बेलबारी ४ का करिब ४५ वर्षिय योगेन्द्र गुरुङ नेकपामा नेता समेत हुन् । उनले तत्कालिन नेकपा एमालेको बेलबारी नगर अध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन् । योगेन्द्र र बेलबारी ४ कै करिव २६ वर्षिया रमिला राई विच विगत ५ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको धेरैलाई थाहा छ । रमिलाका परिवारकै सदस्यहरु पनि यो कुराबाट अनभिज्ञ थिएनन् । अरुबेला पनि योगेन्द्रले रमिलालाई घरबाट लिएर जाने र घर फर्काइदिने गरेका थिए । फागुन १७ गते शुक्रबार रमिला सहित रमिलाकै एक साथी र अर्का एक युवकलाई समेत लिएर निस्किएका थिए । योगेन्द्रको टोली त्यो रात विराटचौकको एक होटलमा गयो । त्यहाँबाट फर्किएपछि योगेन्द्रले राति ११ बजेतिर रमिलाकी साथी र अर्का युवकलाई गाउँमै पुर्याइदिए । तर रमिलालाई गाडीमा साथै लिएर गएका थिए । रमिला घरमा नआएपछि उनको खोजी भयो । परिवारका सदस्यले योगेन्द्रलाई नै फोन गरे । योगेन्द्रले त्यही दिन शुक्रबार राति नै साँढे ११ बजेतिर घर नजिकै चौकमा ल्याएर छाडीदिएको बताए । शनिबार विहानै रमिलाको घरमा गएका योगेन्द्रले आफुलाई केही थाहा नभएजस्तो गरी रमिलालाई खोजेजस्तो पनि गरे । परिवारका सदस्यलाई भनेर प्रहरीमा हुलिया दिन लगाए । इन्स्पेक्टर रामकुमार राईलाई नै फोन गरेर मेरी गर्लफेन्ड हराइन तनाव भयो भनेर सुनाएका थिए ।
योगेन्द्रले रमिलालाई कहिल्यै नफर्कने ठाउँमै चै पुर्याए
रमिलाको परिवारलाई,आफ्ना साथीभाईलाई र प्रहरीलाई समेत आफुले रमिलालाई घरमै पुर्याइदिएको भनेर अड्डी कसेका योगेन्द्रले घरमा हैन् अब कहिल्यै नफर्कने ठाउँमा चै पुर्याएको खुलासा भएको छ । कथाकहानी बुनेर सबैलाई ढाँट्ने प्रयास गरेपनि सबैको प्रश्न आफुमाथी तेर्सिन थालेर अवस्था जटिल बन्दै गएपछि योगेन्द्र एकाएक गायव भएका थिए । गत शुक्रबार पक्राउ परेका योगेन्द्रले अन्ततः आफुले रमिलाको हत्या गरेको प्रहरीसमक्ष स्विकार गरेका छन् । हत्या गरेर कोसी नदी शव फालेको उनले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले शव खोजी गरिरहेको छ ।
योगेन्द्रको बनावटी कुरामा रमिलाका परिवारका सदस्यलाई नै संका थियो
योगेन्द्रले रमिलालाई घर नजिकै छोडिदिएको बताएपनि त्यस रात रमिलाका वहिनीहरु राति अबेर सम्म सुतेका थिएनन् । योगेन्द्रले भनेकै समयमा रमिला घरमा आएको भए वहिनीहरुले अवस्य थाहा पाउँथे । तर अवस्था त्यस्तो थिएन् । रमिलाकै छिमेकमा रहेकी रिता पनि त्यो रात १ बजेसम्म सुतेकी थिइनन् । रमिला त्यसरी राति फर्कँदा जहिलेपनि रितालाई बोलाएर मात्रै घर छिर्थिन । तर त्यो रात रमिलाले बोलाइनन् । रमिलाकी आमा डम्बरकुमारीका अनुसार योगेन्द्रले रमिलालाई पुर्यादिएको भने पनि कहिले घर अगाडी नै ल्यादिएको भन्थे भने कहिले घरभन्दा केही तल चोकमा छोडिदिएको बताउँथे । यसैले गर्दा पनि परिवारका सदस्यका मनमा चिसो पसिसकेको थियो ।
रमिला र योगेन्द्रको झगडा परेको थियो
फागुन १८ गते शनिबार विहान रमिलाको घरमा पुगेका योगन्द्रले रमिलाले मलाई ढुंगामुढा गर्यो भनेर रमिलाका आमा र परिवारका अन्य सदस्यलाई सुनाएका थिए । त्यस राति योगेन्द्रसँगै रहेकी रमिला र रमिलाकी एकजना साथी बिच फोनमा कुरा हुँदा फोनमा पनि वादविवाद भैरहेको सुनिएको थियो । विराटचौकको हवाना होटलमा पनि वादविवाद भएको बुझिएको प्रहरी स्रोतको भनाई छ । रमिला र योगेन्द्र बिच वादविवाद भैरहनुमा योगेन्द्रको अन्य युवतीसँग सम्बन्ध रहेको विषय कारण बन्ने गरेको बताइन्छ ।
अब के हुन्छ ?
रमिलाको हत्या भएको पुष्टि भैसकेपछि हत्या नै गर्नुपर्ने अवस्था किन आयो वा हत्याको कारण के हो ? भन्ने सबैको चासोको विषय हो । यही प्रश्नको जवाफ खोज्न प्रहरी पनि लागि परेको बुझिएको छ । रमिलाको हत्या गरेर कोसीमा लगेर फाल्ने क्रममा योगेन्द्र एक्लै थिए ? हत्या गर्ने देखि शव व्यवस्थापन गर्ने कार्यमा अन्य व्यक्तिले पनि सहयोग गरेका थिए भने ति व्यक्ति को को थिए ? प्रहरी अनुसन्धानले खुलाउने नै छ । अहिले प्रहरीले घटनाबारे थप जानकारी संकलनका लागि केही व्यक्तिसँग सोधपुछ गर्ने कामलाई निरन्तरता दिएको छ । घटनाको काननी प्रकृया के हुने भन्ने बारेमा पनि परामर्शमै रहेको बुझिएको छ ।