• महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा दायर गरिएका प्रहरी कर्मचारीसँग बयान लिने क्रम सुरु भएको छ ।

    जिल्ला अदालत कञ्चनपुरमा बिहीबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले प्रतिवादीहरूको बयान लिने र सोहीअनुरुप अघि बढ्ने आदेश गरेपछि ६ जनाको बयान लिने क्रम सुरु भएको हो ।

    ८ जनाको बयान लिनुपर्ने भए पनि तत्कालीन एसपी डिल्लीराज विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसी भने फरार छन् ।

    मुद्दा दायरलगत्तै अदालतले उनीहरुलाई फरार प्रतिवादी भन्दै २१ दिनभित्रमा उपस्थित हुन म्याद जारी गरेको छ ।

    प्रहरी हिरासतमा रहेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सईहरू हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदसँग बयान लिने क्रम सुरु भएको हो ।

    तत्कालीन डीएसपी सेठी र तत्कालीन प्रहरी निरीक्षक खड्काको बयान सकिएको छ । दुवैजना निलम्बनकै अवस्थामा प्रहरी सेवाबाट अवकाश भइसकेका छन् ।

    प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, पदमराज शर्मा र इन्द्रप्रसाद लेखकले बहस गरेका थिए । सरकारी तर्फबाट भने जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मोहनीप्रसाद जोशीले बहस गरेका थिए ।

    गत पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा ८ जना प्रहरी कर्मचारीविरुद्ध हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन् । यस्तै दिलीपसिंह विष्टका दाजु खड्गसिंह विष्टले यातना कसुरअन्तर्गत जाहेरी दिएका थिए ।

    दुर्गादेवीले तत्कालीन एसपी डिल्लीराज विष्ट, तत्कालीन डीएसपी ज्ञानबहादुर सेठटी, निलम्बित डीएसपी अंगुर जीसी, तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईहरु हरिसिंह धामी र रामसिंह धामी, प्रहरी जवान चाँदनी साउदविरुद्ध जाहेरी दिएकी थिइन् ।

    खड्गसिंह विष्टले तत्कालीन एसपी डिल्लीराज विष्ट, निलम्बित डीएसपी अंगुर जीसी, तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध जाहेरी दिएका थिए ।

    गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव अर्को दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

    उनका हत्यारालाई समातेर कार्वाही गर्न माग गर्दै देशभर आन्दोलन गरिए पनि सरकारले हत्यारा समातेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…