निकेस चपाई -
मृत्यु सत्य छ,
र सत्यको मृत्यु हुँदा,
असत्य ले सत्यको मुखौटो लगाउँछ,,
र फेरि मृत्यु असत्य हुन पुग्छ,
र, पनि, मृत्यु सत्य छ ।
असत्यको कति रंग छन् त्यो मेरो गिदिले ठम्माउन सकेन,
तर, सत्यको रंग एउटै हुन्छ,
फेरि मृत्यु फरक किन ?
मेरो आफ्नो बाहेक,
हरेक मृत्युलाई मनै भित्रबाट श्रद्धासुमन अर्पण गर्दै,
म गुमनाम मृत्युहरु खोजीरहेछु ।
घोडालाई नै हिँड्न मुस्किल बाटोमा,
पहाडलाई छक्काउँदै र छलाउँदै,
हिँडेको जीप मिटरौं तल खस्दा,
त्यसमा एक दर्जन जीवनहरु,
चुपचाप टुक्रिँदा,
सपनाको कोशेली पर्खिरहेका तीनका लालाबालाहरु,
छन् या छैनन्,
तीनका बुढा बा आमाहरु छोरा छोरी पर्खदै
छन् या छैनन्,
अर्धाङ्गीनीको सिउँदो भरि छ कि खाली,
अर्धाङ्गीनलाई पकाएको भात सकियो कि बाँकी छ ?
अखबारका पानाहरु चुपचाप छन् ।
टेलिभिजनका समाचारहरु लाटा छन्,
ती मृत्यु हुन् या होइनन्,
यकिनले भन्न सक्नेहरु कतै छैनन्,
र,यदी ति मृत्युहरु हुन् भने,
म ती गुमनाम मृत्युहरु खोजीरहेछु ।
शिकारीले चरा मार्दा चरालाई आभाष भइसकेको हुन्छ रे,
तर, भाग्न खोज्दा खोज्दै चरा भुइँमा झरिसक्छ रे,
त्यती पनि आभाष गर्न नपाई,
ठाउँका ठाउँ बमले उडेको जीवन,
टुक्रा टुक्रा हुँदा,
घरमा उनलाई पर्खनेहरु छन् कि छैनन्,
उनको छहारीमा खेल्ने लालाबालाहरु,
चुपचाप छहारी खोजीरहेछन् कि छैनन् ?
रेडियोका कानहरु बन्दछन्,
सुरक्षाका दोकानहरु बन्दछन्,
यकिनले भन्न सक्नेहरु कतै छैनन्,
र,यदी ति मृत्युहरु हुन् भने,
म ती गुमनाम मृत्युहरु खोजीरहेछु ।
खाली पेटमा मृत्युसंग लड्न,
परिवारको लाज ढाक्न र मुखमा माड लगाउने,
झिनो सपना देखेर,
आफ्ना खुशीहरु,
आफ्नै देशमा बन्धक बनाएर,
कतै बिरानको तातो बालुवामा,
आँफैलाई भुटेर,
बन्धक बनेका खुशीहरु फेरि,
आँगनमा फुलाउन खोज्दै गर्दा,
हरेक दिन,
राता बाकसहरु,
सपनालाई कच्याककुचुक्क पारेर,
एअरपोर्टको भिँडै भिँडको आँगनमा,
चुपचाप एक्लै आफन्ति खोजीरहँदा,
त्यस भित्र मस्त सुतेको थकित जीवनका,
सपनाहरु आँगनमा फुले कि फुलेनन् ?
चकलेटका दुइ पोकाहरु संगै छन् कि छैनन् ?
बन्धकी राखेको खुशी,
साउको बन्धकबाट छुटे कि छुटेनन्,
यी ट्याउ ट्याउ बज्ने, युटुबेहरुलाई थाहा छ कि छैन?
फेसबुकका भित्ताहरुमा पोतिएकि पोतिएनन् ?
यकिनले भन्न सक्नेहरु कतै छैनन्,
र,यदी ति मृत्युहरु हुन् भने,
म ती गुमनाम मृत्युहरु खोजीरहेछु ।
मृत्यु अप्रिय छ, तर सत्य छ,
अस्पतालको बेडमा उपचार गर्न नसकेर होस्,
माथी पहाडमा सिटामोल खान नपाएर होस्,
अरबमा बालुवामा डढेर होस्,
युरोप अमेरिकामा असन्तुलित भएर होस्,
प्रसब बेदनामा छट्पटाउँदा छट्पटाउँदै होस्,
धेरै खाएर होस् या खान नपाएर होस्,
हिँड्दा हिँड्दै बमले उडाइएर होस्,
मृत्यु मृत्यु हो,
धेरै धेरै मृत्युहरुलाई,
यकिनले भन्न सक्ने जीवनहरु कतै छैनन्,
र,यदी ति मृत्युहरु हुन् भने,
म ती गुमनाम मृत्युहरु खोजीरहेछु ।
मृत्युलाई नजिकबाट नियालेको म,
ती गुमनाम मृत्युहरुका लागि,
माथी बाटै लडिरहनेछु,
र,
म ती गुमनाम मृत्यु खोजीरहेछु ।
विपनीमा कहिल्यै नभेटेपनि,
सपनीमा आएर यो कविता सुनाउँदा,
रविन्द्र तिमीलाई फेरि एक पल्ट,
हार्दिक श्रद्धान्जली ।