काठमाडौँ — २०७२ वैशाख १२ गतेको भूकम्पले हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जीवनमा नयाँ मोड ल्यायो । उनीहरू कलाकारिताबाट कल्याणकारितातर्फ मोडिए ।
नेपाल टेलिभिजनबाट प्रसारित ‘मेरी बास्सै’ टेलिशृंखलाबाट जमेको यो जोडीले विनाशकारी भुइँचालोको प्रत्यक्ष अनुभव भने गर्न पाएन । त्यतिखेर उनीहरू काठमाडौंदेखि झन्डै ८ हजार माइल टाढा अमेरिकाको न्युयोर्क राज्यको सिराक्युज सहरस्थित एक नेपालीको घरमा थिए ।
एक महिना लामो सांगीतिक यात्राका क्रममा ९ वटा सोमार्फत अमेरिकामा रहेका सयाँै नेपाली र नेपालीभाषी भुटानीसमक्ष प्रस्तुति दिइसकेका थिए । उनीहरूको टोलीमा प्रमोद खरेल, पशुपति शर्मा, संगीता थापामगर लगायत कलाकार थिए । भोलिपल्ट बिहानै सेन्ट लुइस राज्यतर्फको हवाई यात्रा निर्धारित थियो । अस्ट्ेरलियामा बसोबास गरिरहेकी कुञ्जनाकी बहिनीले भूकम्पको खबर दिइन् ।
टेलिभिजन खोलेर हेर्दा काठमाडौं तहसनहस भएको दृश्य प्रसारण भइरहेको थियो । त्यसको एक महिनाअघि मात्र ‘मेरी बास्सै’ को एक शृंखलामा भूकम्पकेन्द्रित प्रस्तुति गरेका उनीहरूलाई ती दृश्य सपनाझैं लाग्यो । लगत्तै उनीहरू एक वर्ष पनि नपुगेकी छोरी सुविहानीलाई सम्झेर पिरोलिए ।
दिदी–भिनाजुको रेखदेखमा रहेकी छोरी र परिवारका अन्य सदस्य सकुशल भएको थाहा पाएपछि मात्र ढुक्क भए ।
अमेरिकामा छँदै उनीहरूले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आहवान गरिसकेका थिए । नेपाल आएको भोलिपल्टै त्रिपाल, म्याट, दालचामल, चाउचाउलगायत राहत सामग्री लिएर सिन्धुपाल्चोक, नुवाकोट, धादिङ गए । स्थिति भयावह थियो ।
भूकम्पपीडितले बास र गाँस दुवै गुमाएका थिए । नेपाल सरकारको सरसफाइ दूतसमेत रहेका सीताराम र कुञ्जनाले सहयोग रकम शौचालय निर्माणमा खर्चिने सोच बनाएका थिए । काभ्रेको डाँडागाउँका अल्पसंख्यक पहरी जातिको अवस्था देखेपछि उनीहरूका लागि एउटा बस्ती नै बनाइदिने संकल्प गरे । अमेरिकामा जम्मा भएको १७ लाख रुपैयाँ सिन्धुपाल्चोकको पीपलडाँडामा १० वटा र नुवाकोटको ओखरपौवामा ४४ परिवारका लागि शौचालय तथा सोही जिल्लाको एक स्कुल भवन बनाउँदा सकिइसकेको थियो ।
जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं उनीहरू एकातिर सहयोग रकम जुटाउन र अर्कोतिर स्वयंसेवकको दस्ता तयार गर्नतिर लागे । दुवै जना दिलोज्यानले निर्माण कार्यमा लागे, जसले अरूलाई पनि प्रेरित गथ्र्यो । दुई महिनाभन्दा बढी समय लगाएर करिब ६० लाख लागतमा पहिलो एकीकृत नमुना पहरी बस्ती निर्माण भयो । अरू भएको भए सायद यात्रा यहीँ टुंगिन्थ्यो ।
यो जोडीले सिन्धुपाल्चोकको गिरानचौरस्थित तामाङ बाहुल्य गाउँमा अर्को नमुना बस्तीको निर्माण गर्ने निधो गर्यो । सहयोग रकम उठाउने प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन धुर्मुस–सुन्तली फाउन्डेन स्थापना गरियो । तगाराहरू सामुन्ने थिए । कलाकारले पनि कहीँ घर बनाउँछ भनेर सुरुमा शंका गरिएको कुञ्जनाले बताइन् । ‘सीतारामजीहरूलाई लखेटियो तर बस्ती बनाएरै छाड्छु भनेर उहाँ लाग्नुभएको थियो,’ उनले भनिन् ।
