• उर्लाबारी । सार्वजनिक मावि उर्लाबारी ९ को स्वर्णजयन्तीको पूर्वसन्ध्यामा समाजसेवी सुन्दर श्रेष्ठले एकल लगानीमा निर्माण गरिदिनुभएको मञ्चको उद्घाटन हुने भएको छ । एक भब्य समारोहका विच उद्घाटन हुने विद्यालयका प्रअ टंक दुलालले बताए ।
    फागुन १६ र १७ गते हुने स्वर्ण जयन्तीको लागि फागुन ८ मञ्च उद्घाटनको कार्यक्रम छ । सोहि कार्यक्रमलाई अझ आकर्षक बनाउन उर्लाबारी नगर स्तरीय छात्र÷छात्रा फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
    समाजसेवी सुन्दर श्रेष्ठले आफ्नो एकल लगानीमा विद्यालयलाई निर्माण गरिदिनुभएको मञ्चको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ,प्रअ दुलालले भने ,‘स्वर्ण महोत्सवको दिन श्रेष्ठलाई विद्यालयले सम्मान गर्ने कार्यक्रम रहेको छ । ’
    सुन्दर श्रेष्ठले उर्लाबारी ९ मा धेरै सामाजिक काम गरेका छन्,जसको जति नै प्रशंशा गरे नि कमि नै हुन्छ ।



    को हुन सुन्दर ?

    कतिपयले आफूले गरेको विकासलाई देखाएर चुनाव जित्छन् अनि कतिपय चाँहि विकास गर्ने बाचा देखाएर जनप्रतिनिधि बन्छन् । विकासको बहाना बनाएर चुनाव जितेपछि त्यतातिर फर्किएर पनि नहेर्ने चलन नभएको पनि होइन । यही कोही यस्ता पात्र पनि छन्, जो चुनावको उम्मेदवार पनि होइनन् र कालो धन लुकाउन गरेका पनि होइनन् । तर, उनीहरु विकास र गाउँको उन्नति प्रगतिका लागि जीवन समर्पण गर्छन् ।

    मोरङको उर्लाबारी ९ का सुन्दर श्रेष्ठ, यस्तै व्यक्तिमा पर्छन्, जसको काम नामजस्तै सुन्दर छ । गाउँको स्तरोउन्नतिका लागि उनी आफ्नो नीजि खर्चमा नै समाजसेवामा तल्लिन छन् । कहिले सडक बत्ति जडान त कहिले विद्यालयमा सहयोग, खेलकुद र बाटोघाटोको निर्माणमा उनको योगदान रहँदै आएको छ ।

    उनलाई कुनै चुनावी एजेन्डा बनाउनु पनि छैन, चुनावका बेला यो गर्छु, त्यो गर्छु भनेर बाचा गर्नेका लागि उनले गरेको यस्ता कामले चुनौति नै थपिदिएको छ । विकासका लागि इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ भन्ने उदाहरण बनेका छन्, सुन्दर । जसले आफ्नै लगानीमा गाउँ नै सुन्दर अर्थात समृद्ध बनाउँदै छन् । यो यात्रामा सकुन्जेल अघि बढ्ने सोच रहेछ, उनको । सुन्दर भन्छन्, ‘सकुन्जेल गाउँको विकासमा लाग्ने हो, नसकेका दिन एक थोक पक्कै हुन्छ । हामीले राम्रो जग बसाउन सक्यौं भने गाउँले छिट्टै मुहार फेर्नेछ ।’

    विद्यालय, गाउँका सडक बत्तीमा उनले सहयोग गरेका छन् । आफ्नै लगानीमा बाटो, खेलकुद तथा कला संस्कृतिका क्षेत्रमा पनि उनको सहयोग छ । सकारात्मक सोचका साथ सहयोगी हात लिएर अएकालाई उनले रित्तो हात फर्काउँदैनन् । उर्लाबारी ९ को प्रभात निम्न माविमा उनले मञ्च निर्माण र विद्यालय भवनमा रंगरोगन समेत गरिदिएका छन् ।

    उर्लाबारी ९ कै राजघाट निमाविमा विद्यालयको घेराबारा पछि गेट निर्माण उनैले गरिदिएका हुन् । गाउँका सडकका पोलमा सडकबत्ति जडान गरिदिएपछि रातको समयमा समेत हिँडडुल गर्नुपर्नेका लागि सहजता भएको छ । अब विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याउने उनको योजना छ ।

    उनले आफ्नै लगानीमा गाउँसम्म बाटो खोलिदिएपछि अहिले कोही विरामी परे भने बोेकेर लैजानुपर्ने बाध्यता हटेको छ । घरको आँगनसम्मै एम्बुलेन्स पुग्छ ।

    हुन त उनको विगतले पनि उनलाई समाजसेवा तर्फ लाग्न प्रेरित गर्यो । घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै उनी काठमाडौं हानिए । काठमाडौंमा निर्माण र हाउजिङ्ग व्यवसाय गरिरहेका छन् । सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिकमा ज्यालामजदुरी पनि गरे । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि मात्रै उनको जीवनस्तरमा परिवर्तन आयो ।

    परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जन्मिएर हुर्किएका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा नै बित्यो । तीन दाजुभाई मध्ये कान्छा उनले पढाई राम्रो गर्न सकेनन् । पढाइ बिग्रिएपछि एसएलसी दिएर उनी काठमाडौं हिँडेका थिए । काठमाडौंमा गरेको कमाईले उनले पराल र सन्ठीको घर भएको ठाउँमा काठको घर हुँदै पक्की घर बनाए ।

    अहिले पनि उनले आफूले काम गर्दै आएको निर्माण क्षेत्र र हाउजिङ व्यवसायबाट आएको पैसा नै गाउँको विकासमा लगानी गर्दै आएका छन् । उनको सोच भावी सन्ततीले दुःख भोग्न नपरोस भन्ने नै हो । मानिसहरु आफ्नो गाउँठाउँलाई बिर्सिदिन्छन्, सुविधा खोज्दै अन्यत्र जान्छन् । तर उर्लाबारी—९ का युवा समाजसेवी सुन्दर श्रेष्ठ त्यसका अपवाद हुन् । भक्तपुरको सल्लाघारीमा बस्दै आएका सुन्दर काठमाडौंमा कडा परिश्रम गर्छन्, अनि त्यसको प्रतिफलको केही हिस्सा गाउँको विकासमा खर्चिन्छन् ।

    गाउँको पीडामा सक्दा मल्हम पट्टी लगाउने प्रयास हो मेरो । सुन्दर भन्छन्, ‘इच्छा शक्तिका साथै सबै लागिपर्ने हो भने समृद्धी खोज्न अन्यत्र भौतारिनु पर्दैन ।’ राजधानीलाई कार्यथलो बनाएका उनले आफ्नो गाउँमै बसेर केहि गर्ने योजना बनाएको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…