• काठमाडौं । सरकारले तोकेको मापदण्डलाई बेवास्ता गर्दैहोङ्सी शिवम् सिमेन्टले विगत दुई वर्षदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन जारी राखे पनि सरकारले कुनै कारबाही गर्न सकेको छैन।

    मापदण्डविपरीत उत्पादन गरिएको सिमेन्ट बिक्री–वितरणका लागि पठाउन नपाइने भए पनि शिवम् सिमेन्टले भने गुणस्तरहीन उत्पादनलाई जारी राखेको हो । कम्पनी सञ्चालक र सरकारी कर्मचारीकै मिलेमतोमा कम्पनीले उक्त कार्य गरिरहेको स्रोतको दाबी छ ।

    गुणस्तरहीन सिमेन्ट उत्पादन भइरहँदा सरकारले बेवास्ता गर्नुलाई कर्मचारी र कम्पनी सञ्चालकबीच मिलेमतो रहेको पुष्टि हुने स्रोतको दाबी छ ।नियमनकारी निकाय गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कतिपय सिमेन्टको गुणस्तरमा प्रश्न खडा भएका बताउँदै एक/डेढ वर्षदेखि नै केही उद्योगका सिमेन्टमा समस्या आएको जनाएका छन् ।

    विभाग प्रमुखले नै यसो बताइरहँदा दोषी उद्योगमाथि सरकारले कारबाही गरेको छैन । उक्त कम्पनीकोसिमेन्टमा ‘म्याग्नेसियम अक्साइड’को मात्रा बढी देखिएको विभागले जनाएको छ ।

    गुणस्तर तथा नापतौल ऐनमा सिमेन्टमा ‘म्याग्नेसियम अक्साइड’को मात्रा ५ प्रतिशतभन्दा बढी हुन नहुनेमा सो उद्योगका उत्पादनमा पटक–पटकको गुणस्तर परीक्षणमा‘म्याग्नेसिएम अक्साइड’को मात्र ६ प्रतिशतभन्दा माथि रहेको पाइएको छ ।

    त्यसलाई तत्काल घटाउन निर्देशन दिए कम्पनीले निर्देशनको बेवास्ता गर्दै आएको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ । सिमेन्ट उत्पादनमा प्रयोग हुने चुनढुंगा र क्लिंकरमा समस्या आउँदा ‘म्याग्नेसियम अक्साइड’को मात्रा बढी हुने महानिर्देशक पुडासैनी बताउँछन् । सिमेन्टमा ‘म्याग्नेसियम अक्साइड’को मात्रा बढीमा ३ प्रतिशत मात्रै हुनुलाई निकै राम्रो गुणस्तर मानिन्छ। ५ सम्म हुँदा खासै समस्या देखिन्न। तर ६ पुग्नासाथ त्यो गुणस्तरहीन नै देखिने विभागको भनाइ छ ।
    सिमेन्ट उद्योगले उपभोक्ताले प्रत्यक्ष रूपमा थाहा पाउने गरी उत्पादन मितिसमेत राख्ने गरेको छैन । बोरामा वर्षको ५२ हप्ता अनुसार ५२ वटै ब्याच नम्बर राखिनुपर्ने विद्यमान ऐनमा उल्लेख छ तर सोअनुसार उपभोक्ताहरुले नबुझ्ने तवरबाट लेखिएको छ । सिमेन्ट पनि खाद्य सामग्रीजस्तै उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरिसक्नुपर्छ भन्ने ऐनमा निर्देश गरेको भएपनि कुनै पनि सिमेन्ट उद्योगहरुले ‘डेट एक्सपायर्ड’को जानकारी लेख्ने गरेका छैनन् ।

    कुनै ब्याच नम्बरमा उत्पादन मिति उल्लेख छ भने सो सिमेन्टको उपयोग गर्ने मिति भने लेख्ने गरिएको छैन । सरकारी ऐनअनुुसार सिमेन्ट सही तरिकाले स्टोर गरिएको खण्डमा बढीमा ६ महिनाभित्र प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ।

    शक्ति र पैसा भएपछि देशमा विद्यमान कानुनलाई समेत हातमा लिई केही कम्पनीहरुले गुणस्तरहीन वस्तुको उत्पादन गरी उपभोक्तालाई ठगी गर्दा समेत सरकारले कारबाही गर्न नसक्दा अधिकांश भौतिक निर्माण भएका संरचनाहरु कमजोर भएको पाइएको छ ।

    आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही महिनाअघि गरेको अनुगमनका क्रममा व्यापारीले सिमेन्टमा व्यापक ठगी गर्ने गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सो प्रतिवेदनका आधारमा कारबाही नहुँदा ठगी कार्यमा समेत तीव्रता आएको हो ।

    विभागको अनुगमन टोलीले राजधानीको विभिन्न स्थानमा गरेको अनुगमनबाट व्यापारीहरुले सिमेन्टमा ठगी गर्ने गरेको पाइएको ठहर गरी प्रतिवेदन तयार गरेको थियो । आफ्नो कम्पनीअन्तर्गत ठूलो लगानीमा निर्माण भएको भन्दै प्रचारप्रसार गर्दै आएको होङ्सी शिवम सिमेन्टले गत मार्चदेखि उत्पादन सुरु गरेको हो । नवलपरासीको वेणीमनीपुरस्थित सर्दीमा रहेको सो कम्पनीमा नेपाली र चिनियाँ लगानी रहेको छ।

