• गलेश्वर, २० फागुन

    महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    सोमबार श्रवण नक्षत्रको स्वामी चन्द्रमा परेकोले यस पटकको शिवरात्रि निकै पुण्यदायक मानिएको छ । शिवको प्रिय सोमबारका दिनै यो पर्व पर्दा झनै राम्रो र शुभ भएको भनेर आइतबार रातिनै टाढाटाढाका भक्तजन गलेश्वरमा आएका थिए । बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले पूजा गर्दा यो दिन निकै लाभ मिल्ने बताइएको छ ।

    मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

    उहाँले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । कालीगण्डकी नदी किनारमा विशाल नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ ।

    मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयंसेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

    म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवनलगायतका जिल्लाबाट गलेश्वरको दर्शनका लागि भक्तजन आएका छन् ।

    गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँडेको अवस्थामा गला पतन भएकाले गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

    पर्यटकको सुविधाका लागि उपल्लो शिखमा पक्की सिँढी निर्माण

    म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–५ उपल्लो शिखमा पर्यटकको सुविधाका लागि पक्की सिँढी निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु चार लाख ४५ हजार र स्थानीयको रु ४५ हजार बराबरको जनश्रमदानबाट उक्त पक्की सिँढी निर्माण भएको सिँढी निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश पाइजाले जानकारी दिनुभएको छ ।

    यो पक्की सिँढीशिख देउरालीदेखि उपल्लो स्वराँ जाने उपल्लो बाटोसम्म ४८ मिटरको हुने र अहिलेसम्ममा ६० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताउनुभयो । सिँढी निर्माण भएपछि स्वराँ जाने पर्यटक र स्थानीयवासी लाभान्वित हुने अध्यक्ष पाइजाको भनाइ रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…