• फागुन ९, काठमाडौं । राष्ट्रियसभामा बुधबार कर्मचारी समायोजन विधेयक पारित हुँदै थियो। तर सभामा रोचक र ‘असंसदीय’ अभ्यासले सत्तापक्षको भाँडभैलो छताछुल्ल पोखियो।

    कर्मचारी समायोजन विधेयकमाथि सत्तापक्षकै सांसद्‍ रामनारायण बिडारीले संशोधन राखेका थिए। संशोधन प्रस्ताव फिर्ता लिने बेला बिडारी सभामा अनुपस्थित भए।

    उनले संशोधन फिर्ता नलिएपछि पहिलोपटक सभामा सरकारी विधेयकमा सत्तापक्षकै सांसदको संशोधनमाथि मतदान भयो। रोचक पक्ष त, विपक्षी कांग्रेसका सांसदले बिडारीको प्रस्तावको पक्षमा मतदान गरे भने सत्तापक्षका अन्य सांसदले विपक्षमा।

    सत्तापक्षको स्पष्ट बहुमत रहेका कारण बिडारीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संशोधन प्रस्ताव फिर्ता लिई दिन सत्तापक्षका बिडारीसँग आग्रह गर्दा उनी बैठकमा नदेखिएपछि सत्तापक्षकै सांसद पनि आश्चर्यमा परेका थिए।

    ‘यत्रो कानुन बुझेको मान्छेले किन त्यस्तो गर्नुभयो भन्ने हामी नै आश्चर्यचकित भयौं,’ नेकपाका एक सांसदले भने, ‘सरकारको विजनेशमा सत्तापक्षका सांसदको प्रस्तावमाथि मतदान हुनु यो त बेइमानी र लाजमर्दो विषय हो।’

    संसदीय प्रणालीमा सरकारको विजनेशमा सत्तापक्षकै सांसदको संशोधन प्रस्तावमाथि मतदान गरिदैंन। तर राष्ट्रियसभामा बुधबार भएको घटनाले संसदमा सत्तापक्षको ‘भद्रगोल’ को अवस्था देखिएको नेकपाकै सांसद बताउँछन्।

    राष्ट्रियसभा बैठकअघि सामान्य प्रशासनमन्त्री पण्डितले बिडारी लगायतका संशोधन दर्ता गर्ने सांसदसँग सामूहिक छलफल पनि गरेका थिए। राष्ट्रियसभाको बैठक परिसरमा भएको छलफलमा मन्त्री पण्डितले फागुन १० गतेभित्र विधेयक पारित गर्नुपर्ने बाध्यता बुझिदिन भन्दै नमिलेका विषय निजामती कर्मचारी विधेयकबाट मिलाउने बचन दिएका थिए।

    विधेयक पारित गर्दै गर्दा सत्तापक्षीय संघीय समाजवादी फोरमकी सांसद्‍ प्रमिला कुमारीको अडान पनि गजबकै देखियो। उनले विधेयकमाथिको आफ्नो संशोधन फिर्ता लिन मानिनन् र मतदानको माग गरिन्।

    सत्तापक्षीय नेकपाले सांसदले प्रमिलाको संशोधनको विपक्षमा मतदान गरे भने कांग्रेसले पक्षमा। सत्तापक्षीय सांसदको बहुमतले सत्तापक्षीय सांसदको संशोधन प्रस्ताव अस्वीकृत भयो। त्यसपछि कांग्रेसका राधेश्याम अधिकारीसहितका सांसदले राखेको संशोधनलाई निर्णय प्रक्रियामा लगियो। त्यतिबेला फोरमकी प्रमिलाले कांग्रेसका सांसदको संशोधनको पक्षमा मतदान गरिन।

    ‘सत्तामा साझेदारी गर्ने र झण्डा हल्लाउने पार्टीका सांसदले सरकारकै बिजनेश फेल गर्न खोज्ने कुरा अचम्मै भयो,’ सत्तापक्षका एक सांसदले भने,‘सत्तापक्षले समयमा समन्वय नगर्ने हो भने आउँदा दिनमा अझै यस्ता भद्रगोल देखिने निश्चित छ।’ अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…