• फागुन १४, काठमाडौं । नयाँ शक्तिका नेता तथा एकजना प्रदेश सभा सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा दुई साता अघिदेखि चल्यो । कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताको उपस्थितिमा नयाँ शक्तिबाट निर्वाचित प्रदेश सांसद प्रवेश गर्ने भनिएपछि नेताहरु त्यही तयारी अनुसार सोमबार रसुवा पुगे ।

    तर प्रदेश सांसद प्रेम तामाङसहितका करिब ५ हजार नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्ने कुरा तब गलत सावित भयो जब उनीहरु कार्यक्रममै आएनन् । कांग्रेस जिल्ला कमिटीले सूचना नै निकालेर रसुवाको नयाँ शक्तिको सिंगो संगठनलाई पार्टीमा बिलय गराउने चर्चाले त्यहाँ राजनीतिक सरगर्मी बढेको थियो ।

    तर नयाँ शक्ति पार्टी छाडेपछि सांसद पद नै धरापमा पर्ने बुझेका सांसदातामाङ जिल्लाकै कालिकास्थनमा भएको कार्यक्रममै आएनन् । कांग्रेसले साताअघि नै सांसद तामाङ र पार्वतीकुण्ड गाउँपालिकाका प्रमुख बुचुङ तामाङसहितका नेता कार्यकर्तासहित नयाँ शक्तिको सिंगो जिल्ला कमिटी पार्टीमा बिलय हुने भन्दै प्रचार प्रसार गरिसकेको थियो ।

    सांसद कांग्रेसमा प्रवेश गर्ने चर्चासँगै कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता गगन थापा लगायतका नेताहरू रसुवा पुगेका थिए ।

    कांग्रेसले नयाँ शक्तिका सांसद नै आउने भनेपछि कार्यक्रमस्थलमा नयाँशक्तिको समेत झण्डा प्रयोग गरेर एेतिहासिक एकतासभा शीर्षकको व्यानर पनि टाँगेको थियो । तर नयाँ शक्तिका नेताहरु पार्टी प्रवेश गर्न नआएपछि कांग्रेसका शीर्ष नेताहरु सांस्कृति कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किएका छन् ।

    नयाँ शक्तिको आपत्ति

    नयाँ शक्तिका सांसद प्रवेश गर्ने भएपछि त्यही अनुसार कार्यक्रमस्थलमा ब्यानर टाँगेको कांग्रेसमाथि उल्टै आरोप लागेको छ । कांग्रेसले आफ्नो पार्टीको झण्डा दुरूपयोग गरेको भन्दै नयाँ शक्ति पार्टी रसुवाले सोमबार विज्ञप्ति नै निकालेर विरोध जनाएको छ ।

    कांग्रेसले एेतिहासिक एकता भन्दै नयाँ शक्ति पार्टीको झण्डा पनि कार्यक्रमस्थलमा प्रयोग गरेपछि नयाँ शक्तिले विज्ञप्ति निकालेरै विरोध जनाएको हो । नयाँ शक्तिका रसुवा संयोवक दावा तामाङले विज्ञप्ति नकिालेर झण्डा दुरूपयोगको कारण खुलाउन भनेका छन् । यदि कांग्रेसले गल्ती नसच्याए कांग्रेसका कार्यको भण्डाफोर गर्ने चेतावनी उनले दिएका छन् ।

    सांसद तामाङ निलम्वित

    कांग्रेसमा प्रवेश गर्ने खबर फैलिएसँगै नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद तामाङलाई कारबाहीको सिफारिस गरेको थियो । गत मंगलबार बसेको नयाँ शक्ति जिल्ला समितिको बैठकले कारबाहीका लागि सिफारिस गरे अनुसार पार्टी केन्द्रले उनलाई निलम्व गरेको हो । सांसद तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको जिल्ला संयोजक दावा तामाङले बताएका थिए ।

    नयाँ शक्ति रसुवाका पूर्वसंयोजकसमेत रहेका उनी प्रदेश सभा निर्वाचनमा रसुवा ‘ख’बाट विजयी भएका थिए । नयाँ शक्तिसँगको गठबन्धनमा रसुवा ‘क’बाट कांग्रेसकै प्रभात लामा विजयी भएका थिए । प्रतिनिधिसभामा भने कांग्रेसका मोहन आचार्यले जित निकालेका थिए । आचार्यलाई नयाँ शक्तिले साथ दिएको थियो ।

