• फागुन ६, काठमाडौं । हिन्दु राष्ट्र र संघीयता बारे जनमत संग्रह माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सरकारलाई चैतसम्मको अल्टिमेट दिएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले जनमत संग्रहको माग गरेका छन्।

    राप्रपाले सरकारसमक्ष २२ बुँदे माग प्रस्तुत गर्दै धर्म निरपेक्षता खारेज गर्न, संघीयता बारे जनताको प्रत्यक्ष जनमत बुझ्न जनमत संग्रह गर्न, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न माग गरेको छ।

    फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर राप्रपा काठमाडौंसहित देशका सबै जिल्लामा जुलुससहित आफ्ना मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गरेको अध्यक्ष थापाले जानकारी दिए।

    राप्रपाले आफ्ना मागका विषयमा फागुन महिनाभर पर्खने र मागहरु सम्बोधन नभए चैत्रको पहिलो साताबाट संघर्षमा उत्रले समेत उनले जानकारी दिए यसैबीचमा राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा समेत गर्ने भएको छ। यसअन्तर्गत् फागुन १५ गतेदेखि ३० गतेसम्म पार्टीका विभिन्न पधादिकारीले मेचीदेखि महाकालीसम्म यात्रा गर्नेछन्।

    २२ बुँदे अल्टिमेटको पूर्णपाठ

    (१) संविधानमा रहेको 'धर्मनिरपेक्षता' खारेज गरियोस् तथा पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गरियोस्।

    (२) राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस्।

    (३) संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस्।

    (४) देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता सुदृढ तुल्याईयोस्।

    (५) संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरियोस् तथा धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गरियोस्।

    (६) वेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गरियोस्। यस क्रममाः
    (क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरि दीर्घकालिन आर्थिक विकास योजना संचालन गरियोस्।
    (ख) कम्तिमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वन गरियोस्।
    (ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गरियोस्।

    (७) भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस्। यस क्रममाः
    (क) विदेशमा लुकाएर राखिएका कालोधन देशभित्र ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोवार संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कार्वाही गर्ने काम तदारुकताका साथ कार्यान्वयन गरियोस्।
    (ख) सर्वोच्च अदालतको आदेश अनुरुप एनसेलले तिर्नुपर्ने पुंजिगत लाभकर लगायत सबै कर असुली गरियोस् तथा करछली प्रकरणमा संलग्न सबैलाई कानुन बमोजिक कार्वाही गरियोस्।
    (ग) ३८ क्विण्टल तथा ३३ किलो सुन तस्करीको छानविन गरि दोषीलाई कार्वाही गरियोस्।
    (घ) विना प्रतिस्पर्धा बुढिगण्डकी जलविद्युत अयोजना निर्माण र सञ्चालनको लागि दिईएको ठेक्का खारेज गरि उक्त आयोजना नेपालले नै निर्माण गरियोस्।
    (ङ) मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरि दोषीलाई कार्वाही गरियोस्।
    (च) नेपाल वायुसेवा निगमले खरिद गरेको वाईड बडि जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरि कानुन बमोजिम कार्वाही गरियोस्।
    (छ) २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पतिको छानविन गर्न न्यायिक छानवि आयोग गठन गरियोस्।
    (ज) राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्ने।

    (८) महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरियोस्।

    (९) गौरक्षाको प्रभावकारी कार्ययोजना संचालन गरियोस्।
    यस क्रममाः
    (क) कानुनद्वारा दण्डनीय रहेको गौहत्यालाई नियन्त्रण गरियोस।
    (ख) प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तिमा एउटा गौशाला निर्माण गरियोस्,

    (१०) हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समुहलाई समेत सबै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण गरियोस्।

    (११) दश कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गरियोस्।

    (१२) पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्त िर प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिईयोस।

    (१३) राष्ट्रिय राजस्वबाट तलब खाने कर्मचारी र शिक्षकहरुले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरियोस्।

    (१४) सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्वा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरियोस्। यस क्रममा पशुपतीनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरियोस्।

    (१५) प्रशासन, शैक्षिक संस्था, कुटनितिक नियोग, संवैधानिक अंग जस्ता नियकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभावबाट मुक्त राख्ने तथा पार्टीगत आधारमा भागवण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्य अन्त गरियोस्।

    (१६) छिमेकी मित्रराष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरि नयाँ सन्धी गरियोस् तथा भारतसँगको खुला सिमा व्यवस्थित र नियमन गरियोस्।

    (१७) कालापानी, लिपुलेक र सुस्ता लगायतका क्षेत्रमा अतिक्रमित नेपाली भूमी फिर्ता लिन कुटनीतिक पहल गरियोस्।

    (१८) नागरिकता सम्बन्धि विवाद सधैंका लागि अन्त गर्नः
    (क) प्रत्येक नेपालीले सहज र सरल ढंगबाट नागरिकता प्रमाणपत्र पाउन सक्ने व्यवस्था कायम गरियोस्।
    (ख) गैर नेपालीले समेत नेपाली नागरिकता प्रमाणपत्र लिएको सन्दर्भमा छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस् तथा गैर नेपालीले लिएको नागरिकता खारेज गरियोस्।

    (१९) महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गर्न सशक्त कदम चालियोस्।

    (२०) कानुनद्वारा निषेधित सबै प्रकारका जातीय विभेद र छुवाछुत कडाईका साथ कार्यान्वयन गरियोस् तथा जातीय आधारमा मन्दिर प्रवेशमा लगाईएको भेदभावलाई हटाईयोस्।

    (२१) स्थानीय तहमा लगाएका अव्यवहारिक करहरु तथा तीन तहका सरकारबाट लगाईएका दोहरो कर तत्काल खारेज गरियोस्।

    (२२) विदेशमा रहेका नेपाली नागरिकहरुले समेत मतदान गर्न पाउने गरि आवश्यक व्यवस्था आगामी आम निर्वाचनबाट सुरु गरियोस्।

    कमल थापा
    अध्यक्ष
    राप्रपा अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…