फागुन १३, काठमाडौं । मिथक जस्ता सुनिन्छन्, बालकृष्ण पोखरेल। वाक्य पछाडि ‘रे’ जोडेर गरिने उनीबारे हल्ला प्रशस्त छन्। तिनमा कति सत्य छन् कति अतिरञ्जना। सत्य र अतिरञ्जनाबीच एउटा आइकन बनेर बाँचे उनी। नेपाली भाषाका यी आइकनले शनिबार राति १ बजे विराटनगरस्थित आफ्नै घरमा ८६ वर्षे जीवन यात्रा पूरा गरे भन्ने थाहा पाउँदा भाषा, साहित्य, इतिहास र संस्कृतिका विद्यार्थी स्तब्ध भए। दैहिक अस्तित्वमा उनी सदाका लागि बिदा भए पनि आफ्ना अमूल्य योगदानका कारण सदा स्मरणीय रहनेछन्।
विसं १९९० साउन ३० गते मकवानपुरमा जन्मिएका पोखरेलले एउटा जीवन बाँचेनन्। एकबारको जिन्दगीमा उनले अनेकौं जीवन बाँचे। उनका कति रूप सदृश्य छन् कति अदृश्य। उनलाई एउटै विशेषणले चिनाउनै गाह्रो छ। आखिर को हुन्, बालकृष्ण पोखरेलरु
उनले हप्तामा एउटाको दरले कम्तीमा पाँच दिन र बढीमा २० दिन लगाएर महिनाको चारवटा र कहिलेकाहीँ पाँचवटासम्म उपन्यास लेखे। तर, कुनै पनि उपन्यासको लेखक बालकृष्ण पोखरेल होइनन्। उनका आठवटा त उपनाम नै छन्।
भाषाशास्त्री प्राध्यापक टंकप्रसाद न्यौपाने उनलाई भाषाशास्त्र र नृतत्वशास्त्रमा गरेको योगदानको आधारमा सम्झिन्छन्। पोखरेलसँग लामो सम्बन्ध गरेका र उनीबारे अध्ययन गरेका प्राध्यापक न्यौपाने उनको योगदानलाई तीन भागमा बाँड्छन्। ‘भाषिक आन्दोलन, भाषाशास्त्र र मगर भाषामा साहित्य’, पोखरेलले सूचीबद्ध गरेका छन्।
उत्पत्तिको खोजकर्ता
भाषाशास्त्रका प्राध्यापक राम लोहनीको ठम्याइमा उनको सबैभन्दा ठूलो योगदान नेपाली भाषाको उत्पत्तिथलो निर्धारण गर्नु हो। ‘नेपाली भाषाको उत्पत्ति कर्णाली क्षेत्रबाटै भएको हो भनेर उनले स्थापित गरे’, लोहनी भन्छन्, ‘यो नै उनको सबैभन्दा ठूलो योगदान हो।’ लोहनीका अनुसार ऐतिहासिक भाषा विज्ञानको कोणबाट पोखरेल त्यो निष्कर्षमा पुगेका थिए।
उक्त निष्कर्षमा पुग्न पोखरेलले एक हजार वर्षदेखिको नेपाली भाषामा लेखिएका शिलालेख, ताम्रपत्र, हस्तलिखित ग्रन्थलगायत ऐतिहासिक अभिलेखको परिशीलन गरेका थिए। पोखरेलकृत ‘पाँच सय वर्ष’ उनको त्यही कार्यको परिणाम हो।
२०२० सालमा पहिलो संस्करण प्रकाशन हुँदा यो पुस्तकमा संवत १६९४ को अभिलेखसम्म पुगी पाँच सय २९ वर्षको नेपाली भाषाको लिखित परम्परा अभिलेखीकरण गरिएको थियो। तर २०४२ सालमा तेस्रो संस्करण प्रकाशन हुँदासम्म यो पुस्तकमा एक हजार ३७ वर्ष पुरानो अभिलेख समेटिन पुग्यो। पुस्तकमा संग्रहित सबैभन्दा पुरानो अभिलेख दैलेखको दुल्लुमा रहेको संवत १०३८ को शिलालेख हो।
