२३ फागुन, विराटनगर । नेपाली कांग्रेसमा पछिल्लो समय सभापति शेरबहादुर देउवा र कोइराला परिवारका सदस्यबीच जुहारी चलिरहेको छ ।
पछिल्लो महिनाहरुमा तीन कोइराला शेखर, शशांक र सुजाता सार्वजनिक मञ्चहरुमा एकासाथ देखिन थालेका छन् । उनीहरु आफूहरु मध्ये एकजना सभापति लड्ने बताउँछन् ।
यसप्रति सभापति शेरबहादुर देउवा सन्तुष्ट छैनन् । त्यसैले उनले हालै वीरगञ्जमा आयोजित कार्यक्रममा कांग्रेस कोइरालाहरुको बपौती हो र ? भन्ने प्रश्न गरेका थिए ।
बिहीबार कोइराला परिवारको गृहनगर बिराटनगर आएका देउवाले शक्ति प्रदर्शन गरेका छन् । देउवा स्थानीय पत्रिकाको वाषिर्क उत्सव कार्यक्रममा सहभागी हुन विराटनगर आउँदा देउवा पक्षीय नेताहरुले शक्ति प्रदर्शनको चँाजोपाँचो मिलाएका हुन् ।
कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बु देउवा खेमाका हुन् । उनकै अगुवाईमा उर्लाबारी, पथरी, लेटाङ क्षेत्रबाट कार्यकर्ता ल्याएर शक्ति प्रदर्शन गरिएको थियो ।
देउवा स्वंयम भने नरम रुपमा प्रस्तुत भए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गरेका उनले बोलेकै भरमा कसैलाई कारवाही नगर्ने बताए । ‘दुई पटकसम्म बोलाएर मेरो र पार्टीको विरुद्धमा नबोल्नुहोस भन्दा मान्नु भएन’ शेखर कोइरालाप्रति संकेत गर्दै देउवाले भने, ‘मेराविरुद्ध अभियान नै चल्यो ।’
आफ्नाविरुद्ध उत्रिएका कारण सार्बजनिक रुपमा बोल्नु परेको भन्दै उनले कोइरालाहरुलाई पार्टीले कारवाही भने नगर्ने बताए ।
देउवाले पार्टीको १४ औं महाधिवेशनको मिति समय र परिस्थितिमा निर्भर रहने बताए । यद्यपि, महाविधेशन तोकिएकै मितिमा गर्ने आफ्नो प्रयास हुने बताए ।