• भद्रपुर, २१ फागुन : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गर्नुभएको छ ।

    झापा विद्रोहका पाँच शहीदको स्मृतिमा आज इलामको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताउनुभयो ।

    उहाँले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) बीचको एकीकरण शहीदको सपना साकार पार्ने एउटा महान् प्रक्रिया भएको उल्लेख गर्दै जनताको हितका लागि साँचो अर्थमा क्रियाशील अरू कम्युनिष्ट पार्टीसमेत एकीकरण प्रक्रियामा आउनुपर्ने बताउनुभयो ।

    “नेपालको लोकतान्त्रिक एवम् वामपन्थी आन्दोलनको इतिहासमा बेग्लै र असाधारण महत्व भएको फागुन २१ का दिनले टुक्रिएको र छरिएको कम्युनिष्ट आन्दोलनलाई जोडेर मजबुत पार्टी बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले कम्युनिष्ट एकीकरणको आह्वान गर्दै भन्नुभयो, “आउनुहोस्, शहीदका सपना साकार पार्न सबै कम्युनिष्टको अब एउटै पार्टी बनाऔँ, यसमा केपी ओली र प्रचण्डको कुनै सङ्कीर्णता छैन ।”

    विसं २०२९ फागुन २१ गते झापा विद्रोहका योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई पञ्चायती शासकले चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरेको घटनालाई १९९४ सालमा चार शहीदलाई राणा शासकले फाँसीको सजाय दिएको घटनासँग तुलना गर्दै प्रधानमन्त्री ओलीले सुखानीका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि एवम् उहाँहरुको परिवारका सदस्यमा समवेदना व्यक्त गर्नुभएको छ ।

    सुखानीका शहीदलाई ‘पहिलो गणतन्त्रवादी शहीद’को सङ्ज्ञा दिँदै उहाँले सुखानीका शहीदले देखेको सपना साकार तुल्याउन वर्तमान सरकार जनमुखी विकासका कार्य गर्दै अघि बढिरहेको बताउनुभयो । हँसिया हथौडाको झण्डा देखाएर कतिपय लुटपाटमा संलग्न भइरहेको बताउँदै उहाँले उनीहरु साँचो कम्युनिष्ट हुन नसक्ने र जनतामा चन्दा आतङ्क र हिंसाको त्रास सिर्जना गर्ने जोसुकैलाई नियन्त्रण गरिने बताउनुभयो ।

    झापा बुद्धशान्तिका राम प्रधान, कनकाईका डिल्ली गौतम लगायतका शहीदलाई चाँडै नै राष्ट्रिय शहीद घोषणा गरिने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । स्मृतिसभामा नेकपाका अर्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा झापाको विभिन्न आन्दोलनमा शहीद हुनुभएकाको परिवारलाई सम्मान गरिएको थियो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…