‘यो नै उनको सबैभन्दा ठूलो योगदान हो’, इतिहासका जानकार एवं विश्लेषक सौरभ भन्छन्। सौरभका शब्दमा पोखरेल ऐतिहासिक भाषाशास्त्रका ठूला विद्वान् हुन्। ‘त्यसैको आधारमा उनले नेपाली भाषा जातिको इतिहास लेख्ने कोसिस गरे।’
ऐतिहासिक अभिलेखहरूको क्रमबद्ध संकलन मात्र पोखरेलको योगदान होइन। ‘ती अभिलेखमा परेका बुझ्नै कठिन भइसकेका शब्दको अर्थ लगाउनु उनको स्मरणीय कार्य हो’, सौरभ भन्छन्। पाँच सय वर्ष’ केवल नेपाली भाषाको इतिहास होइन। नेपाली भाषाको रूपमा परिचित खस भाषा हिन्दीभन्दा फरक हो भन्ने प्रमाण पनि हो।
‘भारतीयहरूले नेपाली भाषालाई पहाडी हिन्दी भन्ने गरेका थिए’, प्राध्यापक न्यौपाने भन्छन्, ‘पोखरेलले नेपाली भाषा हिन्दीको भाषिका नभई स्वतन्त्र भाषा हो भन्ने पुष्टि गरे।’ यो पुस्तक केवल नेपाली भाषाको इतिहास थिएन। ‘यो पुस्तकले नेपाली भाषा कसरी अघि बढेको छ भन्ने स्थापित गरेको छ’, इतिहासकार दिनेशराज पन्त भन्छन्।
भाषाका शल्यचिकित्सक
नेपाली साहित्यकी प्राध्यापक गीता त्रिपाठी नेपाली भाषाको व्यवस्थित अध्ययन गर्ने पहिलो व्यक्तिको रूपमा पोखरेललाई चित्रण गर्छिन्। पोखरेलले नेपाली भाषामा अन्य भाषाको प्रभाव कसरी परेको छ भन्ने अध्ययन गरे। ‘तुलनात्मक भाषाशास्त्र नै उनले अवलम्बन गरेको प्रमुख विधि हो’, लोहनी भन्छन्। यही विधिबाट उनले नेपाली भाषा विशुद्ध संस्कृतको उपज होइन भन्ने निष्कर्ष निकाले। ‘नेपाली भाषामा संस्कृतबाट मात्र नभई मगरलगायत अन्य भाषाबाट पनि थुप्रै शब्द परेका छन् भन्ने उनको अर्को महत्वपूर्ण निष्कर्ष हो’, भाषाशास्त्री न्यौपाने भन्छन्।
भाषाको तुलना गर्ने यो विधि पोखरेलले आफ्नो पुस्तक ‘नेपाली निर्वचन’ नामक पुस्तकका तीन भागमा प्रयोग गरेका छन्। तीनवटै भागमा उनले विभिन्न नेपाली शब्दको उत्पत्ति केलाएका छन्। ‘राष्ट्रभाषा’ नेपाली भाषाको अध्ययनमा उनको अर्को महत्वपूर्ण योगदान हो। त्यसैले नै प्राध्यापक त्रिपाठी पोखरेललाई अद्वितीय भन्छिन्। ‘उनले नेपाली भाषाका विभिन्न भाषिकाबारे प्रमाणिक अध्ययन गरे’, त्रिपाठी भन्छिन्, ‘त्यसको समतुल्यमा अर्को अध्ययन भएकै छैन।’
खस इतिहासकार
नेपाली साहित्यमा एउटा भीमकाय किताब छ जसको आकार देखेरै धेरैजसो समाउनै डराउँछन्। पुस्तक पढ्न सुरु गरेका जोकोहीले छिचोल्नै सक्दैनन्। पुस्तक हो –‘खस जातिको इतिहास’
भाषाशास्त्री बालकृष्ण पोखरेलको यो अर्को अविस्मरणीय योगदान हो। तुलनात्मक भाषाशास्त्रको प्रयोग गरेर उनले यो किताबमा खस जातिको इतिहास कोर्ने प्रयत्न गरेका छन्। सौरभका शब्दमा त यो पुस्तक नेपाली इतिहासकार र भाषाविद्हरूलाई चुनौती हो। ‘उक्त पुस्तकमा उनले स्थापित गरेका सबै तथ्य सही नहोलान् तर यो पुस्तक तर ऐतिहासिक भाषाशास्त्रीलाई चुनौती हो’, सौरभको दाबी छ, ‘त्यो तहको अध्ययन गर्ने र पुस्तकले सिर्जना गरेको चुनौती स्वीकार्ने मानिस नेपालमै छैनन्।’
