काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली,नेकपा अध्यक्ष पुष्पकमल दाहाल र शुक्रबार मात्रै बिखण्डनवादी मार्ग परित्याग गरेका सीके राउतले आज अपरान्ह रौतहटको गरुडामा एक राजनीतिक सभालाई सम्बोधन गर्ने भएका छन् ।
नेकपाको प्रदेश दुइ इकाईले आयोजना गरेको सो सभालाई सम्वोधन गर्दा राउतले सरकारसँग भएको सहमतिका बारेमा व्याख्या गर्दै आफ्नो फेरिएको भुमिकाबारे खुलासा गर्ने बुझिएको छ ।
त्यसैगरी प्रधानमन्त्री ओलीले पनि राउतलाई विखण्डनकारी मार्गबाट शान्तिपुर्ण राजनीतिक मार्गमा प्रवेश गराएको जश बटुल्ने किसिमको मन्तव्य दिने बुझिएको छ । राउतसँगको सहमतिबारे सुँइको समेत नपाई अचानक शुक्रबार बिहानमात्र जानकारी पाएका चतुर राजनीतिक खेलाडि मानिएका दाहाल पनि सभाका अर्का महत्वपुर्ण वक्ता हुनेछन् ।
तीनमहिना अघि सरकारले सीके राउतलाई जहाँबाट पक्राउ गरेको थियो,त्यहीँ आज सरकार प्रमुख र राउतले सार्वजनिक सभामा एउटै मंचबाट भाषण गर्नेछन् ।
सरकारले पछिल्लो समय गत मङ्सिर २० गते राउतलाई रौतहटबाट पक्राउ गरेको थियो । देश टुक्र्याउने खेल र ध्वंसात्मक गतिविधि गरेको अभियोग लागेका राउत रातारात सरकारसँग आश्चर्यजनक शैलीमा सहमतिमा आएपछि तत्कालै तराईको निकै महत्वपूर्ण क्षेत्र रौतहटमा सार्वजनिक सभालाई प्रधानमन्त्रीसँगै सम्बोधन गर्दैछन् ।
उनले सम्भवत लोकतान्त्रिक विधि र शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्न तयार रहेको उद्घोष गर्दै अब आफ्ना समर्थक र पृष्ठभूमिमा योगदान गर्दै आएका मित्रहरुलाई सरकारसँग सहमति गर्नुपर्नाको कारणबारे व्याख्यासहित प्रष्ट पार्ने छन् । यो सहमतिले सरकारलाई राजनीतिक सफलता मिलेको महसुस भैरहेको विश्लेषण गर्न थालिएको छ भने राउतले चैं कसरी यसलाई उपलव्धिको रुपमा व्याख्या गर्नेछन्,त्यो भने रौतहटको सभा र त्यसपछिका दिनहरुमा प्रष्ट हुँदैजाने विश्लेषकहरु बताउँछन् ।