• अमृत बास्तोला
    तेह्रथुम । विमानस्थलका लागि पटकपटक चर्चा हुँदै आएको तेह्रथुम चुहानडाँडाको थुम्किडाँडामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी आउने भएपछि स्थानीय फुरुङ्ग थिए । बुधबार विहान नै थुम्किडाँडामा सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । विमानस्थलका लागि धेरै पटक चर्चा चलेको स्थानमा मन्त्री आएपछि अब विमानस्थल बन्छ भन्नेमा स्थानीयले विश्वास लिएका थिए ।

    बुधबार विहान ९:५२ मा चुहानडाँडा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारी सहितको टोलीसँग दुई घण्टा बढी समय स्थानीयले बिताएका थिए । आठराईको समृद्धिको ढोका खोल्न आएका मन्त्रीसँग स्थानीयले ठूलै अपेक्षा राखेका थिए । आठराईसँग मन्त्रीले बाँडेको खुसी र विश्वास एक घण्टा पनि टिकेन । “आठराईको खुसियालीले एक घण्टापछि देश नै शोकमग्न भयो ।”

    धेरैलाई उक्त घटना विश्वास नै लागेन । विश्वास गर्न पनि गाह्रो नै भयो । चुहानडाँडाबाट मन्त्री हिँड्दा ताप्लेजुङ स्थित पाथिभरा मन्दिर जाने कुरै थिएन् । काठमाडौं फर्किएका मन्त्री सवार हेलिकोप्टर ताप्लेजुङमा भएको दुर्घटनाले आठराईको खुसी, केही छिनमा नै निराशा र भावविह्वलमा रुपान्तरण भयो । मन्त्री अधिकारीले ११ मिनेट लामो सम्बोधन गरेका थिए ।

    विमानस्थलको नक्सा र ८७ करोड रुपैयाँ लागतको इस्टिमेट हातमा लिएर सम्बोधन गर्दै मन्त्री अधिकारीले ३ वर्ष भित्रमा विमानस्थल बन्ने र समृद्धिको ढोका खुल्ने बताएका थिए । हेलिकप्टरमा मन्त्री अधिकारी सहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया र चालक प्रभाकर केसी सवार थिए । हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको दुःखद निधनले आठराई गाउँपालिका मर्माहत भएको जारी समवेदनामा उल्लेख छ ।

    आठराई गाउँपालिका–६ चुहानडाँडामा रहेको थुम्किडाँडामा विमानस्थल बनाउने चर्चा २०३२ साल देखि नै चल्दै आएको स्थानीयहरु बताउँछन् । पूर्व पहाडी जिल्लाहरुकै विमानस्थल निर्माणका लागि सबै भन्दा उपयुक्त स्थान भएकाले यसअघि नै पाँच पटक सम्म सम्भाव्यता अध्ययन भएको छ । विमानस्थल निर्माणका लागि २०३२, २०३५, २०६९, २०७१ सालमा प्राविधिकहरुबाट सम्भाव्यता तथा सर्वेक्षण भई सकेको छ ।

    सम्भाव्यता तथा सर्वेक्षण अध्ययनका आधारमा उपयुक्त ठहरिई २०७३ सालमा विस्तृत सर्वेक्षण भई २९ करोड बराबरको लागत स्टिमेट समेत भएको भक्तराज स्मृति आठराई थुम्कि विमानस्थल सरोकार समितिका सचिव रामचन्द्र थपलियाले बताए । पाँचथर, ताप्लेजुङ र तेह्रथुम सहितका अधिकांश क्षेत्रलाई पायक पर्ने यो विमानस्थल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराभ भट्टराई समक्ष २०६८ सालमा, तल्कालीन प्रधानमन्त्री सुशील कोइराला समक्ष २०७१ सालमा हालका प्रधानमन्त्री केपि शर्मा ओलीको नेतृत्वको प्रतिनिधि मण्डलले अनुरोध गरेको थियो ।

    काँग्रेस नेता कृष्णप्रसाद सिटौला सहितको प्रतिनिधि मण्डलले पुनः प्रधानमन्त्री ओली समक्ष २०७२ र २०७५ बैशाखमा विमानस्थल निर्माण कार्यको थालनी गर्नका लागि पहल गरेको भक्तराज स्मृति आठराई थुम्कि विमानस्थल सरोकार समितिका सचिव थपलियाले बताए । बिमानस्थलका लागि पटकपटक अध्ययन र प्रतिनिधि मण्डल सरकार समक्ष पुगेपनि कार्यन्वयनमा भने आउन सकेको छैन् ।

    आठराई क्षेत्रको आवश्यकता र समृद्धिसँग जोडिएको विमानस्थलको जग्गा मुआब्जाका लागि २ करोड ५० लाख रुपैयाँ लाग्ने समितिले जनाएको छ । नेपालको शैक्षिक र राजनीतिक इतिहासमा आठराई क्षेत्रको विशेष महत्व समेत रहेकाले आ.ब. २०७६÷०७७ को बजेटमा मुआब्जा सहितको विमानस्थलका लागि आवश्यक रकम विनियोज गर्न बुधबार आठराई बासीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका थिए ।

    बजेटको व्यवस्था मिलाई विमानस्थल निर्माण कार्य सुरुवात गराउन र प्रधानमन्त्री ओलीको बाहुलीबाट शिलान्यास भएको हेर्न नागरिकहरु लालायित भएको ज्ञापनपत्रमा उल्लेख छ । प्रधानमन्त्री ओलीको जन्मभूमि समेत यही स्थान भएको हुँदा यसको गरिमा र महत्वबारे स्वयम् प्रधानमन्त्री समेत विज्ञ थिए । विमानस्थल निर्माण कार्य यथाशीघ्र प्रारम्भका लागि मन्त्री अधिकारी मार्फत प्रधानमन्त्री ओलीको ध्यान आकृष्ट गर्न चाहान्छौ, ज्ञापनपत्रमा भनिएको छ ।

    प्रदेशसभा सदस्य तेजमान कन्दङवा, आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू सहित नौ ओटा सरोकारवाला संस्था र राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापनपत्र मन्त्रीलाई बुझाएका थिए । २ सय ७१ रोपनी क्षेत्रमा फैलिएको थुम्किडाँडामा १० जना स्थानीयको जग्गा रहेको छ । विमानस्थल निर्माणका लागि स्थानीयहरुले भक्तराज स्मृति आठराई थुम्कि बिमानस्थल सरोकार समितिकलाई जग्गा उपलब्ध गराउन मञ्जुर समेत भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…