काठमाडौं। महानगरलाई सफा, सुन्दर र स्मार्ट सहर बनाउने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले ल्याएको स्मार्ट डस्टबिन प्रगोविहनी भएका छन्। सोलार सिस्टमबाट चल्ने झट्ट हेर्दा निकै आकर्षक समेत देखिने डस्टबिन सडकमा ठड्याइएका मात्रै छन्, फोहोर भने सडक भरी नै छ।
हेर्दा निकै ठूलो साइजको देखिने स्मार्ट डस्टबिनमा फोहोर राख्ने ठाउँ पनि सानो छ। त्यसमा पनि मानिसहरुले फोहोर राख्ने गरेको पाइँदैन।
मानिसहरु डस्टबिन बाहिरै सडकमा फोहोर फालिरहेका भेटिन्छन्।
महानगरपालिकाले एउटा डस्टबिन बराबर ६ लाख रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएको छ। तर ६ लाख रकमको स्मार्ट डस्टबिनले सडकमा फोहोर संकलन र व्यबस्थापनका लागि ६ रुपैयाँको काम समेत गर्न नसकेको स्थानीय बताउँछन्।
काठमाडौंका बानेश्वर, गौशाला, सहिदगेट, सुन्धारा लगायतका केही सडकका छेउमा स्मार्ट डस्टबिन राखिएको छ। काठमाडौं महानगरपालिकाले स्मार्ट डस्टबिन राख्ने जिम्मेवारी निजी कम्पनीलाई दिएको थियो। हालसम्म सडकमा ४५ वटा डस्टबिन राखिसकिएका छन्। काठमाडौंका धेरै मानिस आवतजावत हुने सडकमा अझ १० वटा डस्टबिन थप्ने योजना रहेको निजी कम्पनीले जनाएको छ।
कृष्ण सप्लायर्स कम्पनीले विभिन्न स्थानमा डस्टबिन राखेको हो। उक्त कम्पनीका निर्देशक शैलेश कुवँरले सडकमा मानिसले जथाभावि फोहोर फाल्न नपरोस् भनेर सबैले देखिने गरी रातको समयमा समेत उज्यालो दिने खालको सोलार सिस्टमको स्मार्ट डस्टबिन प्रयोगमा ल्याइएको जानकारी दिए।
निर्देशक कुँवरले भने, ‘महानगरको स्मार्ट सिटी परियोजनालाई सफल बनाउन हामीले महानगरसँग कै सहकार्यमा स्मार्ट डस्टबिन प्रयोगमा ल्याएका हौँ।’
सडकमा स्मार्ट डस्टबिन राखिएको ३ महिना बितिसकेको छ । तर काठमाडौंका सडकमा फोहोर व्यबस्थापन भने हुन सकेको छैन।
सडकमा डस्टबिन राखिएको छ तर त्यो डस्टबिन हो भन्ने कतिपय मानिसलाई थाहा नै छैन। मानिसहरु स्मार्ट डस्टबिनको नजिकै बाहिर सडकपेटीमा नै फोहोर फालिरहेका भेटिन्छन्।
बिस्तारै स्मार्ट डस्टबिन ललितपुर महानगरपलिकासँग समेत सहकार्य गरेर राख्ने कुरा भइरहेको कम्पनीले जानकारी दिएको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘स्मार्ट डस्टबिनका बारेमा सर्वसाधारणलाई प्रचारप्रसार गरेर जानकारी दिन नसक्दा स्मार्ट डस्टबिन सोचेजस्तो प्रयोगमा आउन सकेको छैन।’
झट्ट हेर्दा राम्रो देखिए पनि फोहोर संकलनमा उपयुक्त हुने गरी डस्टबिनको बारेमा थप प्रचारप्रसार गर्नुपर्ने आवश्यक रहेको प्रवक्ता डंगोलको भनाइ छ।
यस्ता खालका डस्टबिन सोलारबाट चल्छन्। डस्टबिनमै मोबाइल चार्ज गर्ने ठाउँ र युएसबी केबल जोड्ने ठाउँ समेत व्यबस्था गरिएको छ । डस्टबिनको अगाडि भागमा विज्ञापन देख्न सकिन्छ। कम्पनीले डस्टबिनको अगाडि भागमा विज्ञापन राखेको छ। त्यसबापत महानगरले रोयलटी र विज्ञापन कर उठाउँछ।
स्मार्ट डस्टबिन योजना यतिबेला फोहोर व्यबस्थापन प्रयोजनका लागि भन्दा पनि विज्ञापन का लागि सडक छेउमा ठड्याइएको जस्तो मात्रै देखिएको छ । महानगरले पनि डस्टबिनको बारे नियमन तथा प्रचारप्रसारमा कडाई गर्न नसक्दा डस्टबिनको लगानी अनुसार प्रयोजन हुन सकिरहेको छैन।
सर्वसाधारण भन्छन्, यो डस्टबिन हो र ?
सहिदगेट स्थित बस कुरेर उभिइरहेकी एक युवतीले स्मार्ट डस्टबिन नजिकै सडक पेटीमै फोहोर फालिन्। नजिकै फुटपाथमा नाङ्लोमा पसल राखेर बसिरहेकी अर्की एक महिलाले ति युवतीलाई भनिन्, ‘फोहोर डस्टबिनमा राख्नु नि नानी।’ ‘डस्टबिन यता कहाँ छ र?’ ती युवतीले जवाफ फर्काइन्। त्यो अगाडिको भनेर महिलाले संकेत गरिन्। ‘ए त्यो डस्टबिन हो र मलाई त थाहा थिएन।’ ती युवती सडकमा फालेको फोहोर टिपेर डस्टबिनमा राखिन् र फेरि बस कुर्न थालिन्।
काठमाडौं बिजुली बजारस्थित बाटोमा हिडिरहेका दुई युवा पनि स्मार्ट डस्टबिनको नजिकै पुगेर टक्क रोकिए। दुई मध्ये एक युवाले भने यो के हो? अर्काले जवाफ दिए डस्टबिन हो यो। ती युवाले नियालेर हेरे र भने–डस्टबिन पो हो यो।’
फोहोर कहाँबाट राख्ने भनेर ती युवाले निकै नियाली रहेका थिए।
सडक पेटीमा स्मार्ट डस्टबिन त राखिएको छ तर डस्टबिनको प्रचारप्रसार गर्न नसक्दा विज्ञापनका लागि ठड्याइएको बोर्ड जस्तो मात्र देखिने डस्टबिनका कारण सर्वसाधारण झुक्किने गरेका छन्। डस्टबिन रित्तै तर फोहोर सडकभरी नै छ।