त्यसरी बनाइएका घरलाई सरकारले मान्यता नदिने हो कि, सरकारी ऋण नपाइने हो कि भन्ने गाउँलेको चिन्ता थियो । ती चुनौतीलाई चिर्दै आफैं खटेर गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले १०० रोपनी जग्गामा ६५ वटा घर बनायो ।
धारा, बगैंचा, शौचालय र सामुदायिक भवनसहितको उक्त बस्ती २०७३ कात्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट भव्य समारोहबीच हस्तान्तरण गरियो । ‘वास्तवमा यसरी सामूहिक रूपमै बस्नुपर्ने रहेछ भन्ने सबैलाई महसुस भएको छ,’ बस्तीको सञ्चालक समितिका अध्यक्ष रामबहादुर तामाङ भन्छन्, ‘छरछिमेकमा केही पर्दा तत्कालै सबै जुटछन् ।’
सीताराम या कुञ्जनासँग निर्माणसम्बन्धी रत्तिभर अनुभव थिएन । धुर्म‘स–सुन्तली फाउन्डेसनको अभियान र निर्माण कार्यमा सामेल हुँदै गर्दा उनीहरूले सिक्दै गए । ती आयोजनाको शिलान्यास हुँदा निर्माण सम्पन्न हुने समयसीमा तोकिएको थियो । स्वयंसेवक बिहान ६ नबज्दै आयोजनास्थलमा लामबद्ध भइसक्थे ।
‘५० वटा घर बनाउनुपर्ने छ भने हामी १० वटा समूह बनाउँछौँ, पहिला आफ्नो जिम्मेवारी पूरा गर्नेलाई थप काम लगाउँछौँ,’ सीताराम भन्छन्, ‘यो सबै ऊर्जा र अनुशासनका कारण सम्भव भएको हो ।’ विदेशमा बस्ने नेपालीले पठाएको चन्दाबाट बनेका छन् अधिकांश आयोजना । त्यस्तो ‘पब्लिक मनी’ दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको उनी बताउँछन् । ‘हाम्रा आयोजनामा नेपालीका भावना जोडिएका छन्, हरेक सामानको खरिदमा मै जान्छु र अन्तिमसम्म पनि मोलमोलाइ गर्छु,’ उनी भन्छन् ।
सोलुखुम्बुको नेचाबेतघारी गाउँमा जन्मिएका उनको परिवार २०४८ सालमा झापाको गौरादह बसाइँ सर्यो । निर्वाहमुखी किसान परिवारमा हुर्किएका उनी सानैदेखि सहयोगी थिए । ‘कक्षा ७ देखि हलो जोत्दै पढेँ,’ सीताराम भन्छन् । चित्रकलाका सौखिन उनी उच्च शिक्षाका लागि काठमाडाैं आएपछि हास्य कलाकार बने ।
पत्नी कुञ्जनाका अनुसार काममा दत्तचित्त हुने स्वभावले सफलता मिलेको हो । ‘म अलिक रमाइलो गर्नुपर्ने खालकी छु,’ उनले भनिन्, ‘उहाँ त अभिनय गर्दा मात्रै हँसाउने हो । अरू बेला काममा केन्द्रित रहनुहुन्छ ।’
हालैको एक मध्याह्न पुरानो बानेश्वरस्थित धुर्मुस–सुन्तली फाउन्डेसनको कार्यालय पुग्दा एक दिनअघि मात्र भरतपुर नगरपालिकासँग भएको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्झौताको चर्चा हुँदै थियो । ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन बनाउनेदेखि साइट अफिस खोल्नेलगायत कामको चटारो थियो । धेरैले यो जोडीलाई राज्यले गर्नुपर्ने काम गरेको भन्ने टिप्पणी गरेका छन् ।
हुन पनि ठूल्ठूला परियोजना समयमा नटुंगिने र भ्रष्टाचार हुने क्रम बढिरहेका बेला उनीहरूले मानवीय सहायताको उदाहरणीय पहल गरेका छन् । ‘यो काम राज्यले नै गर्ने हो, हाम्रो कामले राज्यमाथि झन् दबाब परेको छ । त्यसमाथि राज्यले काम नगर्दा हामीले कस्ता मान्छे चुनेर पठाएछौं भन्नुपर्ने अवस्था आएको छ,’ सीताराम भन्छन् ।