• काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट बुद्धिजीवीले कांग्रेस नेताहरू गाउँ गएर आफ्ना गुटका कार्यकर्ता मात्र भेट्ने गरेको आरोप लगाएका छन्।

    प्रजातन्त्र दिवसको अवसर पारेर केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आयोजना गरेको ‘कांग्रेसको अबको जिम्मेवारी विषयक’ कार्यक्रममा उनीहरूले कार्यकर्ताहरू पनि नीतिभन्दा व्यक्तिमुखी भएकाले कांग्रेसकाे भूमिका कमजाेर देखिएकाे बताए। ‘नेताहरू जिल्ला गएर कसलाई भेट्छन् भन्ने ठूलो प्रश्न हो’, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘जिल्लामा जान्छन्। आफ्ना गुटका कार्यकर्ता भेट्छन्। रामचन्द्रजी जाँदा शेरबहादुरजीका कार्यकर्ता आउँदैनन्, शेरबहादुरजी जाँदा रामचन्द्रजीका हुँदैनन्। नेताहरू गुटमै रमाइरहेका छन्।’

    विभाजित मानसिकताले नेताहरू अघि बढे कांग्रेस यो अवस्थाबाट माथि उठ्न नसक्ने उनको भनाइ थियो। ‘यस्तै अवस्था रहे विभाजित मानसिकताबाट कांग्रेस माथि पुग्न सक्दैन’, उनले भने, ‘एकता भन्दैमा शेरबहादुरजी र रामचन्द्रजी एक हुने भन्ने हैन। पार्टीका संरचना र विचार एक हुनुपर्छ।’

    उनले अहिलेकै नेतृत्वबाट पार्टी नचल्ने दाबी गरे। तर अहिले नै नयाँ पुस्ताले नेतृत्व पाउने अवस्था पनि नरहेको बताए। ‘कांग्रेसमा तीन पुस्ता छ। पहिलो शेरबहादुरजी र रामचन्द्रजी जस्तो त्यागी, अर्को शशांक र शेखरजस्तो वंशको र अर्को गगन थापाहरू जस्तो नागरिकको प्रतिनिधित्व गर्ने’, उनले भने, ‘तर पार्टीको चुनाव हुँदा त्यागी र वंशका आधारमा आएकाले जित्छन्।’ उनले प्रमुख प्रतिपक्षीले सरकारको कमजोरी देखाउन नसकेको टिप्पणीसमेत गरे।

    यस्तै अर्थविद् स्वर्णिम वाग्लेले अब कांग्रेसले जनतालाई स्पष्ट मार्गचित्र पनि देखाउनुपर्ने धारणा राखे। यसका लागि क्यालेन्डर बनाएर कांग्रेस अघि बढ्नुपर्ने बताए। सरकारका विभिन्न कमजोरी पनि कांग्रेसले उठाउन नसकेको भन्दै दुःख व्यक्त गरे। ‘पछिल्लो १० वर्षमा गैरकांग्रेसले ७५ प्रतिशत सत्ता चलाएको छ। कांग्रेस लामो समयपछि सत्तामा बस्दा केही गर्न नसक्ने भन्ने आम जनमानसमा भ्रम छ’, उनले भने, ‘यसलाई कांग्रेसले चिर्न सक्नुपर्छ।’

    कार्यक्रमा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा.केदारनरसिंह केसीले पार्टी विधान र नीतिअनुसार चल्न नसक्दा यो अवस्थामा आएको बताए। पार्टी सुधारका लागि अब नयाँ पुस्तालाई पनि अवसर दिनुपर्ने उनले धारणा राखे।

    छलफलमा उठेका जिज्ञासाको उत्तर दिँदै पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी संगठन अगाडि बढाउने विषयमा आफूहरू पार्टी गुटभन्दा माथि उठ्ने बताए। उनले पार्टीको बैठकमा छलफलमा उठेका विषय राख्ने प्रतिबद्धतासमेत जनाए। नेता जोशीले पार्टीभित्र परिवर्तनको खाँचो रहेको औँल्याए। ‘पार्टी यही हिसाबले चल्दैन’, उनले भने, ‘पार्टीभित्र विधि पालना र परिवतर्नको खाँचो छ।’

    कार्यक्रममा राजेन्द्र दाहाल, दीपक पाण्डे, राजु नेपाल, हरिदर्शन श्रेष्ठ, राजेन्द्रराज पौडेललगायतले बोलेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…