• मोरङ / मोरङको बेलबारीस्थित नेकपाका नेता एवं एमालेका पूर्व नगर अध्यक्ष योगेन्द्र गुरुङले हत्यापछि सप्तकोसी नदीमा फ्यालिदिएको महिलाको शव खोजीमा प्रहरी जुटेको तीन दिन भयो । शुक्रबारदेखि लगातार शवको खोजीमा प्रहरी टोली सप्तकोसी र आसपासका स्थानमा सक्रिय रहे पनि फेला पर्न नसकेको हो । गुरुङले हत्या गरेर बेलबारी नगरपालिका–४ की २६ वर्षीय रमिला राईको शव सप्तकोसीमा फ्यालिदिएको प्रहरीलाई बताइसकेका छन् । उनीसँगै रहेकी राई फागुन १७ गते शुक्रबार रातिदेखि बेपत्ता भएकी थिइन । गुरुङले हत्यापछि शव कोसी ब्यारेजमा पु¥याएर गेट नम्बर २९ बाट नदीमा फ्यालिएको बयान प्रहरीलाई दिएका छन् ।

    घरमै हत्या गरेर आफ्नो गाडीमा हाल्दै शव नदीमा पु¥याएर फ्यालेको प्रहरीको भनाइ छ । हत्यापछि फरार बनेका गुरुङलाई भने प्रहरीले तीन दिन अघि इलामबाट पक्राउ गरेको थियो । आइतबारबाट शवको खोजीका लागि बेलबारीका स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरिरहेका छन् ।

    आइतबारबाट पौडी खेल्न जान्ने दक्ष प्रहरी टोलीसमेत शवको खोजीमा जुटेको छ । डुंगासहित पौडीबाज प्रहरी टोलीले खोजतलास व्यापक बनाए पनि साँझसम्म शव फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राई आफै शवको खोजीमा खटिएका छन् । ‘हामीले दक्ष प्रहरी खटाएरै शवको खोजी गरिरहेका छौं । स्थानीय बासिन्दाले पनि यसमा सहयोग गरिरहेका छन्,’ केसीले भने, ‘तर शव फेला पर्न सकेको छैन । पानीको ठूलो भँगालोमा फ्यालिदिएर बगाएर अन्यत्र पु¥याएका कारण फेला पर्न नसकेको हुन सक्छ ।’

    शवको खोजतलासका लागि खटिएको टोली आइतबार साँझ फिर्ता भएको छ । ‘रात परेको र आँखा नदेखिने भएपछि शवको खोजी कार्य स्थगित गरेर टोली फर्किएको छ,’ केसीले भने, ‘सोमबारबाट पुनः शव खोजीमा विशेष प्रहरी टोली परिचालित हुने छ ।’ शव नभेटिएकै कारण प्रहरीले गुरुङमाथि म्याद थप गरेर अनुसन्धान अघि बढाउन पनि सकेको छैन ।
    पक्राउ परेपछि तत्कालिन एमालेको बेलबारी नगरका पूर्व अध्यक्ष समेत रहेका गुरुङ आफैले घरमै हत्या गरेर शव गायव बनाउन नदीमा लगेर फ्यालिदिएको खुलेको प्रहरीको भनाइ छ । गुरुङले दिएको बयानका आधारमा प्रहरीले लगातार कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाएको हो । ‘हत्या हुँदा शव फेला पर्नु पर्ने हुन्छ । कोसी नदीमा फ्यालेको बताएका कारण खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भने, ‘घटनामा अरु प्रमाण पनि जुट्नु पर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ ।’
    प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ च ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ । गुरुङले आफ्नै घरमा महिलाको हत्या गरेपछि बोरामा पोको पारेर शव यही गाडीमा राखेर नदीमा फ्यालेको प्रहरीलाई बताएका छन् । गुरुङले बताए अनुसार खटिए पनि प्रहरीले उपलब्धी हाँसिल गर्न भने सकेको छैन । बेपत्ता भएकै रात महिलाको हत्या भएको खुलेको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार घटना भएको साँझ योगेन्द्र रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए । सो दिन उनीहरु सुन्दरहरैंचास्थित विराटचौकस्थित एउटा रेष्टुरेण्टमा गएको खुलेको छ । शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए । उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडीदिए तर रमिलालाई भने गाडीमै लिएर गएको खुलेको प्रहरीले जनाएको छ ।

    ‘मादक पदार्थ सेवन (मापसे) गरेर योगेन्द्रकै घरमा पुगेका दुबै जनाबीचमा केही बेर बादविवाद भएको देखिन्छ,’ एक प्रहरीले भने, ‘त्यही क्रममा मुख थुनिदिएपछि महिलाको मृत्यु भएको खुलेको छ ।’ गुरुङ र महिलाबीचमा केही समयदेखि प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्धमा दरार उत्पन्न भएपछि रमिलाको हत्या गरिएको हुन सक्ने प्रहरी आशंका छ । गुरुङले पनि मापसे गरेर अनआवश्यक कुरा गर्न थालेपछि मुख थुनिदिएको र त्यही क्रममा महिलाको मृत्यु भएको प्रहरीलाई बताएका छन् । मृत्यु भएपछि आफू फस्ने भएका कारण शवलाई लगेर कोसी नदीमा फ्यालिदिएको उनलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।

    महिला हराएको राति दुवै जना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए । महिला बेपत्ता भएपछि गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर आफ्नी ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए । हत्या गरिएकी महिला आफ्ना पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।बेतना दैनिकमा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…