इतिहासकार दिनेशराज पन्त पनि उक्त पुस्तकलाई अविस्मरणीय कार्यको रूपमा लिन्छन्। ‘खस जातिको इतिहासमा स्थापित भएका विषय कति ठीक, बेठीक होलान्, बेग्लै पाटो हो तर यो निकै उल्लेखनीय काम हो’, पन्तको टिप्पणी छ।
यो पुस्तक केवल खस जातिको इतिवृतान्त मात्र होइन, इतिहास लेखनको महत्वपूर्ण पाटोको स्थापनाविन्दु पनि हो। ‘मनगढन्ते कुरा गर्ने पद्धतिबाट अलग्गिएर उनले प्रमाणिक लेखनको पद्धति बसाले’, पन्तको मूल्यांकन छ।
पुस्तकमा पोखरेलले तुलनात्मक भाषाशास्त्रकै आधारमा खस जाति कसरी नेपालसम्म आइपुगे र कसरी नेपालभरि फैलिएका छन् भन्ने पुष्टि गरेका छन्। ‘त्यो विधि अन्तर्राष्ट्रिय जगतमा पहिल्यै प्रयोग भइसकेको भए पनि नेपालमा भने नयाँ थियो’, लोहनी भन्छन्।
‘खस जातिको इतिहास’ केवल इतिहासको पुस्तक मात्र होइन अथक मेहनत र निरन्तर लगनको उदाहरण पनि हो। ‘उनले जस्तो खोज गरेर काम गर्न हाम्रो पुस्ताले गर्न गाह्रै छ’, कवि सीमा आभास भन्छिन्।
झर्रोवादी
भाषाशास्त्री पोखरेलसँग जोडिने अर्को पहिचान आन्दोलनकारी पनि हो। उनी मूलतः भाषाका आन्दोलनकारी हुन्। नेपाली भाषालाई जोगाउन उनको नेतृत्वमा २०१३ सालमा सुरु झर्रोवादी आन्दोलन नेपाली भाषा–साहित्यको इतिहासमा उल्लेखनीय छ।
‘त्यतिबेला नेपाली भाषा हिन्दी, संस्कृत र अंग्रेजीबाट विकृत थियो, भारतीयहरूले नेपाली भाषालाई हिन्दीकै भाषिकाको रूपमा व्याख्या गर्थे’, न्यौपाने भन्छन्, ‘नेपाली भाषालाई स्वतन्त्र रूपमा स्थापित गराउन पोखरेलको नेतृत्वमा झर्रोवादी आन्दोलन सुरु भयो।’
२०१३ सालमा तारानाथ शर्मा, बल्लभमणि दाहाल लगायतको साथमा पोखरेलले झर्रोवादी आन्दोलन थालेका थिए। ‘नौलो पाइला’ नामक पत्रिका प्रकाशन थालेर उनीहरूले झर्रो भाषालाई प्राथमिकता दिएका थिए।
कोशकार
मूल शब्द साठी हजार र व्युत्पन्न शब्द पन्ध्र हजार गरी जम्माजम्मी ७५ हजार शब्दको ‘बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश’ बजारमा उपलब्ध छ। यो भीमकाय कोश बालकृष्ण पोखरेलको परिचयको अर्को पाटो हो। यो अथक प्रयासले उनको नाम अगाडि कोशकारको उपाधि थपिदिएको छ। सानोतिनो मेहनतले तयार पारिएको होइन यो पुस्तक। कवि सीमा आभास भन्छिन्, ‘५२ वर्षको अथक मेहनतको परिणाम हो यो।’
पर्दापछाडिका लेखक
नेपाली साहित्यमा सबैभन्दा धेरै किताब लेख्ने मानिस को हो रु सम्भवतः अहिलेसम्म लोकसेवामा नसोधिएको सामान्य ज्ञानको प्रश्न हो यो। सोधिहाले नाम आउने थियो –बालकृष्ण पोखरेल। तर तुरुन्त विवाद उठ्ने थियो किनभने पोखरेलको नाममा प्रकाशित पुस्तक निकै कम छन्। यद्यपि उनी एक सय १५ वटा पुस्तकका लेखक हुन्।
