बाहुनडाँगी । आमाबुबाले छोरीको विवाह गरेको त हामीलेसुनेको छौँ । तर, सासुले आफ्नी बुहारीलाई विवाह गरेर पठाएको कमै सुनेका हौँला । त्यो पनि कन्यदान दिएर । झापा मेचीनगर ९ की अञ्जु अधिकारीले आफ्नी घरकी बुहारीलाई केही महिना अघि कन्यदान दिएर विवाह गरेर अन्माइन् । उनै महान भावना भएकी अञ्जु अधिकारीलाई मेचीनगर लेडी जेसीजले सम्मान गरेको छ ।
१०९ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर एकल बुहारीलाई छोरी बनाएर आफ्नै आँगनबाट विवाह गरी अन्माउने सासुलाई सम्मान गरेको हो । आफ्नो छोराको ५ वर्ष अघि निधन भएको थियो । छोराको निधनपछि एकल जीवन बिताउँदै आएकी बुहारीलाई अधिकारीले पुनः मागी विवाह गरिदिएकी थिइन् । समाज परिवर्तनका लागि उनले खेलेको भूमिकाको उच्च मुल्याङकन गर्दै शाखाले सम्मान गरेको थियो ।
शाखा अध्यक्ष मञ्जु अधिकारीको सभापतित्व तथा मेचीनगरकी उप मेयर मिना उप्रेतीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरु, सम्मानित व्यक्ति अञ्जु अधिकारी, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल, आदीवासी जनजाति महिला संघकी जिल्ला अध्यक्ष माया गुरुङलगायतले बोलेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष कविता शर्मा, महानार्थ सदस्य सिता गुरुङलगायतको सहभागिता रहेको थियो ।
सविता पोखरेको संयोजकत्वमा सम्पन्न कार्यक्रमको आस्था पाठ पवित्रा विमली र सञ्चालन महासचिव गीता ओझाले गरेकी थिइन् । स्मरण रहोस् यो शाखा गत वर्ष उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको थियो भने शाखाको पहलमा जेसीज गाउँ सञ्चालनमा रहेको छ ।