• काठमाडौँ, ११ फागुन

    मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भन्नुभयो ।

    अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।

    उहाँले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी दिनुभयो । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ । काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो ।

    गृहमन्त्री रामबहादुर थापाले आज उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिनुभएको छ ।

    उक्त घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

    यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेको संवेदनशील क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…