‘नेपाली भाषामा सबैभन्दा बढी उपन्यास लेख्ने उनी नै हुन्’, कवि आभासको त दाबी नै छ। भन्छिन्, ‘उनका ४७ वटा उपन्यास प्रकाशित छन्।’
आभास थप्छिन्, ‘विसं २०३९ देखि २०५२ सम्म उनले हप्तामा एउटाको दरले कम्तीमा पाँच दिन र बढीमा २० दिन लगाएर महिनाको चारवटा र कहिलेकाहीँ पाँचवटासम्म उपन्यास लेखे।’
सबैभन्दा रोचक त के भने कुनै पनि उपन्यासको लेखक बालकृष्ण पोखरेल होइनन्। उनका आठवटा त उपनाम नै छन्। त्यसमध्ये सबैभन्दा बढी उपन्यास वसन्त नामबाट प्रकाशित छन्। रूपावासी, वत्सल, इसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिँलो उनका अन्य उपनाम हुन्। किताब बिक्दैन कि भनेर असली नाम नराखेको आभास बताउँछिन्।
यसरी उपन्यास लेख्नुको मुख्य कारण भने आर्थिक अभाव थियो। पोखरेलले भाषा र इतिहासमा जति अनुसन्धान गरे सबै व्यक्तिगत प्रयासमा थियो। उनलाई कतैबाट पनि सहयोग मिलेको थिएन। अनुसन्धानका लागि पैसा जम्मा गर्नकै लागि उनी उपन्यास लेख्ने गर्थे।
‘उनका उपन्यास मूलतः किशोरकेन्द्रित हुन्थे’, लोहनी भन्छन्। ‘तिनलाई यौन उपन्यास भनिनु गलत थियो’, सीमा आभासको ठहर छ। रत्न पुस्तक भण्डारलाई उनले सबै उपन्यासको पाण्डुलिपि कपिराइटसहित बेचे। आम्दानी राम्रै भयो। ‘रत्न पुस्तक भण्डारले त्यस बेला एउटा किताब १० संस्करणसम्म छापेको सुनाएको कवि आभास बताउँछिन्।
चाहेको भए पोखरेल पैसा कमाउने पदमा पुग्न सक्थे। तर उनले त्यो बाटो रोजेनन्। बाबु शारदा पोखरेल र आमा कृष्णछायादेवीका छोराको रूपमा उनी जन्मिएका थिए। कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर गरेर उनी २०१९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न भए। २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र उक्त क्याम्पस स्नतकोत्तर तह खुलेपछि २०४६ सालसम्म अध्यापन गरेका पोखरेल विभिन्न भाषाका ज्ञाता पनि हुन्। नेपाली भाषाबाहेक संस्कृत, अंग्रेजी, हिन्दी, संस्कृत र मगर भाषामा उनको राम्रो दखल थियो।
मगर भाषामा त उनले काव्य नै तयार पारेका छन्। ‘कानुङलाम’ नामक पोखरेलकृत काव्य मगर भाषाको पहिलो काव्य भएको न्यौपानेको दाबी छ।
२०१३ सालदेखि ६२ वर्षसम्म अनवरत साधना गरेर नेपाली ज्ञानभण्डारलाई समृद्ध बनाएका यी मनिषी अब नयाँ पुस्तकका साथ हामीसामु फेरि आउने छैनन्। तर उनले छोडिगएका सम्पदाले हामीलाई भविष्यका लागि मार्गप्रशस्त गर्नेछन्। प्रश्न त यत्ति हो यी मनिषीले जस्तै अथक मेहनत, धैर्य र निरन्तरता हामीले कति दिन सक्छौं ? नागरिकबाट ।