एकातिर माहोल शिवरात्रीको थियो । अर्कातिर भरतमोहनको चिता जलिरहेको थियो । छोरीहरु लीना, लीजा र लीमा बाबुको चितानजिकै बसेर टोलाइरहेका थिए । परिवारका सदस्य बाहेक कार्यकर्ता र शुभचिन्तकको नामोनिसाना थिएन । अलिकति शिवरात्रीको रमझमका लागि आएका मानिस मिसिएका थिए । नत्र अवस्था टामाटिमीजस्तै थियो ।
आधा झुकाइएको झण्डाले मात्र छनक दिन्थ्यो– साढे ६ दशक राजनीतिक यात्रामा होमिएको एउटा ८२ वर्षीय सतिसाल खाग हुँदैछ । राजालाई डढाइने एक नम्बरको चिता, फौजी टुकडीको सलामी र राष्ट्रिय झण्डा ओढाउने कर्मकाण्डी प्रक्रियाले मात्र राजकीय सम्मानको ओज बोक्दैन । साँचो अर्थको राजकीय सम्मान भनेको श्रद्धा, भक्ति र समर्पणको त्रिवेणी हो । तर सर्वाधिक ठूलो पार्टीका कार्यकर्ता चितामा शब झोसेपछि हाजिरी जनाएर फर्किए । उनीहरुलाई थाहा छ– भरतमोहनको चिता रुँगेर वा निकटता देखाएर त्यसले पार्टीमा कुनै क्रेडिट कार्डको काम गर्दैन ।
पार्टीमा विरासतको मूल्य कति हुन्छ भन्ने भरतमोहनको महायात्राले पुष्टि गरेको छ । अधिकारी परिवारका विरासत मनमोहन अधिकारीका छोरा डा. प्रकाश अधिकारी राजनीतिमा पूर्णत बेखबर छन् । उनी विश्वविद्यालयको मास्टरी पेशामै रमाएका छन् । बुहारी शान्ति अधिकारीलाई एकताका सांसद बनाइयो । अहिले ओझेलमा छिन् । भरतमोहन अधिकारीका छोरा छैनन् । छोरीहरु पनि राजनीतिमा आउने सम्भावना कम छ । उनीहरुको आफ्नै गृहस्थी, व्यवसाय र जागिर छ ।
कार्यकर्तामा पनि त्यही मनोविज्ञानले काम गरेको बुझ्न कठिन छैन । नाना, खाना र छानाको सम्भावना नभएका नेता वा तिनका सन्ततिलाई पछ्याउनुलाई अहिलेको राजनीतिक दर्शनले पचाउँदैन । वर्तमान राजनीति संस्कारभन्दा व्यापारमा अनुवाद छ ।
नेपालको वंश परम्पराको राजनीतिमा काँग्रेसमा कोइराला र कम्युनिष्टमा अधिकारी परिवारको विशिष्ट स्थान छ । भरतमोहनको मलामी पातलिनु संस्कारको वजन घटनु हो । संस्कार अवमूल्यन हुँदै गयो भने राजनीतिको धर्म धर्मराउँछ । मन्दिर जतिसुकै भव्य भएपनि देवता विश्वासयोग्य भएनन भने ती देवता कसैले पुज्दैन । नेताको हिसावमा पनि यही मापदण्ड लागू हुन्छ ।
त्यसो त स्वर्गीय अधिकारी वर्तमान दुई तिहाई सरकारको जमिन हुन् । उनैको अर्गानिक उत्पादन ‘आफ्नो गाउँ, आफैं बनाउँ’ र वृद्धवृद्धा भत्ता अहिलेका नेताहरुका लागि पनि ट्रमकार्ड बन्दै आएको छ । घोडाको सुन्दर तस्वीर बनाउन जति सरल हुन्छ, तबेलामा घोडा बाँधेर पाल्न उति कठिन । कठिनै भएपनि समयमा भरतमोहनले त्यो चुनौती मोलेका थिए । त्यसैले झारले छोपिएका पीपल हुन भरतमोहन । झारको आयु सकिएपछि पीपल आफैं लहलहाएर आउँछ । भौतिक रुपमा खरानी भएपनि कामले पूजिने छन । हेक्का रहोस– राम्रो माला अड्याउन सामान्य धागोले ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।
https://www.youtube.com/watch?time_continue=93&v=ZtwKGiA2NDY