    कांग्रेसको सभामा कोही पनि जनप्रतिनिधि नयाँ शक्तिबाट प्रवेश नगरेको त्यो पार्टीले जनाएको छ । कांग्रेसमा जाने कुरा सार्वजनिक भएसँगै विवादित बनेका प्रदेश सांसद प्रेम तामाङलाई आइतवारै निलम्बन गरिसकेको छ । नयाँ शक्तिले उनलाई तीन दिनभित्र पार्टी कार्यालयमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देश गरिसकेको छ ।

    बाबुरामले के भने ?

    एक महिना यता मध्यपहाडी लोकमार्ग अन्तर्गत मेची महाकाली अभियानमा रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सांसद प्रेमबारे तिखो टिप्पणी गरेका छन् । केही दिनअघि एउटा म्यागेजिनमा अन्तवार्ता दिने क्रममा बाबुरामले प्रेमलाई बिग्रिसकेको व्यक्तिको संज्ञा दिएका छन् ।

    बाबुरामले त्यो अन्तवार्तामा युवा उमेरका प्रेमले नयाँ शक्तिलाई कठिन क्षणमा साथ दिएको बताउँदै कांग्रेसका सभापति शेरबहादुर देउवासँगै सल्लाह गरेर संघीय संसद्मा रसुवा र गोरखबाट टिकट लिएको सम्झेका छन् । कांग्रेससँगकै सहकार्यमा चुनाव जितेका प्रेमलाई कांग्रेसकै सांसद मोहन आचार्यले बिगारेको बाबुरामले निचोड निकालेका छन् ।

    उनले अर्बपति ठेकेदार आचार्यले प्रेमलाई किनेको स्मरण गरेका छन् । बाबुरामले रसुवामा संघीय संसदका लागि नयाँ शक्तिका लागि लिएको लिएको टिकट प्रेमले पैसामा मोहनलाई बेचेको दाबी गरेका छन् । संघीय संसदका लागि लिएको टिकट नै बेच्ने व्यक्ति विचलित हुनु ठुलो कुरा नभएको निचोड बाबुरामले निकालेका छन् ।

    यस्तो थियो कांग्रेसको सूचना

    यसअघि नेपाली कांग्रेसले नयाँ शक्तिका प्रदेश सांसद तामाङसहितका नेताहरु प्रवेश गर्ने सूचना नै निकालेको थियो । नेपाली कांग्रेस रसुवाले साता अघि नै कालिकास्थानमा पार्टी सभापति शेरबहादुर देउवासहितको उपस्थितिमा सांसद तामाङ र पार्वतीकुण्ड गाउँपालिकाका प्रमुख बुचुङ तामाङसहितका नेता पार्टी प्रवेश गर्ने सूचना निकालेको थियो ।

    त्यो सूचनामा ऐतिहासिक तथा गौरवशाली समायोजन तथा एकीकरण कार्यक्रममा पार्टी सभापित देउवा, नेताहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू उपस्थित हुने उल्लेख गरिएको थियो ।

    सूचना

    नया शक्ती पार्टी नेपालको तर्फबाट प्रत्यक्ष तर्फ निर्बा्चित एक मात्र प्रदेश साम्सद श्री प्रेम तामाङ तथा एक मात्र निर्बा्चित गाउ पालिका प्रमुख श्री बुचुङ तामाङ सहित नया शक्ती पार्टी नेपाल, रसुवाको नेपाली कांग्रेसमा हुन गइरहेको ऐतिहासिक तथा गौरबशाली समायोजन तथा एकिकरण कार्यक्रममा उपस्थीतिको लागी हार्दिक अपिल गर्दछौ ।

    मिती २०७५–११–१३
    स्थानः कालिकास्थान, रसुवा
    प्रमुख अतिथीः पार्टी सभापति श्री शेर बहादुर देउबा
    अतिथिः श्री गगन कुमार थापा, श्री विश्व प्रकाश शर्मा
    आयोजकस् नेपाली कांग्रेस
    जिल्ला कार्य समिति, रसुवा अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…