• काठमाडौं, १२ फागुन । नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच बढेको तिक्तताले पार्टी एकीकरणका लागि बनाइएको सबै भन्दा शक्तिशाली कार्यदल भंग भएको छ ।

    यो कार्यदल भंग भएपछि नेकपामा एकताको सम्भावना लगभग टरेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले बताउन थालेका छन् । गत बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालको दबाबमा गृहमन्त्रीसमेत रहेका कार्यदलका संयोजक रामबहादुर थापाले तत्कालीन माओवादीकै तर्फबाट प्रतिवेदन बुझाएका थिए ।

    पार्टी एकीकरण भएपछि स्थायी कमिटीको बैठकले गठन गरेको कार्यदलमा थापाकै कारण बैठक बस्न नसकेको जानकारी लिइरहेका प्रधानमन्त्री ओलीलाई राम्रो लागेको थिएन र उनले बिहीबार नै कार्यदल भंग गर्ने प्रस्ताव राखेका थिए ।

    तर, अरु कार्यदलका सदस्यहरुले केही समय मागेका कारण रोकिएका अध्यक्ष ओलीले एकदिन कुरेर भोलिपल्टै कार्यदललाई भंग गर्दै सबै काम सचिवालयमार्फत ल्याउने निर्णय गरे । ओलीको निर्णयपछि अहिले पूर्वएमाले र पूर्वमाओवादीका बीच कित्ताकाट भएको छ ।

    उपप्रधानमन्त्री कार्यदललाई अगाडि बढाउने पक्षमै थिएनन् भने वरिष्ठ नेता नेपाल पार्टी पद्धतिअनुसार जानुपर्ने पक्षमा रहेका थिए । कार्यदल भंग भएपछि अहिले नेपाल समूहले फेरि पार्टीमा सक्रियता बढाएको छ । नेपाल पक्षका कार्यदल सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टी एकता हुने नहुने भन्ने छुट्टै प्रतिवेदन दिने तयारी पनि गरिरहेका छन् ।

    भेनेजुएला प्रकरणको दाहाल वक्तव्यबाट सुरु भएको नेकपाका अध्यक्षहरुको विवाद अहिले भने सतहमै आएको छ । पार्टीका धेरै काम बाँकी रहेकै अवस्थामा नेकपा अध्यक्ष दाहालले पार्टी एकीकरण भइसकेको भनी दिएको अभिव्यक्तिमा पनि पूर्वएमालेहरुको असहमति छ ।

    यसले गर्दा नेकपाको शक्तिशाली मानिएको कार्यदल विघटनपश्चात नेकपामा तरंग पैदा भएको छ । नेकपामा निर्णायक मानिएको स्थायी कमिटी बैठकले सांगठानिक एकीकरणका बाँकी काम टुंग्याउने म्यान्डेट दिएको कार्यदललाई शुक्रबार बसेको सचिवालय बैठकले भंग गरेको हो ।

    यसअघि जति पनि कार्यदल बनेका थिए सबैले दिइएको म्यान्डेटअनुसार काम सम्पन्न गरेका थिए । तर, त्यही शक्तिशाली कार्यदल दुई अध्यक्षहरुको सिकार भएको छ । स्थानी कमिटीका एक सदस्यले दिएको जानकारीअनुसार कार्यदल गठन गर्नुपूर्व कार्यदल बनाउनै नहुने पक्षमा कतिपय नेता थिए ।

    कार्यदल बनिसकेपछि पनि कार्यदललाई काम गर्न दिइएन । कार्यदल विघटन गरेर नेकपा विधि पद्धतिमा चल्दैन भन्ने सन्देश शीर्ष नेताले दिएको उनले बताए । यसअघि सबै अधिकार सचिवालयमा केन्द्रित गरेको भन्दै नेकपामा स्थायी कमिटी र केन्द्रीय कमिटीका अधिकांश नेताहरु नेतृत्वप्रति असन्तुष्ट बनेका थिए ।

    त्यही असन्तुष्टि चिर्नलाई लामो समयपछि बसेको स्थायी कमिटी बैठकले कार्यदल बनाएको थियो । र, कार्यदललाई एकीकरणका बाँकी काम टुंग्याउन प्रस्ताव तयार गर्ने, केन्द्रीय सदस्यको कार्य विभाजन, विधानमा भएको त्रुटि सच्याउनेदेखि विवादित प्रदेश कमिटी हेरफेर गर्ने सम्सको म्यान्डेट दियो ।

    तर, यही कार्यदलले न त काम गर्न सक्यो, न त काम गर्न दिइयो । बरु गठन भएको दुई महिनामा कार्यदल भंग गर्न अध्यक्ष ओली बाध्य भए । योसँगै अब पार्टी एकताको बाँकी काम सचिवालयले गर्नेछ । सविचलाय बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिँदै म्याद नथप्ने निर्णय गरिसकेको छ ।

    सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलका बहुमत सदस्यले म्याद थप गर्नुपर्ने माग गरेका थिए । तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले म्याद थप नगर्ने अडान लिएपछि कार्यदल विघटन भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठमा पार्टी एकीकरण भएको हो ।

    एकता घोषणा सभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन ममिहनाभित्रै एकता टुंगो लगाउने उद्घोष गरे पनि नौ महिना बित्दासमेत टुंगो लाग्न सकेको छैन ।

    पछिल्लो समयमा बसेको स्थायी कमिटी बैठकले रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहने नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    दुई दलबीचको एकीकरणपछि हालसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा अध्यक्ष ओली, पुष्पकमल दाहाल र माधुवकुमार नेपालबीचमा विवाद रहेको देशान्तरमा उल्लेख छ ।

    केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…