काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार गठन भएपछि सुशासन कायम हुने जनअपेक्षा थियो । तर, नेकपाको सरकार गठन भएको एक वर्षमा भ्रष्टाचार ह्वात्तै बढेको छ । एक वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी सुखी र समृद्ध नेपाल बनाउने प्रतिबद्धता जनाएकै कारण मतदाताले झन्डै दुई तिहाईकै हाराहारीमा बहुमत दिए तर त्यसको उपलब्धी के भयो जनताले महसुश गर्न सकिरहेका छैनन् ।
हरेक सरकारी निकायका ठेक्कादेखि खरीदसम्म सेटिङ मिलाएर भ्रष्टाचार हुने गरेको आम जनता समेत निर्दक्क भन्न सक्ने स्थिती छ । त्यसको ज्वलन्त उदाहरण हामीले स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालका उपकरण खरीददेखि मर्मतका नाममा हुने करोडौंको चलखेलबाट समेत पुष्टि हुन्छ । सरकारी स्वामित्वको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपकरण खरीदमा दसौं करोड रुपैयाँ अनियमितता भएकोले पनि यो कुरा पुष्टि गर्छ । भरतपुर महानगरकी मेयर रेनु दाहाल अध्यक्ष रहेकोे भरतपुर क्यान्सर अस्पतालले बोलपत्र अनुसार स्पेसिफिकेसन नै नमिलेको तीन करोड रुपैयाँ पनि नपर्ने अप्रेसन थिएटरका लागि आवश्यक उपकरण छ करोड भन्दा बढीमा खरिद गरेपछि अनियमितता बारे पुष्टि भएको हो ।
यो एक प्रतिनिधि उदाहरण मात्रै हो, हस्पिटेक इन्टरप्राइजेजबाट सरकारी अस्पतालहरूले उपकरण खरीददेखि मर्मतमा वार्षिक दसौं करोड भ्रष्टाचार हुँदैआएको छ । महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदन २०७४ मा स्वास्थ्य मन्त्रालयअन्तर्गत ब्यवस्थापन महाशाखाबाट अस्पतालहरूको उपकरण मर्मतमा पण्डितको हस्पिटेक र लाइफलाइनलाई ठेक्का दिई करोडौं रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।
२०७५ पुस २२ मा वीपी क्यान्सर अस्पताल भरतपरले चरम अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । २०७५ कात्तिक ७ मा बोलपत्र नम्बर BPKMCH/ICB/1/ 075/076 The supply, Installation and commissing of modular operation theate-6 unit मार्फतको बोलपत्र आह्वान गरेकोमा उक्त बोलपत्र स्वीकृत गर्दा चरम अनियमितता गरिएको उजुरीको दर्ता नम्बर १४००८ उल्लेख छ ।
उक्त उजुरीमा भरतपुर क्यान्सर अस्पतालले बोलपत्र स्वीकृत गर्दा कुनै पनि प्राविधिक स्पेसिफिकेसन नमिलेको भए पनि हस्पिटेक इन्टरप्राइजेज प्रालिको उपकरण खरीद गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ । स्वास्थ्य क्षेत्रमा मेडिकल माफियाका रुपमा परिचित हस्पिटेक इन्टरप्राइजेजका संचालक विशाल पण्डित र सुदेशबाट भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. विजय आचार्य र डेपुटी निर्देशक डा. निर्मल लामिछानेसहितको टोलीले ठूलो रकम घुस लिएर अत्यन्तै कमजोर क्षमताको अर्थात् अस्पतालले माग गरे बमोजिमभन्दा भिन्न प्राविधिक स्पेसिफिकेसनमा खरीद गरेको दाबी स्रोतको छ ।
सार्वजनिक खरीद नियमावली परिच्छेद ४ को दफा २५ बमोजिम मालसामान आपूर्ति गर्ने बोलपत्रदाताको योग्यताका आधार प्राविधिक क्षमता र प्राविधिक स्पेसिफिकेसन हुनुपर्छ । तर, भरतपुर क्यान्सर अस्पतालले माग गरेको उपकरणहरूको प्याकेजमा स्वीकृत गरेको बोलपत्रदाताले पेश गरेको प्रस्तावमा अधिकांश उपकरणहरूको प्राविधिक स्पेसिफिकेसन अस्पतालले माग गरेअनुरुप नभई कमजोर प्राविधिक क्षमताका उपकरणहरू मात्र छन् । अस्पतालले कोट गरेको अथवा अस्पतालले मागे अनुसार अधिकांश उपकरणहरूमा हस्पिटेक इन्टरप्राइजेजको प्राविधिक क्षमता र स्पेसिफिकेसन नमिल्ने समेत उजुरीमा उल्लेख छ ।
