकारीहरुलाई यस्तो पनि लाग्दोरहेछ कि २०७२ सालकोे भूकम्पबाट भएको विनाश र त्यसपछिको पुनः निर्माण पनि त धुँवाधुलो बढ्नुको एक प्रमुख कारण हो नि ! अझ मेलम्चीको पानी वितरण गर्न भनेर जसरी जथाभावी सडक खन्ने काम भैरहेको छ, त्यो पनि त प्रदूषण बढाउनमा कम जिम्मेवार छ र ?

    महानगरका उनै श्रेष्ठ थप्छन्–‘फोहोर संकलनको साथै महानगरले वृक्षरोपण पनि गरिरहेको छ । हरियाली बढाउन सकियो भने अलिक राहत होला भनेर बालाजु, शंखपार्क सहित काठमाडौंका ३२ वडाका खाली जग्गामा पार्क निर्माण भैरहेको छ ।’

    महानगरले केही न केही समाधानको उपाय गरिरहेको देखिन्छ पनि । उसले वातावरण शुध्दीकरण हुन्छ कि भनेर प्रदूषण नियन्त्रण गर्न नागरिकलाई झक्झक्याएको पनि छ । शहरका कुनाकुनामा सकेसम्म सार्वजनिक ट्वाइलेट थपेको छ । अझ भर्खरैदेखि त सडक सफा गर्न भनेर विद्युतीय जेट मेशिन नै ल्याएको छ महानगरले । सरसफाई त गरिरहेकै छ त्यसमाथि नागरिकहरुलाई ओहोरदोहोर गर्न सजिलो होस् भनेर महानगरपालिकाले करौंडौ खर्च गरेर साझा यातायात अभियान संचालन गरेको छ । तैपनि आममानिसको गुनासो चैं शहरमा घुमफिर गर्दा रुमालले नाक छोप्नु नपरे हुन्थ्यो भन्ने नै सुनिन्छ ।

    यही प्रदूषणकै बिषयमा अर्का विज्ञ वातावरण विभाग पुल्चोकका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने त अर्को अत्यासलाग्दो कथा पो सुनाए । लामिछानेको कथन छ–‘अहिलेसम्मको सरकारी आँकडा अनुसार लुम्बिनीलाई नेपालको सबैभन्दा प्रदूषित शहरमा मापन गरिन्छ त्यसपछि त काठमाडौंको रत्नपार्क नै हो उच्च प्रदूषित स्थल ।’

    नियन्त्रण नै हुन नसकेको प्रदूषणको मारमा को मात्र पो परेको छैन र ! हिँडुन् कि गुडुन् जो पनि यसको शिकार भै नै रहेका छन् । यसले मौका पायो भने कसैलाई पनि बाँकी राख्दैन रहेछ !

    यही समस्याका बारेमा जिज्ञासा राख्दा काठमाडौं वीर अस्पतालका मुटु विभागका (मेडिसिन रेजिडेन्ट) डा. दीग्विजय कुमार ठाकुरले सुनाए– ‘धुवाँ प्रदूषणका कारण काठमाडौंमा सबैभन्दा बढि दमका विरामी फेला परेका छन् । यसको कारण अव्यवस्थित प्रदूषित यातायात हो, जसले दमको समस्या हुनेगर्छ ।’ डाक्टर ठाकुरका भनाईमा बीर अस्पतालमा दिनहुँ फोक्सोका विरामी भर्ति हुन ओईरिन्छन् । त्यस्ता बिरामीलाई वायु प्रदुषणले फोक्सोको तन्किने प्रक्रिया (इलास्टीसिटी) कम हुने, अक्सिजन लिन नसक्ने जस्ता अप्ठ्याराहरु देखिएका छन् ।’ अझ उनी त यसो पनि भन्छन्–‘वायु प्रदुषणका कारण छालाको क्यान्सर पनि फैलिने खतरा हुन्छ । शहरमा दमका बिरामी धेरैजसो उमेरले ४० टेकेका देखि ६० नकटेका जचाउन धाउने गरेका ती डाक्टरले सुनाए ।

    विज्ञ र विशेषज्ञहरुका अनुभव सुन्दा यस्तो देखिन्छ महानगरपालिकाको सबैभन्दा पहिलो काम प्रदूषण हटाउनु नै हो । अझ यसमा त केन्द्रीय सरकारले समेत निधार खुम्च्याउन विलम्ब गर्नु मनासिव देखिँदैन । जतिसक्दो चाँडो वातावरणमा अतिक्रमण गरिरहेको प्रदूषण भगाउन जरुरी छ । धनाढ्य र नवधनायढ्य वर्गले पनि सवारी साधनको भड्किलो प्रयोग नगरेकै वेश । नेपाल प्रहरीले आफ्नो ट्राफिक महाशाखालाई सिट्ठी फुक्नमात्र नलगाएर प्रदूषण फैलाउने गाडीहरु भटाभट पक्रिँदै डाँडा कटाउँदै गर्न अह्राउन खटाउन किन ढिला गरेको हो ? सबै निकायका कान ठाडा भए त कुनै पनि समस्या निमिट्यान्न पार्न कति नै बेर लाग्छ र !

    यसो भएमा झापा बाहुनडाँगीका फणिन्द्र दुलाल पनि त रहर नपुन्जेल बस्दा हुन् काठमाडौं !

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…