• काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना नाघ्दासमेत प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन । अनुसन्धानमा एक पछि अर्को शैली अपनाइरहेको प्रहरीले अहिले भने ‘ह्युमन इन्टेलिजेन्स’ लाई केन्द्रमा राखेर काम गरिरहेको छ । हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने १ हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएको छ । तर, हालसम्म अपनाइएका हरेकजसो अनुसन्धानका प्रक्रियामा असफल भएपछि प्रहरीले फेरि ‘ह्युमन इन्टेलिजेन्स’मार्फत अनुसन्धानलाई अघि बढाएको छ । गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले ‘ह्युमन इन्टेलिजेन्स’मार्फत प्रहरीले घटनाको समयलाई पुनः तत्कालिक अवस्थाबाट हेर्ने र घटनास्थल वरपर त्यसबखत भेटिएकाको तत्कालीन जानकारी लिने जनाए । ‘ह्युमन इन्टेलिजेन्स’मार्फत प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ, यस सन्दर्भमा घटनाको समयलाई पुनः तत्कालिक अवस्थाबाट हेर्ने र घटनास्थल वरपर त्यसबखत भेटिएकाहरूको तत्कालीन जानकारी लिने काम प्रहरीले गरिरहेको छ,’ प्रहरी प्रवक्ता सुवेदीले राजधानीसँग भने ।

    उनले घटनाको तत्कालीन अवस्थाबारे कुनै एक व्यक्तिले अर्को व्यक्तिसँग घटनाको अवस्था साटासाट गरेको भए यस प्रक्रियामार्फत केही तथ्य पत्ता लगाउन सकिने भएकाले प्रहरीले अनुसन्धानका लागि सो प्रक्रिया अपनाएको जनाए । हाल कञ्चनपुरमा निर्मला हत्याको अनुसन्धानका लागि स्थानीय प्रहरीबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धानलाई जारी राखेको छ ।

    कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले स्थानीय प्रहरी टोलीसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी टोलीले हत्याको अनुसन्धान जारी रहेको जनाएका हुन् । प्रहरीले हत्यामा संलग्नको आशंकामा स्थानीयले दिएका शंकास्पद व्यक्तिको हुलियाका आधारमा समेत शंकास्पद व्यक्तिहरूको स्केच बनाएर अनुसन्धानलाई अघि बढाउँदै आएको थियो । तर, अनुसन्धानका लागि लिइएका कसैको पनि स्केच मिलेको छैन ।

    ‘कुनै व्यक्तिमाथि कसैले शंका गर्दा प्रहरीले त्यसमा सूक्ष्म निगरानी राखेर स्केच बनाएरै अनुसन्धान गर्दै आएको छ तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन,’ प्रहरी स्रोतले भन्यो । स्रोतका अनुसार हालसम्मको अनुसन्धानका क्रममा प्रहरीले करिब एक दर्जन व्यक्तिको स्केच बनाइसकेको छ । प्रहरीले हत्या अनुसन्धानका लागि हालसम्म २६ जनाको डीएनए परीक्षणसमेत गरिसकेको जनाएको छ । तर, निर्मलाको भेजाइनल स्वाबसँग भने कसैको पनि डीएनए म्याच भएको छैन ।

    अनुसन्धानका सुरुवाती चरणमै प्रहरीले लापरबाही गरेपछि प्रहरीलाई अनुसन्धानमा समस्या हुँदै आएको छ । यस बीचमा प्रहरीले दोषी भनेर अनुसन्धानमा लिइएका व्यक्तिसमेत डीएनए नमिलेपछि छुट्दै आएका छन् ।
    निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरीको भेजिनल स्वाबमा नै शंका व्यक्त गर्दै आफ्नो डीएनएसँग त्यसको पुष्टिका लागि डीएनए परीक्षण गर्न रगतको नमुना दिएकी थिइन् । उनको भने छोरीको डीएनएसँग म्याच भएको प्रहरीले बताउँदै आएको छ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…