रतुवामाई(मोरङ)फागुन २३ गते । मोरङको रतुवामाईस्थित राष्ट्र निर्माण अंग्रेजी माध्यमिक विद्यालयको बिहीबार २१ औं बार्षिकोत्सव तथा टाइनी ब्रेन एक्सपो सम्पन्न भएको छ ।
त्यस अवसरमा सो विद्यालयमा अध्ययनरत बालबालिकाहरुले तयार पारेका विधुतीय उपकरणबाट सञ्चालन हुने बिभिन्न किसिमिका सामग्री तथा बिभिन्न किसिमका खानाका परिकारहरु प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सो विद्यालयमा अध्ययनरत बालबालिकाहरुले गीत र नृत्य समेत प्रदर्शन गरेका थिए ।
खासगरी पछिल्लो पुस्ताले नेपाली संस्कृति, कृषि कर्म र परम्परागत नेपाली औजार उपकरणका बारेमा ज्ञान हासिल गर्न सकुन भनेर प्रर्दशनीको आयोजना गरिएको हो । विद्यार्थीहरू विभिन्न २९ वटा स्टल राखेर परम्परागत नेपाली सामग्रीहरूको बारेमा नयाँ पुस्तालाई जान्ने अवसर दिलाएका थिए । प्रदर्शनीमा कृषि औजारहरू हलो, पटाहा, दाँते, फरुवा,घुम लगायत राखिएको थियो । यस्तै भान्सामा प्रयोग हुने ठेकी, मदानी,माली चौठी,हर्पे लगायतका सामग्री प्रदर्शनी राखिएको थियो ।
यस्तै ढिकी, जाँतो,ढुङ्ग्रो, दूधेरो,काठको डाढु लगायतका सामग्री विद्यार्थीहरू सङ्कलन गरी प्रदर्शनीमा राखेका थिए । सो समाग्री हेरेर अभिभावकहरुले बालप्रतिभाको प्रशंसा गरेका थिए । अभिभावक बिनु रानाले बालबालिकाको प्रशंषा गर्नुभयो । उहाँले भन्नुभयो,यस किसिमका अभ्यास र प्रस्तुतिले विद्यार्थीको सिपमा हौषला र अझ ज्ञान अविबृद्धि हुन्छ ।
विद्यार्थीहरू बाँसका घरायसी सामग्री आफै निर्माण गरेर राखेको विद्यालयका प्रधानाध्यापक विश्वास ढकालले बताउनु भयो । ढकालले भन्नुभयो–प्रविधिले संस्कृति र परम्परा मासिन लागेकोले विद्यार्थीहरूलाई यस खाले कार्यक्रममा सरिक गराएका हौं । उहाँले दूधको स्रोत के हो भनेर विद्याथीलाई प्रश्न गर्दा प्लाष्टिकको पोको भन्ने संस्कृति बिकास हुँदै गएकोले प्रदर्शनी आयोजना गरिएको बताउनु भयो ।
सोही अवसरमा विद्यार्थीहरू नेपाली परम्परागत खाना परिकारको पनि प्रदर्शनी गरेका थिए ।
विद्यालयका प्रिन्सीपल विश्वास ढकालको अध्यक्षता र जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोख्रेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्याब्सन प्रदेश–१ का सहसचिव केदार खनाल, उर्लाबारी प्याब्सनका अध्यक्ष सुरेन्द्र सुवेदी, सुनगाभा अंग्रेजी आवासीय मावि उर्लाबारीका प्रिन्सीपल भुवन श्रेष्ठलगायतले बोल्नुभएको थियो । २०५४ सालमा स्थापित सो विद्यालयमा हाल ७३५ जना बालबालिका अध्ययनरत रहेको शिक्षक अनिश कार्कीले जानकारी दिनुभयो ।
प्रदर्शनीको अवलोकन गर्न जिल्लाका झण्डै ३० वढी नीजि तथा सामूदायिक विद्यालयका विद्यार्थीहरू प्रदर्शनी स्थल पुगेका थिए ।