    ३६ अर्ब लगानी रहने बताइएको सो शिवम् होल्डिङ्सको ३० प्रतिशत र होङ्सीको ७० प्रतिशत हिस्सा रहेकोेछ। चीनको सिमेन्ट उत्पादक कम्पनी होङ्सीले नेपालमा लगानी गर्ने भएपछि नेपालको बजार अध्ययन गरेर होङ्सी र शिवम्बीच सयुक्त रुपमा लगानी गर्ने सहमति भएको हो ।

    शिवम् सिमेन्टले होङ्सीलाई ७० प्रतिशतको सेयर हिस्सा दिएर साझेदार बनाएको हो । यसरी सो सेयर दिने सहमति भएपछि हेटौंडाबाट उत्पादन हुँदै आएको शिवम् सिमेन्टले नाम परिवर्तन गरी होङ्सी शिवम् सिमेन्टको नाममा सञ्चालनमा आएको हो ।

    यसरी विद्यमान कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भइसकेको नामबाट अघिपछि नयाँ नाम थपेर नयाँ उद्योग दर्ता गर्न नपाउने विद्यमान ऐनमा उल्लेख छ । तर, सो ऐनको बर्खिलाप अहिले हेटौंडाको ठेगाना देखाएर शिवम् सिमेन्ट र नवलपरासीको ठेगाना देखाएर होङ्सी शिवम् सिमेन्टको नाममा उत्पादन हुँदै आएको छ ।

    शिवम् होल्डिङ्सले हेटौंडामा सिमेन्ट उद्योग चलाइरहेको छ । नेपालको शिवम् सिमेन्ट प्रालिसँगको संयुक्त लगानीमा सो उद्योग सञ्चालन भएको हो । तत्कालीन समयमा सरकारले होङ्सी शिवम् सिमेण्ट उद्योगसँग गरेको सम्झौता उत्पादन सुरु भइसक्दा पनि पूरा गर्नसकेको छैन ।

    वैदेशिक लगानी भित्र्याउने ठूलो महत्वाकांक्षा सरकारले बोकेको भएपनि लगानी सम्झौता भई उत्पादन नै सुरु गरिसकेको नवलपरासीको सर्दीखोलास्थित होङ्सी शिवम् सिमेण्ट उद्योगसँगको भौतिक संरचना निर्माणसम्बन्धी सम्झौता अझै पूरा गरेको छैन ।सरकारी मापदण्डविपरीत सिमेन्ट उत्पादन गरेर बजार पठाउनेमा अर्घाखाँची, होङ्सी शिवम्, सगरमाथा र सर्वोत्तम सिमेन्ट रहेको विभागको रेकर्डमा रहेको छ ।

    गुणस्तर मापन गर्ने सरकारी निकायले नै उत्पादनमा कमजोरी फेला पारे पनि ती उद्योगमाथि कारबाही हुनसकेको छैन। सरकारी लापरबाहीका कारण उपभोक्ताले गुणस्तरहीन सिमेन्ट प्रयोग गर्नुपर्ने बाध्यता छ।नवलपरासीको त्रिवेणीमा रहेको होङ्सी शिवम् सिमेन्टको गुणस्तरलाई लिएर देशैभर चर्चा सुरू भएको छ भने होङ्सी सिमेन्टसँग सहकार्य गरिरहेको हेटौँडा १७ हटियामा रहेको शिवम् सिमेन्टको समेत गुणस्तरलाई लिएर चर्चा सुरू भएको छ । नवलपरासीमा रहेको होङ्सी सिमेन्टको गुणस्तर मापन गरेपछि होङ्सी सिमेन्ट गुणस्तरहीन भएको भदै विभागले कारबाहीको दायरामा राखेको भएपनि कारबाही भने भएको छैन ।

    हटियामा रहेको शिवम् सिमेन्टबाट दैनिक ४०० गाडी ढुंगा नवलपरासीको होङ्सी सिमेन्ट लैजाने गरेको छ र उक्त ढुंगाबाट उत्पादित सिमेन्टका कारण होङ्सी गुणस्तरहीन प्रमाण भएको अनुमान विज्ञहरूले गरेका छन् ।

    यसरी शिबमबाट ढुंगा लैजाने होङ्सीले क्लिंकर उत्पादन गर्ने र होङ्सीबाट क्लिंकर शिबम् ल्याई सिमेन्ट उत्पादन गर्ने प्रक्रियाका कारण नेपाली बजारमा बिक्री हुदै आएको शिबम् सिमेन्ट पनि गुणस्तहिन भएको विज्ञहरुको भनाई रहेको छ ।

    यसरी नेपाली बजारमा शिवम्ले आफ्नो बिक्रीमा गिरावट आउन थाले पछि बिभिन्न अफरको समेत आयोजना गरी उपभोक्तालाई ठगी गरि रहेको आरोप उपभोक्ताहरुले लगाएका छन् । समाजिक संजालबाट सचेत नागरिकले गूणस्तरहिन सिमेन्टस प्रयोग नगर्न समेत सूचीत गरेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…