• काठमाडौं। जापानमा रोजगारीका लागि नेपाली श्रमिक आगामी अप्रिल भित्रै पठाउने गरी तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। नेपाली श्रमिक सकेसम्म सरकारी संयन्त्रमार्फत नै जापान रोजगारीका लागि पठाउने गरी अन्तिम तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको हो।

    नेपाली श्रमिकहरु जापानमा नयाँ सम्झौता अनुसार पठाउनका लागि सरकारले पहल गरिरहेको छ। नेपाली श्रमिक सम्झौता अनुरुप नै लैजानका लागि जापान सरकार समेत सकारात्मक देखिएको छ।

    जापान सरकार र नेपाल सरकारबीच अनौपचारिक रुपमा यसबारे छलफल भइरहे पनि औपचारिक रुपमा नेपाल र जापान सरकारबीच श्रम सम्झौता भने यही मार्चको दोस्रो हप्ता भित्र हुनसक्ने गरी तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको हो।

    खाडी लगायतका विभिन्न मुलुकहरुमा रोजगारीका लागि जाने अत्याधिक संख्यामा नेपाली श्रमिक थोरै पैसामा अमूल्य श्रम र समय चुकाउन बाध्य भएसँगै सरकारले नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मुलुकको खोजी गरिरहेको थियो।

    जापान सरकारले नेपाली श्रमिकहरु लैजान निकै अगाडिदेखि नेपाल सरकारसँग कुराहरु राखेको भएपनि सरकारले खासै चासो देखाएको थिएन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक नयाँ श्रम सम्झौता अनुरुप शून्य लागतमा पठाउन पहल गरिरहेका छन्।

    श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाली श्रमिकहरुको हक हितलाई ध्यानमा राखेर जापान रोजगारीका लागि श्रम सम्झौता गर्न सरकारले पहल गरिरहेको बताए।

    सहसचिव घिमिरेले डिसी नेपालसँग भने, ‘कुन प्रकृयामा कामदार लैजाने भन्ने टुंगो लागेको छैन, नेपाली श्रमिकलाई कुनै पनि भार नपर्ने गरी पठाउन सरकारले छलफल गरिरहेको छ।’

    जापान रोजगारीका लागि श्रम तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि र जापानका प्राविधिक टोलीबीच पटक–पटकको औपचारिक तथा अनौपचारिक छलफल पछि श्रम सम्झौताको अन्तिम चरणमा पुगेको जनाइएको छ।

    सकेसम्म नेपाली श्रमिकहरुलाई सरकारी संयन्त्रमार्फत नै शून्य लागतमा लैजान पहल गरिने मन्त्रालय स्रोतले जानकारी दिएको छ। यसबारे तत्काल ठोस् निर्णय गरेर निश्कर्षमा भने सरकार पुग्न सकेको छैन।

    विभिन्न १४ क्षेत्रमा नेपाली श्रमिक लैजाने
    जापानले यसअघि विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदार लिने उल्लेख गरेको थियो। जसमा नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमुलक उद्योग, होटल, व्यबसाय, कृषि, माछापालन, खाद्य लगायत क्षेत्रहरु रहेका छन्। अदक्ष, वा अर्धदक्ष श्रमिकहरु भन्दा दक्ष श्रमिकहरुलाई प्राथमिकतामा राखेर रोजगारीमा पठाउन सक्ने सम्भावना रहेको विभिन्न अधिकारीले जनाएका छन्।

    यसबेला जापानसँग श्रम सम्झौताको कुरा चलेसँगै रोजगारीका लागि जापान जाने क्रममा धेरै नेपाली युवाहरु जापानिज भाषा अध्ययनका लागि इन्स्टिच्यूट धाउन थालेका छन्। जापान रोजगारी नेपाली युवाहरुका लागि आर्कषक रोजगारीको गन्तव्य मुलुक बनेको छ। विद्यार्थी भिसामा र कामदार भिसामा जाने नेपालीहरुले मासिक ३ देखि ४ लाख कमाइ गर्दै आएका छन्।

    जापान सरकारले आप्रवासी कामदारका लागि नयाँ नीति ल्याएसँगै नेपालबाट पनि वार्षिक ४० हजार कामदार पठाउने गरी जापान सरकारसँग सम्झौता गर्ने बताउँदै आएको छ ।

    म्यानपावरमार्फत कामदार लैजाने हल्ला मात्रै
    जापान रोजगारीका लागि नेपाली श्रमिकहरु म्यानपारमार्फत लैजाने भन्दै यसअघि वैदेशिक रोजगार व्यबसायी संघले सूचना जारी गरेको थियो। त्यो सूचना सत्य नभएर हल्ला मात्रै भएको मन्त्रालयले जानकारी दिएको छ।

    नेपाली श्रमिकहरु सकेसम्म सरकारी संयन्त्रमार्फत नै लैजाने तयारी भइरहेको तर खास टुंगो भने लाग्न नसकेको सहसचिव रामप्रसाद घिमिरेले बताएका छन्। जापान रोजगारीमा जाँदा सकेसम्म नेपाली श्रमिकहरुलाई कुनैपनि भार नपर्ने गरी पठाउन पहल गरिने मन्त्रालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…