प्राविधिक स्पेसिफिकेसन नमिले पनि करोडौं आर्थिक चलखेलमा हस्पिटेकको ठेक्का स्वीकृत भएकाले अख्तियारबाट बोलपत्रका सम्पूर्ण कागजात खिचेर आयोगबाट खटिएका बायोमेडिकल इन्जीनीयरबाट अध्ययन गराउन र अनियमिततापूर्ण ढंगले स्वीकृत गरिएको टेण्डर रद्द गरी दोषीमाथि कारबाही गर्न अख्तियारमा गुहार मागिएको छ । हस्पिटेकका संचालक पण्डितले चलाखीपूर्ण तरिकाले उनकै अर्को कम्पनी लाइफलाइन ट्रेड इन्टरनेशलनबाट रु. ९ करोड ८५ हजार १ सय २५ मा अर्को बोलपत्र पेश गरेका थिए । जसमा सबै प्राविधिक स्पेसिफिकेसन मिलाएर पेश गरिएको थियो । तर जुन हस्पिटेकको बोलपत्र स्वीकृत गरियो, त्यसमा उल्लेख भएको उपकरणको मूल्य ३ करोड पनि नपर्ने अख्तियारले छानबिन गरे स्पष्ट हुनेछ ।
वीपी क्यान्सर अस्पतालका निर्देशक तथा खरीद प्रक्रियामा संलग्न कर्मचारी र हस्पिटेक, लाइफलाइन ट्रेड इन्टरनेशनलका संचालक विशाल पण्डित र सुदेशको मिलेमतोमा एउटा बोलपत्र प्राविधिक स्पेसिफिकेसन मिल्नेगरी र अर्को बोलपत्र नमिल्ने गरी २ वटा पेश गरिएको थियो । २ मध्ये प्राविधिक स्पेसिफिकेसन नमिल्ने हस्पिटेकको ६ करोड ९६ लाख ९६ हजार रुपैयाँको बोलपत्र स्वीकृत गरिएको छ ।
सार्वजनिक खरीद ऐनको उल्लंघन
बोलपत्र मूल्यांकन गर्दा सार्वजनिक खरीद ऐनको दफा २३ को उपदफा २ (घ) दफा २४ को (घ), दफा २५ को उपदफा १, दफा २६(क) र सार्वजनिक खरीद नियमावलीको नियम ६०, ६१ को ५, ६२(ख), ६३ र ६४ बमोजिम हुनुपर्नेमा सो अनुसार प्राविधिक, ब्यापारिक र आर्थिक मूल्यांकन नभएको उजुरीकर्ताको दाबी छ । यसका साथै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वीकृत भएको बोलपत्रदाताको उपकरणहरू अस्पतालको मागअनुसार नभई अत्यन्त कमजोर र न्यून प्राविधिक क्षमताको भएकाले अस्पतालको आवश्यकता पूरा नगर्ने उल्लेख छ ।
यसले भविष्यमा अस्पतालको मोडुलर ओ.टी.मा गरिने बिरामीको साधारण तथा जटिल शल्यक्रियाहरूमा समेत गम्भीर असर पर्न जाने हुँदा हस्पिटेकले पेश गरेको प्राविधिक क्षमता र स्पेसिफिकेसनमा अध्ययन गरी बोलपत्र पुनर्मूल्यांकनको माग गरिएको छ । स्पेसिफिकेसन मिल्ने बोलपत्रलाई मात्र छनोट प्रक्रियामा सहभागी गराउन र सार्वजनिक खरीद ऐन बमोजिम मूल्यांकन गर्ने ब्यवस्था मिलाउन उजुरीमा माग गरिएको छ । साथै दोषीलाई कारबाही गर्नुपर्ने उल्लेख छ ।
अस्पतालले बोलपत्र स्वीकृत भएको आसयको सूचना २०७५ पुस ९ मा प्रकाशित गरेपछि ७ दिनभित्रै बोलपत्रदाताहरूले इमेलमार्फत् बोलपत्र पुनरावलोकन गरिपाउँ भनी निवेदन दिएका थिए । तर, पुनरवलोकन गर्न माग गरिएको निवेदन दर्ता गर्न जाँदा आज आठौं दिन हो, दर्ता गर्न मिल्दैन भनी बोलपत्रदाताहरूलाई हप्कीदप्की गरी फर्काइएको थियो । अस्पतालले विभिन्न कम्पनीसँग कोटेसन माग गर्दा सामानहरूको अर्डर गर्दा समेत इमेलबाट गर्ने र उक्त कार्यलाई मान्यता दिने प्रावधान थियो र त्यसैअनुसार भइरहेको थियो । तर पुनरवलोकनको निवेदन इन्टरनेटबाट अस्पतालको आधिकारिक इमेल ठेगानामा समयभित्रै पठाएर हार्डकपी बुझाउन जाँदा बुझ्न नमानेकाले अस्पताल र सप्लायर्स हस्पिटेकसँगको मिलेमतो प्रष्ट देखिएको उजुरीमा उल्लेख छ ।